logo
२०८० चैत्र १५ बिहीवार



मङ्सिर १९ गतेदेखि बाघ गणना

खुला |


मङ्सिर १९ गतेदेखि बाघ गणना


चितवन, मङ्सिर १३ गते । नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ ।

देशभरका पाँच निकुञ्जमा बाघ छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वनक्षेत्रमा बाघको गणना गरिन लागेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हिउँदको समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ ।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवसहितका उच्च अधिकारीको उपस्थितिमा गणनाको शुभारम्भ गरिने आचार्यले जानकारी दिनुभयो । झाडी सुक्दै गएपछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने भएकाले यो मौसम छानिएको हो । उहाँको भनाइमा पुस महिनाभित्रमा सम्पन्न गर्ने गरी बाघगणना गर्ने तयारी गरिएको छ । क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ । दुई÷दुई ग्रिड अर्थात चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राखेर गणना गरिन्छ । कम्तीमा दुई हप्ता क्यामेरा राख्नुपर्ने उहाँको भनाइ छ ।

चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्लाफाँटा तथा नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर बाघको गणना गर्न लागिएको हो । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए । त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लाफाँटामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए ।

यो सङ्ख्या बढेको अनुमान छ । सन् २०१० मा रसियाको सेन्ट पिटर्सवगमा भएको बाघ पाइने १३ मुलुकका राष्ट्रप्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पु¥याउने प्रतिबद्धता व्यक्त गरेको थियो । तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्याङ्क थियो । दोब्बरभन्दा बढी सङ्ख्या बनाउने नेपालको प्रतिबद्धता पूरा हुनेमा संरक्षणविद् विश्वस्त छन् । नेपालमा हरेक चार÷पाँचवर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?