logo
२०८० चैत्र १६ शुक्रवार



एमाले महाधिवेशन : नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक

राष्ट्रिय |
राजनीति |


एमाले महाधिवेशन : नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक


नवलपुर, मङ्सिर ९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का सुरक्षा निकायका प्रमुखको बुधबार सम्पन्न बैठकले आज साँझ ६ बजेदेखि शुक्रबार (भोलि) राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाउने निर्णय गरेको छ । विशेषगरी दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बताउनुभयो ।

साँघुरो र उकालो/ओरोलो सडक रहेको दाउन्नेमा मालवाहक सवारीसाधनका कारण दिनहुँ जाम हुने गरेको छ । महाधिवेशनमा आउने सवारीसाधनको सङ्ख्या बढी हुने र त्यसको सहजताका लागि सवारीसाधनमा रोक लगाएको प्रजिअ पङ्गेनीले बताउनुभयो ।

सो खण्डमा जाम भइहालेमा तत्काल बाटो खुलाउन क्रेनको व्यवस्था गरिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम हुँदै आउने मानिस दाउन्ने सडक हुँदै चितवन जानुपर्ने हुन्छ । लुम्बिनी प्रदेशबाट मात्रै ८० हजार कार्यकर्ता महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने गरी व्यवस्था मिलाइएको छ । “दाउन्ने सडकको अवस्थाका कारण मालबहाक ट्रक, टिपर र अन्य खाली ट्रकलाई पूर्ण रुपमा रोक लगाइएको छ” प्रजिअ पङ्गेनीले भन्नुभयो, “बुटवल हुँदै काठमाडौं जाने यात्रुवाहक बस पोखरा हुँदै आवतजावत गर्ने गरी व्यवस्था मिलाइएको छ ।”

अन्य निजी गाडीलाई पनि पोखरा हुँदै आवतजावतको व्यवस्था मिलाउन लुम्बिनी प्रदेश ट्राफिक कार्यालयसँग समन्वय गरिएको प्रजिअ पङ्गेनीले बताउनुभयो । पूर्व–पश्चिम भएर आवतजावत गर्ने सवारीसाधनलाई आज साँझदेखि नै रुपन्देही र गैँडाकोटबाट रोक लगाइनेछ । आवतजावतमा थप सहजता ल्याउन चार वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना)का दुई जनाका दरले सम्पर्क अधिकारी तोकेर संयुक्त गस्तीलाई परिचालन गरिएको प्रजिअ पङ्गेनीले बताउनुभयो ।

एमालेको राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम चितवनको नारायणी किनारमा भोलि शुक्रबार हुँदैछ । उद्घाटन कार्यक्रममा एमालेले ५ लाख मानिस उतार्ने गरी तयारी भइरहेको जनाएको छ ।

नारायणगढ–बुटवल सडक मर्मत गर्न निर्देशन

विस्तारको क्रममा रहेको पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्ड तत्काल मर्मत गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले एमालेको दशौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै सडक मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको हो । यो खण्डका केही स्थानमा सडक मर्मत गर्नुपर्ने अवस्था देखिएकाले तुरुन्त मर्मत गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । “नारायणगढ–बुटवल सडकखण्डको धेरै स्थानमा सडक मर्मत भएका छन्, अझै केही स्थानमा मर्मत गर्नुपर्ने अवस्था छ” प्रजिअ पङ्गेनीले भन्नुभयो, “महाधिवेशनमा सहभागी हुन पश्चिमका जिल्लाबाट धेरै सवारीसाधन आउने जानकारी आएको छ । बिग्रेको सडकमा जाम हुने भएकाले निर्माण कम्पनीलाई तुरुन्त मर्मत गर्न निर्देशन दिएको छु ।”

पूर्व–पश्चिम राजमार्गको खण्ड १ मा भत्किएको सडक दसैँ अगाडि नै मर्मतको काम सक्नका लागि नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले पटक–पटक पत्राचार गरेको थियो । नेपाली पक्षले पत्राचार गरे पनि निर्माण कम्पनीले अटेरी गर्दै आइरहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापाले बताउनुभयो ।

दसैँ अगाडि गैँडाकोट, देवचुली र कावासोतीको केही स्थानमा मात्रै सडक मर्मत भएको भन्दै उहाँले दाउन्ने खण्डमा पूरै सडक मर्मत गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । सडक भत्किएको स्थानमा उड्ने धुलोका कारण स्थानीयवासी आजित भइसकेका छन् । सडक भत्किएको स्थानमा पानी छरेर धुलो नियन्त्रण गर्न आग्रह गर्दा समेत कम्पनीले अटेरी गर्दै आइरहेको सहायक प्रजिअ थापाको भनाइ छ ।

राजमार्गमा पुल निर्माणको डाइभर्सन निर्माण गरिएको स्थान बाहेक अन्य क्षेत्रमा बिग्रिएको सडक मर्मत गर्दै डाइभर्सनमा पानी छर्केर धुलो उड्न नदिने निर्माण पक्षले प्रतिबद्धता जनाएको भए पनि काम भने गर्न सकेको छैन ।

नारायणगढ बुटवल खण्डको झण्डै ११४ किलोमिटर सडकलाई चार लेनमा विस्तारको काम भइरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडक खण्ड १ मा अन्तर्गत पर्ने र यो सडकको सबैभन्दा बढी दुरवस्था यही खण्डमा छ । नारायणगढ बुटवल सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले निर्माण कम्पनीलाई बिग्रिएको सडक चाँडो मर्मत गर्दै सडक विस्तारमा ध्यान केन्द्रित हुन आग्रह गरिएको बताउनुभयो ।

कछुवाको गतिमा सडक विस्तारको काम भइरहेको यो खण्डको आर्थिक प्रगति करिब ९ प्रतिशत मात्रै देखिएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको सडक विस्तारको काम विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?