logo
२०८१ बैशाख १३ बिहीवार



सान्जेन र रसुवागढी आयोजना छिटो सक्न ताकेता

अर्थ |


सान्जेन र रसुवागढी आयोजना छिटो सक्न ताकेता


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको निर्माण छिटो सम्पन्न गर्न ताकेता गरेको छ ।
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका यी आयोजना निर्माण सक्न हुन ढिलाइ भएपछि प्राधिकरणले आफ्नो तथा सहायक कम्पनीको समेत लगानी रहेका आयोजनाको काम जतिसक्दो छिटो सम्पन्न गर्न पहल गरेको हो ।
भूकम्प, भारतीय सीमामा भएको अवरोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ, कठिन भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनका जटिलता तथा ठेकेदारको कमजोर कार्यसम्पादन, बाढीपहिरो, कोभिड–१९ महामारीलगायतका कारण आयोजनाहरूको निर्माण प्रभावित हुँदै आएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमन गरी आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरू, परामर्शदातासँग छलफल गरी बाँकी रहेका काम छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । यी आयोजनाका मुख्य सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेका छन् । बाँकी रहेका काम समानान्तर रूपमा अगाडि बढाएर सात÷आठ महिनाभित्रमा सम्पन्न गर्न घिसिङले निर्देशन दिनुभएको हो ।

माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रो मेकानिकल उपकरण जडान सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ ।
माथिल्लो सान्जेनको क्यासकेडका रूपमा रहेको सान्जेनको सुरुङ, सर्जट्याङ खन्ने कार्य सकिएको छ । विद्युत्गृहका उपकरण रहने संरचना पनि तयार भएको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ ।

दुवै आयोजनाका इलेक्ट्रो मेकानिकल उपकरणको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिक चीनबाट आउन नसक्दा काम प्रभावित भएको छ । निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिक मङ्गलबार नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकले उपकरण जडान सुरु गर्ने आयोजनाका अधिकारीले बताएका छन् । प्रसारण लाइनको टावर निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकीे छ ।


उता रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रो मेकानिकल उपकरणको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको घिसिङले जानकारी दिनुभयो ।
“इलेक्ट्रोमेकानिकलको ठेकेदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको छ,” घिसिङले भन्नुभयो, “उपकरण जडानका लागि कामदार थपेर सबै ठाउँमा समानान्तर रूपमा काम गरी आठ÷नौ महिनाभित्र सक्नुपर्छ भनेका छौँ । ”
तीनवटै आयोजनाको विद्युत् निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिनेछ । चिलिमे तथा त्रिशूली थ्री बी हब सबस्टेसन र चिलेमी–त्रिशूली थ्री बी हब सबस्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही प्रसारण लाइनमार्फत यी आयोजनाकोे विद्युत् राष्ट्रिय प्रणालीमा आउनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?