logo
२०८० चैत्र १५ बिहीवार



‘ए’ डिभिजन लिगमा मनाङ र संकटाको रोचक बराबरी

खेलकुद |


‘ए’ डिभिजन लिगमा मनाङ र संकटाको रोचक बराबरी


काठमाडौं, मङ्सिर १८ गते । खेल सकिन ३० सेकेन्ड बाँकी छदा विदेशी खेलाडी फ्रान्कलिन क्वेटाले भली प्रहारमा गोल गरेपछि मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हारबाट जोगिएको छ ।

दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ र संकटा क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । संकटाका लागि निरज बस्नेत र उत्तम राईले गोल गर्नुभयो । मनाङका दयानन्द सिंह र फ्रान्कलिनले गोल गर्नुभएको हो ।

प्रतिस्पर्धात्मक खेलमा संकटाले सुरुवाती अग्रता लिएको थियो । ३१औँ मिनेटमा निरजले हेड गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाउनुभयो । उहाँले लक्ष्मण रुचालको फ्रिकिक पासमा गोल गर्नुभएको थियो । संकटाको अग्रता मनाङले चार मिनेटमै तोडेको थियो । ३५औँ मिनेटमा भारीय खेलाडी दयानन्दले हेडगोल गर्दै मनाङलाई बराबरीमा ल्याउनुभयो । उहाँले फ्रान्कलिनको पासमा गोल गर्नुभएको थियो ।

दोस्रो हाफमा पनि एउटै लय समाएको संकटाले ७०औँ मिनेटमा पुनः अग्रता लियो । उत्तम राईले अफ्रिकी खेलाडी फोडे फोफानाको पासमा पोस्ट नजिकबाट गोल गर्नुभएको थियो । तर, संकटाले अन्तिम ३० सेकेन्डमा बराबरी गोल खायो । इन्जुरी समयको अन्तिममा फ्रान्कलिनले उत्कृष्ट गोल गर्दै आठ पटकको च्याम्पियन मनाङलाई हारबाट जोगाउनुभयो ।

खेलमा संकटाका अर्नेस्ट टाम्पी ‘म्यान अफ दी म्याच’ हुनुभयो । संकटाकै जय गुरुङले ‘इमर्जिङ प्लेयर’ को पुरस्कार जित्नुभयो । बराबरीसँगै तीन खेलबाट सात अंक बनाएको मनाङ दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको सातदोवाटोको पनि समान सात अंक छ । पाँच अंक बनाएको संकटा तेस्रो स्थानमा उक्लिएको छ ।

खेलपछि मनाङका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीले आफ्नो लय गुमाउँदा दबाव झेलेको बताउनुभयो । ‘आज मनाङले खेल्न सकेन । बल पोसेसन राख्न नसक्दा गाह्रो भयो । रक्षकको सानो गल्तीले गोल खायौँ । संकटाले हामीलेभन्दा धेरै राम्रो खेल्यो,’ तामाङले भन्नुभयो ।

संकटाका प्रशिक्षक विष्णु गुरुङले अन्तिममा सम्हालिन नसक्दा आएको अंक गुमाउनु परेको बताउनुभयो । ‘मनाङ बलियो थियो । हामी सचेत भएर खेल्यौँ । खेलपनि राम्रो भयो । तर अन्तिममा सानो गल्तीले गोल खाँदा बराबरीमा चित्त बुझाउनुपर्यो । तर खेलाडीको प्रदर्शनबाट खुशी छु,’ गुरुङले भन्नुभयो । लिगअन्तर्गत आजै च्यासल र एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?