logo
२०८१ बैशाख ७ शुक्रवार



स्तरीय रोजगार सम्झौताका लागि नाम पठाइयो

अर्थ |


स्तरीय रोजगार सम्झौताका लागि नाम पठाइयो


गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १४ गते । वैदेशिक रोजगार विभागले पहिलो चरणमा इजरायल जान छनोट भएका ५०० जनाको स्तरीय रोजगार सम्झौता (एसईसी)को नामावली इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पिवा)मा पठाइसकेको जनाएको छ । विभागका अनुसार पहिलो चरणमा नामावली आएका ५०० जनाको नामस्तरीय रोजगारी सम्झौताका लागि पठाइसकेको र बाँकी रहेका ६७५ जनाको यही साता पठाउने तयारी गरेको हो ।

रोजगारीका लागि इजरायल जान स्वास्थ्य परीक्षण उत्तीर्ण भएका श्रमिकको नामावली गत हप्ता पिवामा पठाएको विभागले जनाएको छ । विभागका अनुसार इजरायलको पिवाले केही दिनपछि ५०० नेपालीको स्तरीय रोजगार सम्झौताको नामावली पठाएपछि युवाले सम्झौताका लागि हस्ताक्षर गर्नुपर्नेछ ।
विभागका निर्देशक डम्बर सुनुुवारले स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकामध्ये पहिलो चरणका ३५० महिला र १५० पुरुषको नाम मङ्सिरको पहिलो साता नै विपामा पठाइसकेको जानकारी दिनुुभयो । उहाँले रोजगार सम्झौताका लागि नाम आएका युवालाई विभागमा बोलाएर सम्झौतामा हस्ताक्षर गर्न लगाइने जानकारी दिनुुभयो । उहाँका अनुसार इजरायलले पठाएको सम्झौताका सर्तअनुकूल भए हेरेर श्रमिकले हस्ताक्षर गर्न सक्नेछन् ।

विभागले सम्झौताका लागि प्राप्त नामावलीअनुसार पाँच दिनभित्र सबैको हस्ताक्षर लिएर भिसा प्रक्रियाका लागि नेपालस्थित इजरायली दूतावास नामावली पठाउने जनाएको छ ।
यसैबीच सम्झौता गरेका श्रमिकको अभिमुखीकरण, श्रम सम्झौता र उडान तालिका हुने जनाइएको छ । यसैगरी शनिबार स्वास्थ्य परीक्षण सम्पन्न गरेका ६७५ युवामा रोजगार सम्झौताका लागि नामावली पिवालाई पठाउनेछ ।

पिवाद्वारा नामावली पठाएका उम्मेदवारको थप प्रक्रिया अभिमुखीकरण, करार र श्रम स्वीकृतिका सम्बन्धमा विभागले केही दिनभित्र सूचना सार्वजनिक गर्ने भएको छ । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि एक वर्षको हुने भए पनि करार थपेर पाँच वर्षसम्म बस्न पाइनेछ ।
यसका लागि जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बीमा, अभिमुखीकरण, राहदानी, कल्याणकारी कोषमा पीसीआरसहितको स्वास्थ्य परीक्षण गरेर एक लाख ६५ हजार ७०० रुपियाँ शुल्क लाग्ने विभागले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?