logo
२०८० चैत्र १६ शुक्रवार



बन्दै,भासिँदै: डोबमा गुड्छन् सवारीसाधन

अर्थ |


बन्दै,भासिँदै: डोबमा गुड्छन् सवारीसाधन


नवराज कट्टेल

विराटनगर, कात्तिक ९ गते । निर्माणाधीन कोसी राजमार्ग, रानी–धरान सडक खण्डअन्तर्गत विराटनगर क्षेत्रमा कालोपत्रे भासिएर डोब बनेको छ । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्रे सडकमा सवारीसाधन गुड्ने चक्काको डोब छुट्टै बनेको हो ।
विराटनगर भन्सार क्षेत्रदेखि रानी नहरसम्मको तीन किलोमिटर र बरगाछी–ढाटसम्मको कालोपत्रे सडक भत्केको छैन तर पिच भासिएर बनेका ढिस्का हुँदै सवारी गुड्छन् ।

भारत–नेपाल–चीन त्रिदेशीय ‘लाइफलाइन’ वा व्यापारिक मार्गका रूपमा परिचित यो सडकको निर्माण सम्पन्न भएको खण्ड हस्तान्तरण गर्नुअगावै भासिन थालेको हो । निर्माण सम्झौताका आधारमा ठेकेदारले पुनर्निर्माण गर्नुपर्ने प्रावधान रहे पनि छ लेन सडक आयोजना इटहरी मौन देखिएको छ ।
सडकको भारवहन क्षमताभन्दा दोब्बर वजन बोकेका मालवाहक सवारी गुडेका कारण भासिने गरेको आयोजना इटहरीका प्रमुख बद्री शर्मा बताउनुहुन्छ । सडक भासिनुमा कमसल निर्माण मात्रै नभई सवारी व्यवस्थापनको पाटोसमेत जोडिएको शर्माको
तर्क छ ।
विराटनगर भन्सार क्षेत्रबाट सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा मालवस्तु बोकेर आउने सवारीले सडकको क्षमताभन्दा दोब्बर वजन बोक्ने भए पनि त्यसको नियमन र नियन्त्रण नहुने आयोजनाले जनाएको छ । देशैभर बनेका सडकको भारवहन क्षमता १० टन मात्रै रहे पनि विराटनगरमा भने १६ टनदेखि २० टनसम्मको वजन भएका मालवाहक सवारी गुड्दासमेत ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयले कारबाही नगरेको आरोप छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख चन्द्रबहादुर खड्काले भन्सारबाट मालवस्तु बोकेर छुटेका सवारीलाई १५ किलोमिटर दूरीसम्म हिँड्न दिनू भन्ने गृह मन्त्रालयको परिपत्रका आधारमा छोड्ने गरिएको बताउनुभयो । गृह मन्त्रालयले २०७५ सालमा परिपत्र गरेको आधारमा अहिलेसम्म मालवहाक सवारीको चेकजाँच नगरिएको उहाँको भनाइ छ । छ लेन सडकमा पार्किङ निषेध गरिएको बताउँदै खड्काले सर्भिस लेनको अभाव हुँदा ठूला मालवाहक सवारी एउटै लेनमा गुड्नुपर्ने अवस्था आएको तर्क गर्नुभयो ।
विराटनगर भन्सारका भन्सार अधिकृत अमित तिवारीले फलाम उद्योगका कच्चा बोकेका मालवाहक सवारी हिँड्न बाधा नगर्ने सहमतिका आधारमा भन्सारले छोड्ने गरेको बताउनुभयो । “फलाम उद्योगका एउटै कच्चा पदार्थ २० टनसम्म हुन्छ,” तिवारीले भन्नुभयो, “त्यसलाई टुक्र्याउन सकिँदैन, उद्योगसम्म निर्बाध रूपमा जान दिने भन्ने सरकारको निर्णय छ । ”
कोसी राजमार्गअन्तर्गत विराटनगर रानी–तरहराको ३४ किलोमिटर दूरीमध्ये ३२ किलोमिटरमा कालोपत्रेको काम सकिएको छ । छ लेन सडक आयोजना इटहरीले रानी–धरानको ४९ किलोमिटर दूरीमध्ये दुहबी बजार क्षेत्रको दुई किलोमिटर र धरान बजार क्षेत्रको पाँच किलोमिटरबाहेक ८० प्रतिशत काम सम्पन्न भएको जानएको छ ।

तरहरा–धरानको १४ किलोमिटरमध्ये नौ किलोमिटरको कामसमेत धमाधम रहेको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो । २०६९/७० देखि सुरु भएको आयोजनाले सात किलोमिटर दूरीको ठेक्का सम्झौता अझै गर्न सकेको छैन । त्यो दुहबी बजार क्षेत्रको २ किलोमिटर र धरान बजार क्षेत्रको पाँच किलोमिटर हो । यदि यो दूरीमा ठेक्का सम्झौता भए आगामी दुई वर्षभित्रमा सबै काम सक्ने आयोजना प्रमुख शर्माको भनाइ छ ।
निर्माणाधीन सडकमा भारवहन क्षमताभन्दा बढी भार बोकेका सवारीको आवागमनको व्यवस्थापनसमेत उचित नभएको बताइन्छ । छ लेन सडकको केन्द्र भागको डिभाइडरबाट दायाँ–बायाँ तीन–तीन लेन विभाजित छ । त्यसमध्ये नालातर्फको एक लेन पार्किङमा प्रयोग गरिएको, त्यसपछि बीचको भागमा साना सवारी गुड्ने गरेको र सडकको केन्द्र भागबाट ठूला मालवाहक लगातार गुड्दा भासिएको शर्माको बुझाइ छ ।
“भारवहन क्षमता गाडीको एक्सलदेखि एक्सलसम्मको १० टन वजन हो,” शर्माले भन्नुभयो, “२० टन वजन भएका सवारी एउटै लेनमा गुडिरहेपछि भासिन र भत्किने समस्या दोहोरिएको छ । ” उहाँले यसका लागि सडकको पार्किङ हटाएर साना सवारीलाई गुड्ने क्षेत्र बनाउनुपर्ने, त्यसपछिको क्षेत्रमा ठूला मालवाहकलाई लेन तोकिनुपर्ने बताउनुभयो ।

सरकारको १० अर्ब ९८ करोड रुपियाँ लागतमा ४९ किलोमिटर रानी–धरान व्यापारिक मार्गको हाल ४२ किलोमिटरमध्ये ३२ किलोमिटर (रानी–तरहरा) सडक खण्डको कालोपत्रे सकिएको हो । तरहरा–धरान तीनकुनेसम्मको नौ किलोमिटरको काम धमाधम जारी रहेको छ ।
सुनसरीको दुहबीस्थित बूढीखोलाको पुलसहित सडक निर्माणको काम १५ वटा च्यानेजमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?