logo
२०८१ बैशाख ११ मंगलवार



मासुको मूल्य स्थिर रहने ,खसीबोकाको स्वास्थ्य परीक्षण सुुरु

अर्थ |


मासुको मूल्य स्थिर रहने ,खसीबोकाको स्वास्थ्य परीक्षण सुुरु


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २२ गते । दशैँमा मासुको मूल्य स्थिर रहने गरी मूल्य निर्धारण भएको छ । मासु व्यवसायीहरूले दशैँमा बढी खपत हुने मासुुको मूल्य सार्वजनिक गरेका छन् । राष्ट्रिय मासु व्यवसायी सङ्घले दशैँका लागि भन्दै काठमाडौँ उपत्यकासहित देशभरका लागि मूल्य सार्वजनिक गरेको छ ।
सङ्घका अध्यक्ष रमेश खड्गीका अनुसार खसीको मासुको तीन थरी मूल्य निर्धारण गरिएको छ । जसमा आन्द्रा भँुडी राखिएको मासुको मूल्य प्रतिकेजी एक हजार, बोसो मिसिएको मासु प्रतिकेजी एक हजार २०० र ग्राहकले आफ्नो रोजाइअनुसार छानीछानी मासु खरिद गर्दा एक हजार ३०० रुपियाँ मूल्य तोकिएको हो ।
यस्तै सङ्घले राँगा तथा बङ्गुरको मासु प्रतिकेजी ५०० र कुखुराको मासुको मूल्य ३०० रुपियाँ तोकेको छ । खड्गीले देशभरका लागि मासुको मूल्य निर्धारण भएको भन्दै बढी लिने व्यवसायीलाई कारबाही हुने बताउनुुभयो ।
उहाँले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको सल्लाहमा दशैँका लागि मासुको मूल्य निर्धारण गरेको भन्दै दशैँमा खसीबोका र राँगाको मूल्य यथावत् रहने र बढी मूल्य लिनेलाई कारबाही हुने बताउनुुभयो ।
सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत वर्षको तुलनामा यस वर्ष खसीबोकाको मूल्य बढेको जानकारी दिएको छ । कम्पनीको काठमाडौँमा बिक्री वितरण गर्न दाङ र हेटौँडामा खसीबोका खरिद गत वर्षभन्दा महँगो परेको जनाएको छ ।
कम्पनीका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिउँदो खसीको मूल्य प्रतिकेजीमा १५ रुपियाँसम्म बढेको छ । कम्पनीका अनुसार दाङमा २५ केजीदेखिमाथिका खसीको मूल्य प्रतिकिलो ५६५ रुपियाँ र २० देखि २५ केजीका खसी प्रतिकेजी ५५०, बोकाको ५४५ रुपियाँ निर्धारण गरिएको छ ।

स्वास्थ्य परीक्षण थालियो
काठमाडौँ महानगरका चौपाया बजारमा आइसकेका खसीबोका, च्याङ्ग्राको परीक्षण सुुरु भएको छ । काठमाडौँ महानगरपालिका, पशु सेवा विभाग र बागमती प्रदेशको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्यमा बिहीबारदेखि परीक्षण एवं अनुगमन सुुरु भएको हो ।
विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठ, महानगर वडा नं. १४ का अध्यक्ष शोभा सापकोटाले निरोगी खसीको सिङमा हरियो रङ लगाएर परीक्षणको थालनी गर्नुुभयो । पशु सेवा विभागका महानिर्देशक डा. श्रेष्ठले दशैँमा अन्य बेलाभन्दा धेरै मासु खपत हुने भएकाले समूह बनाएर बिहीबारदेखि चौपाया बजारमा आएका पशुुको परीक्षण सुुरु गरिएको बताउनुुभयो ।
महानगरको पशु सेवा महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाका अनुसार पहिले खसीबोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरिनेछ । स्वस्थ पशुुको सिङमा हरियो रङ र बिरामी वा मासुु खान अयोग्य भेटिएको पशुुको सिङमा रातो रङ लाइनेछ । आवश्यकताका आधारमा यसरी बिरामी भेटिएका चौपायाको नमुना सङ्कलन गरेर परीक्षण पनि गरिने उहाँको भनाइ छ ।
महानगरभित्रका दशैँ लक्षित चौपाया बजार कलङ्की, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु बाइपास क्षेत्र हुन् । महानगरका पशु विकास अधिकृत डम्बरबहादुर बमका अनुसार यी बजारमा बिहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोलीले बजारमै रहेर नियमित अनुुगमन गर्नेछ ।
काठमाडौँ महानगरसँगै ललितपुरको लगनखेल, भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरिे (थानकोट)को चौपाया बजारमा परीक्षण भइरहेको छ ।

महँगियो च्याङ्ग्रा
चीन सरकारले निर्यातमा रोक लगाउँदा नेपालमा च्याङ्ग्राको मूल्य उच्च भएको छ । कोभिड–१९ महामारीपछि चीनबाट च्याङ्ग्रा आयात नहुँदा नेपाली बजारमा मूल्य बढेको हो । यस वर्षको दशैँमा एउटा जिउँदो च्याङ्ग्राको मूल्य औसतमा ४० हजार रुपियाँसम्म पुग्ने व्यवसायीले अनुमान गरेका छन् ।
पहिला एउटा जिउँदो च्याङ्ग्राको मूल्य २५ हजारदेखि ३० हजार रुपियाँ पर्ने गरेको थियो । गत वर्ष च्याङ्ग्राको तयारी मासु प्रतिकिलो एक हजार ८०० देखि दुुई हजार रुपियाँसम्म बिक्री भएकामा यो वर्ष अझै बढ्ने बताइएको छ ।
दशैँमा करिब चार हजार ५०० च्याङ्ग्रा उपत्यकामा उपलब्ध गराउने व्यवसायीको योजना छ । सोहीअनुसार पहिलो चरणमा ल्याइने च्याङ्ग्रा मुस्ताङबाट हिँडिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?