logo
२०८० चैत्र १६ शुक्रवार



विद्युत् पूर्वाधारमा क्षति

अर्थ |


विद्युत् पूर्वाधारमा क्षति


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ४ गते । कुबेलाको अविरल वर्षाले विद्युत् आपूर्तिका पूर्वाधारमा समेत क्षति पुगेको छ । सञ्चालनमा रहेका र निर्माणाधीन पूर्वाधारमा समेत क्षति पुग्दा सुदूरपश्चिम र पूर्वी नेपालको विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । सबस्टेसन, प्रसारण लाइन तथा वितरण लाइनमा क्षति पुग्दा विद्युत् आयोजनाहरू नै बन्द गर्नु परेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सुनसरीको दुहबीस्थित सबस्टेसन डुबानमा परेर बन्द भएका कारण प्रदेश १ का मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुरलगायतका जिल्लामा विद्युत् आपूर्ति बन्द भएको हो । उता सुदूरपश्चिममा पनि विभिन्न प्रसारण लाइनमा क्षति पुग्दा डडेल्धुरा, बैतडी, बझाङ, अछामलगायतका पहाडी जिल्लाको विद्युत् आपूर्तिसमेत बन्द भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन र अन्य ३३ तथा ११ केभी लाइनमा क्षति पुगेको छ । रूख ढलेर तार चुँडिने, पोलहरू ढल्ने बग्नेजस्ता क्षति भएकाले आपूर्ति अवरुद्ध भएको हो । यसले गर्दा दार्चुलामा रहेको ३० मेगावाटको चमेलियालगायतका जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत बन्द गरिएको छ । बझाङमा रहेको कलँगाढ जलविद्युुत्को पहुँच मार्ग तथा आयोजनामा समेत क्षति पुगेको जनाइएको छ । प्रसारण लाइन तथा वितरण लाइनमा विभिन्न स्थानमा क्षति भएकाले सबै मर्मत गर्न केही समय लाग्नेछ । त्यहाँको विद्युत् आपूर्ति सुचारु हुन केही दिन लाग्ने अनुमान प्राधिकरणको छ ।

यता दुहबी सबस्टेसन डुबानमा परेपछि अहिले त्यहाँबाट विद्यत् आपूर्ति हुने लाइन काटिएकाले पूर्वी नेपालको विद्युत् आपूर्ति बन्द भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले दमक–अनारमणि वैकल्पिक रुट प्रयोग गरेर दमकपूर्व इलामसम्म विद्युत् आपूर्ति सुचारु गरिएको छ । सुनसरी, विराटनगर, धरानलगायतका स्थानमा आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको घिसिङले जानकारी दिनुभयो । “सबस्टेसनमा बाढी नै पसेको छ । नियन्त्रण कक्ष नै डुबानमा परेको छ”, उहाँले भन्नुभयो, “पानी नरोकिए उपकरणहरूमा ठूलो क्षति पुग्ने देखिएको छ । अहिले सबस्टेसनभित्रको पानी हटाएर उपभोक्तालाई जतिसक्दो छिटो विद्युत् आपूर्ति उपलब्ध गराउन हाम्रो टिम प्रयासरत छ । ” दुहबी सबस्टेसन बन्द हुँदा काबेली कोरिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द गर्नु परेको छ । यसबाट काबेली कोरिडोरमा जोडिएका करिब १७० मेगावाटका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि बन्द गरिएको छ ।

सबस्टेसनमा खोला पस्यो
सुनसरीको भोक्राहानरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०÷१३२÷३३ केभी इनरुवा सबस्टेसनमा पनि बाढीले ठूलो क्षति पु¥याएको छ । निर्माण सकिनै लागेको सबस्टेसन क्षेत्रमा सुनसरी खोला नै छिरेको छ । आगामी पुसभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने (चार्ज) लक्ष्यसाथ दुवै सबस्टेसनको काम भइरहेको थियो । घिसिङका अनुसार सो क्षतिले अब निर्माण सम्पन्न अवधि नै पछि धकेलिने देखिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?