logo
२०८१ बैशाख १३ बिहीवार



सुन्तलामा औंसा कीराको प्रकोपले किसान चिन्तित

अर्थ |
समाज |


सुन्तलामा औंसा कीराको प्रकोपले किसान चिन्तित



अमृतप्रसाद पौडेल
बेनी, मङ्सिर १७ गते । हिमाली जिल्ला म्याग्दीका बगानहरुमा उत्पादित सुन्तलामा बिक्री गर्ने समयमा रोग तथा कीराको प्रकोप देखिएको छ । चाइनिज सिडरस फुड फ्लाई (औंसा) नामक कीराको सुन्तला खेतीमा प्रकोप देखिएको हो । सुन्तलाको बोटमा औंसा कीरा लागेर दाना पहेंलो हुँदै झर्न थालेपछि किसानहरु चिन्तित भएका छन् । औंसा कीराका कारण विक्री गर्ने सुन्तलाको उत्पादन कम हुने देखिएको छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानको दोसल्ले, पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–१, खानीगाउँ र मङ्गला गाउँपालिका–३, बराङ्जाको घोर्लेनीलगायत क्षेत्रमा लगाइएको सुन्तलामा औंसा कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गतवर्ष जिल्लाको बेनी नगरपालिका–३, भकिम्लीको राखु, मरेक तथा बेनी नगरपालिका–४ नम्बर वडा सिङ्गाको बास्कुना, सुर्केमेला, थामडाँडासहित मङ्गला गाउँपालिका–५, अर्मन र मालिका गाउँपालिका–७, विमको सुन्तला खेतीमा औंसाको प्रकोप देखिएको थियो ।
बास्कुनाका कृषक धनकुमारी के.सी.ले सुन्तलामा कीरा लागेर झरेको कारणले गर्दा उत्पादनमा कमि आउने बताउनुहुन्छ । विगतका वर्षमा पनि समस्या देखिएकोले कृषिको सुझाव अनुसार काम गरेको भए पनि खासै प्रभाव नदेखिएको उहाँको भनाइ छ ।

गत आर्थिक वर्ष प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्रमार्फत प्रोटिन बेस (खाद्यपासो) थापेर प्रकोप नियन्त्रण प्रयास गरिएको क्षेत्रमा प्रकोप घट्दो क्रममा रहेको र अन्य ठाउँमा प्रकोप बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले सुन्तलाजात फलफुलमा औंसा कीरा नियन्त्रण गर्न स्थलगत रुपमा पुगेर किसानहरुलाई झरेका सुन्तला सङ्कलन गर्ने प्लाष्टिक वितरण गर्ने गरेको छ ।
औंसा कीरा खासगरी जुनार खेतीमा बढी देखिने हुँदा जुनार, मौसम लगायतका फलफुलहरु नपाएपछि सुन्तलामा देखिने गरेको कृषि प्राविधिकहरु बताउँछन् । सुन्तलामा फूल खेलेपछि केराउको जत्रो दाना लागेको चैत, बैशाखको समयमा हर्मनका कारणले दाना झर्ने गर्दछ । यस्तै असार, साउनमा पतेरो कीराले रस चुसेर दाना झार्ने र कात्तिक, मंसिरको समयमा सुन्तला टिपेर बजार पठाउने समयमा औंसा कीराको प्रकोप देखिने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका बाली संरक्षण अधिकृत निर्मला केसीले बताउनुभयो ।

सुन्तलामा देखिएको प्रकोप नियन्त्रण गर्न खाद्यपासो थाप्नुका साथै किसानलाई आवश्यक सहयोग गरिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिनुभयो ।
कृषि तथा वन विज्ञान विश्वविद्यलय रामपुरको बी.एससी.एजी आठौं सेमेस्टरका लागि अनित पौडेलले तयार पारेको शाेधपत्रमा पनि म्याग्दीमा उत्पादन घट्नुको मुख्य कारण कीरा लाग्नु नै हो भन्ने निचोड निकालिएको छ । पौडेलले भन्नुभयो– ‘जिल्ला भरमा गरिएको अध्ययनले सुन्तला जातको फलफुलमा उत्पादन घट्नुको कारण कीरा लागेर झर्नु नै देखिएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?