logo
२०८० चैत्र १५ बिहीवार



दिवा खाजाको विद्यार्थीमा सकारात्मक प्रभाव

शिक्षा |
प्रदेश |


दिवा खाजाको विद्यार्थीमा सकारात्मक प्रभाव


बाबुराम शर्मा
चरीकोट, मङसिर १८ गते । दोलखाका विद्यालयमा नेपाल सरकारले बन्दोबस्त गरेको दिवा खाजाको सकारात्मक प्रभाव परेको देखिएको छ । विद्यालयमा बालबालिकाको उपस्थितिमा उल्लेख्य वृद्धि ल्याउने र विद्यालय बाहिरका रहेकालाई समेट्ने उद्देश्यकासाथ बन्दोबस्त गरिएको दिवा खाजाले सकारात्मक प्रभाव परेको भीमेश्वर नगरपालिका– ७ को कुटीडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक शङकरलाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार विद्यालय कम आउने, आएकाहरु पनि विद्यालय समय पूरा नबस्ने समस्या हटेको छ । दिवा खाजाले ठीक समयमा आउने र ठीक समयमा जाने अब बानी परिसकेको छ । अहिले विद्यालय छोड्ने, समयमा नआउने र समयसम्म नबस्ने विद्यार्थीको बानी सप्रिएको छ । उहाँले भन्नुभयो, “शिशु कक्षादेखि कक्षा ५ सम्मका १७० जना विद्यार्थी नियमित छन् । पहिला भर्ना मात्र हुने र आकलझुकल आउने गर्थे । अहिले दिवा खाजाले शतप्रतिशत आउने र समयसम्म बस्ने गर्दा पढाइमा पनि सुधार आएको छ ।”

विद्यालयमा नियमित उपस्थितिको र खाजाको छुट्टाछुट्टै हाजिर खाता राखिएको छ । उहाँले भन्नुभयो, “खाजा नल्याए हाजिर नहुने र दिवा खाजा वापतको १५ रुपियाँ नपाउने हुँदा खाजा नियमित हुनेगरेको छ ।” स्वास्थ्यको ख्याल गरी जङकफुडको पुरै बन्द गरिएको छ । जङकफुड ल्याए खाजा हाजिर नहुने र पैसा नपाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । आमाको हातले बनाएको सफा र स्वच्छ खाजा खाना पाएर विद्यार्थी खुसी रहेको उहाँले बताउनुभयो ।

भीमेश्वर नगरपालिका– ३ स्थित पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयमा पनि दिवा खाजाको सकारात्मक प्रभाव परेको छ । प्रधानाध्यापक गोविन्दनारायण मानन्धरले भन्नुभयो, “तल्लो कक्षामा कम विद्यार्थी हुने र पुरै अनियमित्ता हुने बानी सप्रिएको छ । अहिले भर्नादरमा पनि सुधारआएको छ ।” शिशु कक्षादेखि कक्षा ५ सम्म ११० भर्ना भएका विद्यार्थी पुरै नियमित रहेको बताइएको छ । पढाइमा पनि विद्यार्थी अब्बल हुन थालेको अभिभावकको भनाई छ ।

शिक्षा विकास तथा समन्वय इकाइ दोलखाको अभिलेखअनुसार जिल्लाका नौ वटा स्थानीय तहमा शिशु कक्षादेखि कक्षा ५ सम्मका २१ हजार ५०४ विद्यार्थी छन् । ३८ लाख ७० हजार ७२० रुपियाँ खाजावापत खर्च हुनेगरेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?