logo
२०८१ बैशाख १३ बिहीवार



अर्थमन्त्रीको असन्तुष्टि

अर्थ |


अर्थमन्त्रीको असन्तुष्टि


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ९ गते । अर्थमन्त्री जनार्दन शर्माले आयात घटाउने आधारहरू हुँदाहुँदै पनि नघटेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । आयात नघट्दा व्यापार सन्तुलन तथा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताउँदै उहाँले अब पनि आयात नघटे बलपूर्वक घटाउनुपर्ने अवस्था आउनसक्ने बताउनुभयो ।
अर्थ मन्त्रालयमा बुधबार बसेको आर्थिक वर्ष २०७८/७९ को प्रथम प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री शर्माले पु्ँजीगत खर्च बढाउन नयाँ प्रणाली अपनाउनुपर्ने पनि बताउनुभयो । विद्यमान प्रणालीबाट उल्लेख्य रूपमा पुँजीगत खर्च नभएपछि नयाँ प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ ।
पुँजीगत खर्च उल्लेख्य रूपमा नबढेकोप्रति पनि अर्थमन्त्रीको असन्तुष्टि थियो । विद्यमान प्रणालीमा अर्को एक महिनासमेत खर्च नबढे अब नयाँ विकल्प अवलम्बन गर्नैपर्ने उहाँको भनाइ थियो । “यदि पुँजीगत खर्च यो तरिकाले हुन्न भने म अर्को तरिका सोच्दै छु,” उहाँले भन्नुभयो, “अरू एक महिनासमेत पर्खेर हुँदैन भने नयाँ तरिकाबाट खर्च गर्नुपर्छ भन्ने मान्यता छ । खर्च चाहिँ जसरी पनि गर्नुपर्छ । ”

मन्त्री शर्माले लघुवित्तको ब्याज घटाएर एकल दरमा झार्दै साना किसान तथा लगानीकर्तालाई ऋण उपलब्ध गराउनुपर्ने, कृषि विकास बैङ्कको नाम परिवर्तन गर्नुपर्ने तथा डिजिटल कारोबारलाई व्यापक गर्नुपर्नेसमेत बताउनुभयो ।
बैठकमा अर्थसचिव मधुकुमार मरासिनीले तरलताको चापलाई घटाउन सुन आयातमा निगरानी गर्नुपर्ने बताउनुभयो । उहाँले हुण्डीमार्फत नेपाल पैसा पठाउँदा विदेशी मुद्रा उतै रहने र त्यसले सुन कारोबार भइरहेको बताउनुभयो । त्यसले विप्रेषणमा समेत नकारात्मक असर गरेको उहाँको भनाइ छ । बाहिर बजारमा बजेट र अर्थतन्त्रबारे गलत प्रचार भइरहेकोप्रति संवेदनशील हुन आग्रह गर्नुहुँदै उहाँले पुँजीगत खर्च बढाउनमा ध्यान दिन सम्बन्धित मन्त्रालयहरूलाई आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?