logo
२०८१ बैशाख ११ मंगलवार



ऋण एकको नाममा पैसा अर्कैको खातामा

अर्थ |


ऋण एकको नाममा पैसा अर्कैको खातामा
ऋणी रामबाबु प्रसाद जैसवाल । तस्बिर : शिवशंङ्कर मिश्र


कलैया समाचारदाता

बारा, कात्तिक २ गते । बैङ्कको लापरवाहीका कारण ऋणको रकम ऋणीको खातामा नपठाई अरूकै खातामा बैङ्कले पठाइएको छ । राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय कलैयाले कर्जाबापत राखेको सुन, चाँदी कर्जा रु. एक लाख रुपियाँ अरूको खातामा पठाएको पीडितले जनाउनुभएको छ ।
बाराको महागढीमाई नगरपालिका–१० गञ्जभवानीपुरका रामबाबुप्रसाद जैसवालले घरखर्चका लागि राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय कलैयाबाट असोज ६ गते सुन–चाँदी राखेर रु. एक लाख कर्जा लिए पनि कर्जाको रकम अरूको खातामा बैङ्कले पठाएको हो ।
बैङ्कका कर्जा फाँटका कर्मचारीको लापरवाहीका कारण सो रकम सुवर्ण गाउँपालिका–४ हर्दिया टोलका अर्का रामबाबुप्रसादको खातामा सो रकम पठाइएको हो ।

पीडित रामबाबुले भन्नुभयो, “असोज ६ गते गहना राख्दा मोबाइलमा सन्देश आएपछि रकम निकाल्नुहोला भनिएको थियो । ९ गतेसम्म सन्देश आएन । १० गते दाजुको मृत्यु भयो । दाइको श्राद्धकर्म सकिएपछि असोज २६ गते राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय गन्जभवानीपुरमा रकम निकाल्न जाँदा खातामा रकम नआएको जानकारी भयो । ”

पछि राष्ट्रिय वाणिज्य बैङ्क कलैया शाखामा बुझ्दा सो रकम आफ्नो खातामा नआई अरूको खातामा गएको र त्यसले सो रकम झिकेर खर्चसमेत गरिदिएकाले सो रकम लिन एक महिनादेखि बैङ्कमा धाउनु परेको उहाँले गुनासो गर्नुभयो ।
यता प्राविधिक कारणवश रामबाबुप्रसाद जैसवालको खातामा नभई अर्का रामबाबुप्रसादको खातामा सो रकम रकमान्तर भएको राष्ट्रिय वाणिज्य बैङ्क कलैया शाखाका प्रबन्धक विवेककुमार श्रीवास्तवले स्वीकार गर्नुभयो । एक÷दुई दिनमा त्यो व्यक्तिले रकम दिएपछि ऋणी जैसवालको रकम दिने उहाँले जानकारी दिनुभयो ।


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?