logo
२०८१ बैशाख ७ शुक्रवार



आईओटीलाई नियमनको दायरामा ल्याइँदै

अर्थ |


आईओटीलाई नियमनको दायरामा ल्याइँदै


विश्वास रेग्मी

काठमाडौँ, मङ्सिर १७ गते । मेसिन तथा डिभाइसबीच आपसमा सम्पर्क स्थापना गर्ने इन्टरनेट अफ थिङ्स(आईओटी)लाई नियमनको दायरामा ल्याइने भएको छ ।

मेसिन टु मेसिन (एमटुएम) सञ्चार नामले समेत परिचित आईओटीको सुरक्षित प्रयोग तथा तथ्याङ्कको गोपनीयता राख्ने उद्देश्यले यसलाई नियमन गर्न लागिएको हो । त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार नियमावलीको मस्यौदा सार्वजनिक गरेको छ ।
सुझावका लागि सार्वजनिक गरिएको उक्त मस्यौदामा आईओटी सञ्चालकलाई अनुमतिपत्र प्रदान गर्ने, फ्रिक्वेन्सीको व्यवस्थापन गर्ने, प्रयोग हुने डिभाइस तथा मेसिनको पहिचान गर्ने र मेसिनले सिर्जना गर्ने डेटाको सुरक्षा तथा व्यवस्थापन गर्नेलगायतका विषय समेटेको छ ।
डिजिटल नेपालको अवधारणालाई सहयोग पु¥याउन तथा भविष्यमा आईओटीमार्फत प्राप्त हुने डेटा सुरक्षालाई प्राथमिकतामा राखेर यसलाई नियमन गर्न नियमावली बनाउन लागिएको प्राधिकरणका उपनिर्देशक प्रदीप पौडेलले जानकारी दिनुभयो । “भविष्यमा आईओटी व्यवस्थापनका लागि सरकारलाई सहजीकरण गर्ने तथा फाइभजीको प्रयोगलाई समेत ध्यानमा राखेर मस्यौदा तयार गरिएको हो,” उहाँले भन्नुभयो । प्राधिकरणले गत कात्तिक अन्तिममा नेपाल टेलिकमलाई फाइभजी परीक्षणको स्वीकृति दिइसकेको छ ।
मस्यौदाअनुसार विद्यमान दूरसञ्चार सेवा प्रदायकलाई उनीहरूकै मोबाइल नेटवर्क प्रयोग गर्न सकिने गरी अनुमतिपत्र दिन सकिनेछ ।

त्यस्तै नेटवर्क तथा इन्टरनेट सेवा प्रदायकले पनि उनीहरूको नेटवर्क प्रयोग गर्न पाउने गरी अनुमतिपत्र प्रदान गर्न सकिने उल्लेख छ । पूर्णतः आईओटी सुविधा मात्र सञ्चालन गर्न चाहनेका लागि पनि अनुमतिपत्र उपलब्ध गराउन सकिने व्यवस्था खुला राखिएको छ । त्यस्ता सेवा प्रदायकलाई अनुमति लिनु नपर्ने फ्रिक्वेन्सी उपलब्ध गराउन सकिने प्राधिकरणले जनाएको छ ।

यसरी अनुमतिपत्र पाउने सेवा प्रदायक तथ्याङ्कको सुरक्षा, गोपनीयता र व्यवस्थापनमा भने आफैँ जिम्मेवार हुनेछन् । त्यस्तै आईओटीका लागि प्रयोग गरिने सम्पूर्ण डिभाइस प्राधिकरणबाट टाइप अपु्रभल प्राप्त गरेको हुनुपर्नेछ ।
नेपालको सन्दर्भमा फाइभजीको परीक्षणको बाटो खुलिसकेकाले मोबाइलमा आधारित आईओटीको प्रयोग बढ्ने देखिन्छ । यसबाहेक स्मार्ट घर, जीपीएस ट्र्याकिङ, विपत्पूर्व सूचना प्रणाली, मौसम विवरणलगायतका तथ्याङ्क सङ्कलनका लागि समेत यो उपयोगी हुनेछ ।
आधुनिक स्वास्थ्य प्रणालीमा पनि आईओटीको प्रयोगमार्फत असम्भव काम पनि सम्भव भएका उदाहरण छन् ।

सरकारले हालै मात्र सवारीसाधनको नियमनका लागि परीक्षणस्वरूप सञ्चालन गर्न लागेको जीपीएस डिभाइस जडान पनि आईओटीको एउटा उदाहरण हो । यो प्रणालीअन्तर्गत डिभाइसले विभिन्न किसिमका डेटा सिर्जना गर्दछन् र ती डेटाका आधारमा विश्लेषण, मूल्याङ्कन तथा स्वचालित रूपमा कार्यप्रणाली सम्भव हुन्छ । सन् २०२० सम्म विश्वभर २०० अर्बभन्दा बढी डिभाइस जोडिएको अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?