logo
२०८१ बैशाख ७ शुक्रवार



अलैचीको विश्वबजारीकरणका लागि उद्योग सञ्चालन

अर्थ |
प्रदेश |


अलैचीको विश्वबजारीकरणका लागि उद्योग सञ्चालन


लीला झापाली
बिर्तामोड, मंसिर २० गते । नेपालको पहाडी क्षेत्रमा उत्पादन हुँदैआएको अलैंचीको गुणस्तर कायम गरी उत्पादनलाई विश्वबजारमा पुर्याउन झापामा ठूलो लगानीमा एभरेष्ट लार्ज कार्डमम इन्डस्ट्रिज प्रालि स्थापना भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका– ८ स्थित कप्टानबारीमा स्थापना भएको कम्पनीकोे सोमबार कम्पनीको ब्राण्ड एम्बासडर तथा अभिनेत्री स्वस्तिका खड्काले उद्योगको उदघाटन गर्नुभयो । झापाका व्यवसायी निर्मल भट्टराई, सञ्जिव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टको संयुक्त ७ करोडको लगानीमा कम्पनी सञ्चालनमा आएको सञ्चालकहरुको भनाई छ ।

नेपालमा उत्पादन हुने उत्तमकोटीको अलैंचीलाई छनौट गरेर खानालाई स्वादिष्ट बनाउने र पेय पदार्थको स्वाद सुगन्धमा समेत निखार ल्याउने विश्वासकासाथ कम्पनी स्थापना गरेको सञ्चालक निर्मल भट्टराईले बताउनुभयो ।

नेपालमा उत्पादन हुने अलैचीको भण्डारण र बिक्री बितरण हुने मुख्य थलो बिर्तामोडमा केन्द्रित आफ्नै ब्रान्डिङ र लेबलिङमा मुलुककै पहिलो उद्योग व्यावसायीहरुले खोलेको सञ्चालकहरुको भनाई छ । उत्पादित परिकार तेस्रो मुलुकमा निर्यात हुँदा कृषकले आफ्नो उत्पादनको उचित मुल्य पाउने विश्वास गरिएको छ ।

कम्पनीले माउन्टेन पल्र्स, अलैची पाउडर, अलैची दाना र अलैचीलगायतका अलैंचीका परिकारको उत्पादन गर्ने जनाएको छ । माउन्टेन पल्र्स मिजाज माउन्टेन पल्र्स स्वादिष्ट चाँदी–लेपित उच्चकोटीका अलैची बीजलाई केसरमा मिसाएर उत्पादन गरेको उद्योगले जनाएको छ । यो अलैची बिशेषगरी माउथ फ्रेसनरको रुपमा प्रयोग हुन्छ भने यसले पाचनमा मद्दत र रक्त सञ्चारमा सुधार ल्याउने कम्पनीका अध्यक्ष समेत रहनुभएका निर्मल भट्टराईले जानकारी दिनुभयो । भट्टराईकाअनुसार मिजाज माउन्टेन पल्र्स ४०० र २०० ग्राममा उपलब्ध छन् ।

मिजाज अलैंची पाउडर एउटा मसला भएको र शाकाहारी र मांसाहारी परिकार साथै चिया, सर्बत र ककटेलजस्ता पेय पदार्थमा प्रयोग गर्न सकिने बताइएको छ । यो पाउडर २० र ५० ग्राममा उपलब्ध छ । मिजाज अलैंची दाना उच्च स्तरीय अलैंची दानालाई प्रशोधित गरी सर्वोत्तम गुणस्तरमा तयार पारिएको भट्टराईको भनाई छ ।

यस दानालाई शाकाहारी र मांसाहारी परिकार, मिठाई तथा चिया, सर्बत र ककटेलजस्ता पेय पदार्थमा प्रयोग गर्न सकिने उद्योग सञ्चालकको भनाई छ । यो दाना ५०० ग्राम र एक केजीको तौलमा बजारमा उपलब्ध हुने बताइएको छ ।

त्यस्तै, मिजाज अलैची शाकाहारी र मांसाहारी परिकारमा मसलाको रुपमा र बिर्यानी, पुलाउ, मासु तथा तरकारीजस्ता परिकारमा प्रयोग गर्न सकिने उद्योगको भनाई छ । उद्योग उदघाटनमा उद्योग बाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, अभिनेत्री खड्का, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का लगायातले विश्वबजारमा प्रख्यात भएको नेपालको सुन मानिने अलैची कच्चा पदार्थका रुपमा मात्रै विदेश निर्यात हुँदैआएकोमा अब कम्तिमा आफ्नै ब्रान्डिङ गरी विश्वबजारमा उपस्थिति जनाउन लागेको बताउनुहुँदै यसले देश र कृषकलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?