logo
२०८१ बैशाख ८ शनिवार

घोडाघोडी सिमसारमा चराको चहलपहल (फोटो फिचर)

पर्यटन |
फोटो फिचर |


2021-12-09-52460
घोडाघोडी सिमसारमा चराको चहलपहल, तस्बिर– अविनाश चौधरी



अविनाश चौधरी
धनगढी, मङ्सिर २३ गते । विश्व रामसार क्षेत्रमा सूचिकृत कैलालीको घोडाघोडी सिमसारमा यो बेला चराको चहलपहल बढेको छ । जाडो छल्नका लागि रसियाको साइबेरिया, मङ्गोलियालगायतका स्थानबाट यहाँ आगन्तुक चरासमेत आएपछि चराचुरुङ्गीको चहलपहल बढेको हो । जलपंक्षी चरा खेलेको दृश्यले यतिबेला मनै लोभ्याउने गरेको छ ।

जैविक विविधताले भरिपूर्ण यो सिमसारमा ३६० प्रजातिका चरा पाइन्छन् । जसमध्ये ६४ प्रजातिका जलपंक्षी रहेको चराविद् हिरुलाल डङ्गौरा बताउनुहुन्छ । यहाँ पाइने १२ प्रजातिका चरा विश्वमै दुर्लभ मानिन्छन् । यहाँ पाइने कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसे फिस्टो, लघु महाचिललगायत विश्वमै दुर्लभ चरा हुन् ।

दुर्लभ चरासमेत पाइने घोडाघोडी सिमसारमा पछिल्लो समय जथाभावी फोहोर फाल्ने, प्लाष्टिकजन्य वस्तु र बोतल फाल्ने क्रम बढेको छ । बढ्दै गएको प्रदूषणका कारण जलीय जीव र चराचुरुङ्गीमा गम्भीर असर पुग्ने सम्भावना बढेको छ ।

प्रसिद्ध घोडाघोडी सिमसारमा ठूला र साना गरी २४ वटा ताल रहका छन् । कुल १० हजार ५७० हेक्टर क्षेत्रफलमा यो सिमसारमा फैलिएको छ ।