logo
२०८० चैत्र १६ शुक्रवार



सम्पन्न हुँदै ब्रोडब्यान्ड परियोजना

अर्थ |


सम्पन्न हुँदै ब्रोडब्यान्ड परियोजना



गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १५ गते । देशभरका सार्वजनिक निकायमा ब्रोडब्यान्ड इन्टरनेट पु-याउने परियोजना सम्पन्न हुने चरणमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पाँच अर्ब ६७ करोड रुपियाँ लगानीमा देशभरका स्थानीय निकायको कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट जडान गर्ने गरी उक्त परियोजना अगाडि बढाएको थियो ।

देशभर कुल १५ हजार ९८२ वटा तोकिएका सार्वजनिक निकायमा ब्रोडब्यान्ड इन्टरनेट पु-याउने लक्ष्यमध्ये कात्तिकसम्म १५ हजार ३४९ निकायमा जडान भइसकेको प्राधिकरणले जनाएको छ । अर्थात् परियोजनाको ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
कुल १८ वटा प्याकेज बनाएर देशभर जडानको काम सुरु गरिएको यो परियोजनाअन्तर्गत कात्तिकसम्म ६७६ स्थानीय निकायको कार्यालयमा काम सम्पन्न भइसकेको छ । परियोजनाअन्तर्गत कुल ७०२ यस्ता कार्यालयमा इन्टरनेट जडान गर्ने सम्झौता भएको थियो ।
अब २६ वटा स्थानीय कार्यालयमा मात्र इन्टरनेट जडान गर्न बाँकी छ । त्यस्तै कुल पाँच हजार ९३३ वडा कार्यालयमा सम्झौता भएकोमा पाँच हजार तीनवटा कार्यालयमा जडान भइसकेको छ । चार हजार १२२ वटा स्वास्थ्य संस्थामा जडान गर्ने सम्झौता भएकोमा चार हजार १७ वटा संस्थामा काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

परियोजना अन्तर्गतका १६ वटा प्याकेजमध्ये ६५ जिल्लामा तोकिएबमोजिमका स्थानहरूमा शतप्रतिशत काम सम्पन्न भइसकेको छ । त्यस्तै एउटा प्याकेजमार्फत पाँच जिल्लाका तोकिएबमोजिमका स्थानमा ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

सम्पन्न भएका परियोजनामध्ये हालसम्म छवटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ । दुईवटा परियोजनाको परामर्शदाताबाट पहिलो चरणअन्तर्गतको अनुगमन र प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ । दुईवटा परियोजनाको दोस्रो चरणअन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको प्राधिकरणले जनाएको छ ।
ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरेर सेवा प्रदायकलाई प्रतिस्पर्धा गराएर उनीहरूमार्फत नै ब्रोडब्यान्ड जडानको काम भइरहेको छ । यसरी जडान गरिएको इन्टरनेट सम्बन्धित संस्थाले दुई वर्षसम्म निःशुल्क उपयोग गर्न पाउनेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?