logo
२०८१ बैशाख ४ मंगलवार



होटल व्यवसायीको खुसी फर्कंदै

अर्थ |


होटल व्यवसायीको खुसी फर्कंदै
तस्विर–फाइल


कोकिला ढकाल

इलाम, असोज २३ गते । कोभिड–१९ का कारण झन्डै दुई वर्ष थलिएका इलामका होटल दशैँ नजिकिँदै गर्दा भरिभराउ हुन थालेका छन् । कोभिड सङ्क्रमणदर न्यून हुँदै गएपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको होटल व्यवसायी बताउँछन् ।
सरकारले तय गरेको भ्रमण वर्ष–२०२० लाई लक्षित गरी इलाममा करोडौँ रुपियाँ खर्चेर नयाँ–नयाँ होटलसमेत सुरु भएका थिए तर कोभिडका कारण बन्दाबन्दीको अवस्था आएपछि धराशयी बनेका होटललाई यस वर्षको दशैँ नजिकिँदै गर्दा केही सहज हुन थालेको सदरमुकामस्थित ग्रिन सिटी होटल सञ्चालक शारदा पराजुलीले बताउनुभयो । “गत वर्ष र यो वर्ष कोभिडका कारण पाँच÷पाँच गरी १० महिना त होटल बन्द नै गर्नुप¥यो”, पराजुलीले भन्नुभयो, “१० महिना बन्द हुँदा होटललाई त्यही अवस्थामा टिकाउन व्यवसायीलाई धेरै समस्या भयो, अब केही सहज भएको छ । ”
सदरमुकामका अधिकांश ठूला होटलमा दैनिक १५ जनासम्म पाहुना आएर बस्ने गरेका छन् । आउँदो दशँैसम्म नै होटलहरू बुकिङ भइरहेको ग्रिन भ्यु होटलका व्यवस्थापक डम्बर सापकोटा बताउनुहुन्छ ।
सदरमुकामसहित अन्तु, कन्याम, सन्दकपुरलगायतका पर्यटकीय स्थलमा रहेका होटल, कटेज र होमस्टेहरूमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको होटल एसोसिएसन इलामले जनाएको छ । सन् २०२० मा पर्यटन वर्ष मनाउन तय गरेको कार्यक्रम लक्षित गरी इलाममा एक करोडदेखि १३ करोड रुपियाँसम्म खर्च गरेर सुविधासम्पन्न होटल सुरु भएका थिए ।
एसोसिएसन इलामका अध्यक्ष देवी पौड्यालले भन्नुभयो, “कोभिडले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउँदा लगानीकर्ताले ठूलो रूपमा आर्थिक क्षति बेहोर्नु प¥यो । केही व्यवसायी व्यवसायबाटै विस्थापित भए, अबचाहिँ केही सहज स्थिति बनेको छ । ” इलाम हुँदै ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गर्न जाने भक्तजनका कारण पनि इलाममा पर्यटकको बसाइ राम्रो हुने गरेको बताइएको छ । जिल्लामा ठूला होटल ६०, मझौला होटल २०० र साना होटल १९० वटा रहेको एसोसिएसनको तथ्याङ्क छ । यी होटलमा दैनिक ७२ लाख रुपियाँभन्दा बढीको कारोबार हुने गरेको जनाइएको छ ।
उता इलाम भित्रिने पर्यटकले निकै रुचाउने पर्यटकीय क्षेत्र अन्तुमा पनि पर्यटकको चहलपहल बाक्लिएको छ । दैनिक २०० भन्दा बढी पर्यटक अन्तु पुग्ने गरेका छन् । बिदाको दिन तथा शुक्रबार, शनिबार भने दैनिक ८०० पर्यटक अन्तु आउन थालेको स्थानीय पर्यटन व्यवसायी रुद्र घिमिरेले बताउनुभयो । सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध अन्तुमा दशैँसम्म नै होटल, कटेज र होमस्टे बुकिङ हुन थालेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?