logo
२०८१ बैशाख १३ बिहीवार

  दृश्य समाचार  



विदेश त्यागेर बंगुर पालन, मासिक ५० हजार कमाइ, तीन जनालाई रोजगारी

अर्थ |


विदेश त्यागेर बंगुर पालन, मासिक ५० हजार कमाइ, तीन जनालाई रोजगारी


अमृतप्रसाद पौडेल
बेनी, कार्तिक २२ गते । हिमाली जिल्ला म्याग्दीको पश्चिम मालिका गाँउपालिका–३, रुम डाँडागाउँका टकबहादुर बुढाथोकीले बङ्गुरपालनबाटै मासिक रुपमा ५० हजारभन्दा बढी बचत गर्दै आउनुभएको छ ।


लामो समय वैदेशिक रोजगारीका लागि कतारमा बस्नुभएका बुढाथोकीले बैदेशिक रोजगारीलाई बिट मारेर आफ्नै मिहिनेतमा बंगुर पालन व्यवसाय थाल्नु भएको हो । बुढाथोकीको बंगुर पालनका साथै सदरमुकाम बेनीबजारमा बङ्गुरको मासु पसल पनि सञ्चालनमा छ । उहाँको मासु पसल बेनी बजारमा छ भने बेनीबजार नजिकै अग्नीखेतमा बङ्गुर फार्म रहेको छ । आठ वटा बंगुरबाट शुरु गर्नुभएको पेशा अहिले आएर ६० भन्दा बढी बङ्गुर रहेका छन् ।
२०६२ सालमा रोजगारीको सिलसिलामा कतार पुग्नुभएका बुढाथोकी चार वर्ष कतार बसेर नेपाल फर्केर केही समय विदेशै जाने चक्करमै घुम्नुभयो । बुढाथोकी भन्नुहुन्छ, ‘कतारमा गएर रोजगारी गर्दा रोजगारीको सिलसिलामा जाने बेलामा लिएको ८५ हजार रुपियाँ ऋण तिर्नुबाहेक खासैदेखिने खालको अन्य कुनै उपलब्धि हुन सकेन ।’ विदेशमा जाँदा राम्रो आम्दानी पनि भएन र नेपालमै केही गर्ने सोच आएपछि २०७३ मा एकलाख ८५ हजार लगानीमा सुरु गरेको बङ्गुरपालन पेशा अहिले सन्तुष्ट हुनेगरी नै अगाडि बढिरहेको उहाँले बताउनुभयो । ‘अहिले ६० वटा बङ्गुर छन्, मासु पसल पनि चलाएको छु यसबाट फार्ममा म र श्रीमतीसहित अर्को एक जना सहयोगीलाई पनि रोजगारी मिलेको छ’ बुढाथोकीले भन्नुभयो ।
उहाँले अहिले सबै खर्च कटाएर करिब ५० हजार रुपियाँ मासिक रुपमा बचत गर्दै आएको बताउनुहुन्छ । बुढाथोकीले आफ्ना दुई सन्तानलाई बेनीबजारकै निजी विद्यालयमा पढाउँदै आउनुभएको छ । विदेश गएर हराइयो अहिले आफूले थालेको पेशा ठीकै लागेको छ कुनै गुनासो छैन – बुढाथोकीको भनाई छ । रोजगारीको लागि बिदेशै जान पर्छ भन्ने रहेनछ, अहिले म बंगुर पालेरै यही नै रमाएकै छु बुढाथोकीले बताउनुभयो ।
बङगुरका लागि आवश्यक पर्ने दाना सङ्कलन गर्नका लागि व्यवसायको सुरुआतको समयमा बुढाथोकी दम्पतीले बजार क्षेत्रका होटल तथा होस्टेल लगायतका स्थानबाट प्रयोग भएर बचेको खानेकुरा डोकोमा ओसार्ने गरेको सम्झनु हुन्छ । त्यसपछि आफ्नो व्यवसाय बढ्न थालेपछि तीन पाङ्ग्रे रिक्सामा दाना ओसार्न थालेकोमा व्यवसाय फस्टाउँदै गएपछि टकबहादुर बढाथोकीले मोटरसाइकल लिएर दाना ओसार्ने काम गर्नुभयो भने अहिले उहाँको आफ्नो बोलेरो गाडी छ । सुरुसुरुको समयमा बङ्गुरको मासुको बजार राम्रो नभए पनि हाल हप्तामा दुईदेखि तीन वटा बङ्गुर बिक्री हुने गरेको भए पनि उत्पादनले थेग्न नसकेको उहाँको भनाई छ । एउटा बङ्गुर एकसय केजीभन्दा बढी भएपछि काटेर बिक्री गर्ने उहाँको भनाई छ ।
बुढाथोकीले उत्पादन गरेको बङ्गुरको मासु बेनीबजारमा खपत हुने गरेको हुँदा मासु बेच्नैका लागि धेरै टाढा जानुनपर्ने भएकाले पनि आफ्नो व्यवसायप्रति सन्तुष्टी लागेको उहाँको भनाई छ । आफ्नै पसलमा मासु किन्नका लागि ग्राहक आउने र थोरै लगानीबाट सुरु गरेको व्यवसायको छोटो अवधिमै राम्रो भए पछि अहिले दाना तथा बंगुर एवम् बंगुरको मासु ओसार्नका लागि गाडि किन्नु भएको छ । दुई वर्ष अगाडि किनेको गाडिको किस्ता तिरी सकेर १६ लाख मुल्य परेकोगाडी अब आफ्नै भएको उहाँले भन्नुभयो । बुढाथोकी भन्नुहुन्छ–बैंक किस्ता थियो तिरेर सकियो अब गाडी पनि पूरै आफ्नो भयो ।
बेनीबजारमा बङ्गुरको मासुको प्रति केजी करिब पाँच सय रुपियाँमा बिक्री हुने गरेको उहाँको भनाई छ । मानव स्वास्थ्यका लागि पनि स्वस्थ्यकर हुने बङ्गुरका मासुको बजार भाउ पनि राम्रो भएका कारण यो व्यवसायमा अन्यको पनि आकर्षण बढ्दो छ । आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारीमै जानुपर्छ भन्ने सोचले ग्रसित नेपाली समाजका लागि बुढाथोकी एक उदाहरणका रुपमा देखिनु भएको छ ।
बेनी नगरपालिका–७ अग्नीखेतमा बुढाथोकी सहित ११ जनाले बंगुर पालेका छन् । बंगुर पालन व्यवसायमा लागेका ११ जना नै बौदेशिक रोजगारीमा गएर फर्कीए पछि त्यो व्यवसायमा लागेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?