logo
२०८१ बैशाख ७ शुक्रवार



हेल्लो नेपाललाई खारेजीको पत्र

अर्थ |


हेल्लो नेपाललाई खारेजीको पत्र



गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १४ गते । हेल्लो नेपाल ब्रान्डले परिचित नेपाल स्याटेलाइट टेलिकमलाई नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र खारेजीको पत्र पठाएको छ । प्राधिकरणले सोमबार पत्र पठाउँदै आधारभूत दूरसञ्चार सेवा उपलब्ध गराउन पाउने कम्पनीको अनुमतिपत्र खारेज गरिएको जनाएको हो ।
अनुमतिपत्रको किस्ता रकम समयमै नबुझाएपछि प्राधिकरणको सञ्चालक समितिको बैठकले मङ्सिर १० गते अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो । सरकारले हेल्लो नेपाललाई पाँच किस्तामा हरेक असार मसान्तभित्र बुझाउने गरी २०७६ पुस २१ गते सुविधा प्रदान गरेको थियो ।

त्यतिबेला मन्त्रिपरिषद्को बैठकले पहिलो किस्ता आर्थिक बर्ष २०७६/७७ को असारमसान्त भित्रै र अन्य किस्ता प्रत्येक वर्षको दरले बाँकी किस्ता बुझाउनुपर्ने निर्णय गरेको थियो । यद्यपि कम्पनीले गत असार मसान्तभित्रै बुझाइसक्नुपर्ने किस्ताबापतको ३३ करोड ५८ लाख रुपियाँ भने बुझाएको थिएन ।
तोकिएको समयभित्रै किस्ता नबुझाएपछि प्राधिकरणले गत कात्तिक १२ गते हेल्लो नेपाललाई अनुमतिपत्र किन खारेज नगर्ने भन्ने प्रश्नसहितको स्पष्टीकरण सोधेको थियो । उक्त जवाफ चित्त नबुझेको भन्दै प्राधिकरण बोर्ड बैठकले अनुमतिपत्र नै खारेज गर्ने निर्णय गरेको हो ।
निर्णयपछि सोमबार पठाइएको खारेजीको पत्रमा नेपाल सरकारले दिएको समय सीमाको म्याद प्राधिकरणबाट थप हुन नसक्ने र स्पष्टीकरण चित्तबुझ्दो नभएको उल्लेख गरिएको छ । ‘यस प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र दूरसञ्चार ऐन २०५३ को दफा २८ को उपदफा (३)बमोजिम आजकै मिति
(मङ्सिर १०)देखि लागू हुनेगरी खारेज गर्ने निर्णय गरिएको छ’ पत्रमा लेखिएको छ ।

विगतमा ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा उपलब्ध गराइरहेको हेल्लो नेपालको अनुमतिपत्र यससँगै दोस्रो पटक खारेजीमा परेको हो । यअसघि २०७६ साउन १७ मा प्राधिकरणले बक्यौता नबुझाएकै आधारमा अनुमतिपत्र खारेज गरेको थियो । अनुमतिपत्र खारेजीविरुद्ध हेल्लो नेपालले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुनरवलोकनका लागि निवेदन दिएको थियो ।
हेल्लो नेपालको निवेदनकै पक्षमा तत्कालीन मन्त्रिपरिषद्ले पाँच किस्तामा बक्यौता बुझाउन सक्नेगरी सुविधा उपलब्ध गराएको थियो । हेल्लो नेपालले २०६६ फागुन ५ गते आधारभूत दूरसञ्चार सेवाको अनुमतिपत्र पाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?