logo
२०८० चैत्र १५ बिहीवार



कार्तिक स्नान, तुलसीको विशेष पूजा, आकाशदीप दान शुरु

खुला |


कार्तिक स्नान, तुलसीको विशेष पूजा, आकाशदीप दान शुरु


काठमाडौँ, कात्तिक ३ गते । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाश दीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजाआराधना, आकाश दीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाश दीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाश दीपदान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घर–घरमा विशेषरुपमा तुलसी पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसीको विशेष पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिएको छ । आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने मङ्गलबार राति नै मनाइएको थियो । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायङ्कालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान, आकाश दीपदान र तुलसीको विशेष पूजा आराधना सुरु गर्नुपर्ने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?