logo
२०८१ बैशाख ७ शुक्रवार



ऊर्जामन्त्रीद्वारा तनहुँ जलविद्युत्को निरीक्षण

अर्थ |


ऊर्जामन्त्रीद्वारा तनहुँ जलविद्युत्को निरीक्षण


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १४ गते । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार निर्माणाधीन १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणस्थल र निर्माणाधीन भूमिगत विद्युत्गृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गर्नुभएको तनहुँ जलविद्युत् कम्पनीले जनाएको छ ।

मन्त्री भुसालले सरकारी तहबाट निर्माण भइरहेको जलाशययुक्त आयोजनाको काममा विलम्ब नगरी तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो । ऊर्जा व्यवस्थापनको रणनीतिक हिसाबले महŒवपूर्ण यो आयोजना ढिला नगरी सम्पन्न गर्नुपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभएको थियो ।

“नदीको बहावमा आधारित जलविद्युत् आयोजनाको बाहुल्यताका कारण वर्षामा बिजुली खेर फाल्नुपर्ने र हिँउदमा उत्पादन घट्दा मुलुकभित्रको माग धान्न अझै पनि विद्युत् आयात गर्नुपर्ने अवस्थाको छ,” भुसालले निर्देशन दिँदै भन्नुभयो, “यस्तो अवस्था अन्त्य गर्न रणनीतिक महŒवको जलाशययुक्त तनहुँ आयोजनाको निर्माण स्रोतसाधन, स्थानीय समस्यालगायतका कारण ढिलाइ हुनुहुँदैन, तोकिएकै समय र लागतमा सम्पन्न गर्नुपर्छ । ”

उहाँले आयोजनाको जलाशय बनेपछि यस क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने र त्यसबारे स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने बताउनुभयो ।
आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले निर्माणमा हालसम्म प्राप्त भौतिक तथा वित्तीय प्रगति, बेहोरिएको समस्यालगायतका विषयमा मन्त्री भुसाललाई जानकारी गराउनुभएको थियो ।
आयोजनाको पहिलो प्याकेजका निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन नेपाल जेभीसँगकोे ठेक्का सम्झौता १४ भदौ २०७८ बाट कार्यान्वयनमा आएको छ । सोङ दा–कालिका जेभीले आफ्नो कार्यालय, श्रमिक आवास सुविधा, मोबाइल क्रसर प्लान्ट स्थापना गरी नदी फर्काउने कार्य सुरु गरेको छ ।

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबल सुरुङ, मुख्य पहुँच सुरुङ निर्माण सम्पन्न गरी भूमिगत विद्युत्गृह खनिरहेको छ । सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न गरेको छ ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ । अहिलेसम्म ३० वटा टावरको जग हाल्ने कार्य सम्पन्न भई आठवटा टावर ठडाइएको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?