logo
२०८० चैत्र १५ बिहीवार



करमा भएका समस्या र गुनासा समाधान गर्ने संयन्त्र बनाउँछु : अर्थमन्त्री

अर्थ |


करमा भएका समस्या र गुनासा समाधान गर्ने संयन्त्र बनाउँछु : अर्थमन्त्री
तस्विर-फाइल


काठमाडौं, मंसिर १ गते । अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताउनुभएको छ । दशौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताउनुभयो ।

“करदाताको गुनासा सुन्नुपर्छ । यहाँ आइसकेपछि एउटा एकाइ बनाउनुपर्ने आवश्यकता महसुस गरेँ”, मन्त्री शर्माले भन्नुभयो, “तपाईंहरूले भन्नुभएको ‘झ’ झिक्नका लागि एउटा एकाइ÷संयन्त्र बनाउँछु । त्यहाँ तपाईंले गुनासो राख्न पाउनुहुन्छ ।” उहाँले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाउने बताउनुभयो ।

मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको बताउनुहुँदै त्यस्ता सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न पनि आग्रह गर्नुभयो । पुरस्कृत नगर्दा सूचना दिने हतोत्साहित हुने गरेको र त्यसले कर सङ्कलनमा समेत असर गरिरहेको भन्नुहुँदै उहाँले ‘इन्सेन्टिभ’ दिन छुटेकालाई समेत तत्काल दिन निर्देशन दिनुभयो । उहाँले जनताले बुझाएको करबाटै सरकारको नेतृत्वकर्ता र कर्मचारी जनताको सेवा गरिरहेको बताउनुभयो । त्यस्तै राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने बताउनुभयो ।

‘पेपरलेस’ तथा ‘कन्ट्याक्टलेस’ कर प्रणाली बनाउने प्रक्रिया थालनी भएको बताउनुहुँदै उहाँले त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “सकारात्मक कामहरू सुरु हुन्छन्, त्यो राम्रो कुरा हो तर सम्पन्न हुनुबाट मात्र परिणाम आउँछ”, उहाँले भन्नुभयो, ‘सुरु गरेर मात्र पुग्दैन । कर दिवसको अवसरमा सम्पन्न गर्ने प्रतिबद्धता यहाँ जनाउँछु ।”

कर दिवसमा आयोजित सो कार्यक्रमका अवसरमा मन्त्री शर्माले तीन वटा प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले कर प्रशासनमा हुने झन्झटलाई तत्काल समाधान गर्न एकाइ÷संयन्त्र बनाउने, भन्सारमा ‘भेकल स्क्यानर’ को व्यवस्था गर्ने र स्टिकर सरकार आफैँले छाप्ने प्रतिबद्धता गर्नुभएको हो ।

यसैगरी अर्थसचिव मधुकुमार मरासिनीले कर जबर्जस्ती नभई सुशासन र समृद्धिका लागि स्वेच्छिक राजस्व प्रणाली निर्माण गर्न करदाता र कर प्रशासन मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । प्रत्येक नागरिकले तिरेको करबाटै राज्यले प्रदान गर्ने सेवा सुविधा उपलब्ध हुने बताउनुहुँदै उहाँले सबैलाई करदाता शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । “शिक्षा, स्वास्थ्य, सुरक्षालगायत कुरा हामीले तिरेको करबाट व्यवस्था भएको छ । कतिपयलाई कर सकेसम्म नतिरौँ भन्ने लाग्छ, तिर्न परे पनि कमले तिर्छन्”, उहाँले भन्नुभयो, “यो करदाता शिक्षा र करको महत्वबारे हामीले मन्थन र बुझाउनुपर्ने लागेको छ ।”

कार्यक्रममा राजस्व सचिव कृष्णहरि पुस्करले कोभिड–१९ महामारीले पु¥याएको ठूलो असरमा पनि करदाताले दिएको राजस्वले मुलुकको अर्थतन्त्रलाई पुनःरुत्थानमा टेवा पुगिरहेको बताउनुहुँदै सबै करदातालाई धन्यवाद दिनुभयो । कार्यक्रममा क्षेत्रगत उत्कृष्ट तथा सबभन्दा बढी तिर्ने करदाता तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

यसैबीच आन्तरिक राजस्व विभागले लक्ष्यको ९५.३२ प्रतिशत लक्ष्य हासिल गरेको बताइएको छ । कार्यक्रममा वार्षिक प्रतिवेदन २०७७/७८ सार्वजनिक गर्दै विभागले आव २०७७/७८ मा रु चार खर्ब २९ अर्ब २७ करोड राजस्व सङ्कलन गरेको बताएको हो । यस्तै रु दुई खर्ब ८७ अर्ब ६ करोड मूल्य अभिवृद्धि कर, रु दुई खर्ब ७७ करोड आयकर तथा रु एक खर्ब ३४ अर्ब नौ करोड अन्तःशुल्क राजस्व सङ्कलन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?