logo
२०८० चैत्र १६ शुक्रवार



दशैँलाई नेपालकै लुगा !

दुई गुणासम्म बढ्यो स्वदेशी कपडाको बजार उपलब्ध छन् दुई दर्जन ब्रान्ड कोभिडपछि खुले दुई हजार उद्योग

अर्थ |


दशैँलाई नेपालकै लुगा !


विश्वास रेग्मी

काठमाडौँ, असोज १४ गते । दशैँलाई लक्षित गर्दै असारमै चीनबाट कपडा माग गरे पनि व्यापारी सुदर्शन घिमिरेको कपडा लिएर आएको कन्टेनर एक महिनादेखि केरुङ नाकामै अड्किएको छ । मागबमोजिम आफ्नो सामान नआए पनि घिमिरेलाई यस पटक खास चिन्ता भने छैन । थोक कपडा व्यापारका लागि देशकै ठूलोमध्येको रञ्जना मलस्थित घिमिरेको श्वेत वराह इन्टरप्राइजेजमा व्यापार निरन्तर नै चलिरहेको छ । पछिल्ला दिनमा बढेको दशैँको चापले उहाँसहितका व्यापारीको व्यस्तता पनि बढाएको छ ।
चीनबाट कपडा नआए पनि स्वदेशमै उत्पादित कपडाले साथ दिइरहेको घिमिरेको भनाइ छ । “मेरो कपडा व्यापारमध्ये ७० प्रतिशत अहिले नेपाली उत्पादन नै छ,” उहाँले भन्नुभयो, “बाँकी ३० प्रतिशत मात्र चिनियाँ कपडा छ । ” उहाँका अनुसार चिनियाँ कपडा पनि वैशाखमा आयात गरेमध्येको बाँकी मात्र हो । आफ्नो सामान बोकेको कन्टेनर दशैँअघि नआए पनि स्वदेशी कपडाले नै धान्न सक्ने उहाँको विश्वास छ । घिमिरे मात्र हैन, चीनबाट कपडा आयात नहुँदा यतिबेला धेरै व्यापारीलाई स्वदेशमै उत्पादन भएको कपडाले साथ दिइरहेको छ । दशैँको माहोल सुरु हुनासाथ चिनियाँ कपडाले भरिभराउ हुने नेपाली बजारमा यस पटक स्वदेशी कपडाको हिस्सा बढेको छ ।
कपडाका ४२२ वटा थोक पसल रहेको रञ्जना मलकै समग्र व्यापारमा पछिल्लो समय नेपाली कपडाको हिस्सा बढिरहेको रञ्जना व्यापार सङ्घका महासचिव रामकुमार तिमल्सिना बताउनुहुन्छ । “विगतमा ५ देखि ७ प्रतिशत मात्र नेपाली कपडाको व्यापार हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले कुल व्यापारमा यसको हिस्सा बढेर २५ प्रतिशतसम्म पुगेको छ । ”
नेपाली कपडाको हिस्सा बढ्दा चीनतर्फबाट कन्टेनर नआउँदा व्यापारमा धेरै समस्या नभएको उहाँको अनुभव छ । “विगतमा एकै दिन १५० वटासम्म कन्टेनर चीनबाट आउँथ्यो,” उहाँले भन्नुभयो, “तर अहिले दिनमा बढीमा २० वटा मात्र आउँदा पनि व्यापार रोकिनु परेको स्थिति भने छैन । ”
कपडा व्यापार छाडेर चार वर्षदेखि कपडा उत्पादनमा लाग्नुभएका थ्रेड गार्मेन्टका सञ्चालक कृष्णराज तिमल्सिना पनि नेपाली कपडाको खपत यस पटक दुई गुणाले बढेको बताउनुहुन्छ । “गुणस्तरमा चीन र भारतको उत्पादनभन्दा पनि राम्रो अनि मूल्य त्यहाँको भन्दा सस्तो भएकाले पनि नेपाली कपडाको बजार बढेको छ,” उहाँले भन्नुभयो । उहाँकै लगानीमा सञ्चालित थे्रड गार्मेन्टबाट अहिले पूर्ण क्षमता अर्थात् दैनिक पाँच हजार थान कपडा उत्पादन भइरहेको छ । माग बढ्दा उत्पादन क्षमता पनि बढाउने योजनामा पनि उहाँ हुनुहुन्छ ।
तयारी पोसाक उत्पादन गर्ने उत्पादकहरूको संस्था नेपाल तयारी पोसाक उद्योग सङ्घका सचिव पशुपतिदेव पाण्डेका अनुसार कपडा उद्योगीका लागि यस वर्ष उत्साहजनक परिस्थिति सिर्जना भएको छ । विगतको तुलनामा नेपाली कपडाको बजार हिस्सा ५ प्रतिशतबाट बढेर १५ प्रतिशतभन्दा माथि पुगेको उहाँको भनाइ छ । आयातमा भएको अवरोधका कारण नेपाली कपडाको व्यापार बढेको भए पनि यसलाई कायम गर्दै अझ विस्तार गर्न सकिने सम्भावना खोलेको उहाँले बताउनुभयो । “अब कसरी हुन्छ सरकारले कपडा उद्योगलाई प्रवद्र्धन गर्नुप-यो,” उहाँले भन्नुभयो ।

दुई दर्जनभन्दा बढी ब्रान्ड
नेपाली कपडाको बजार मात्रै विस्तार भएको छैन, नेपाली स्वयंले सुरु गरेका कपडाका ब्रान्ड पनि अहिले रोजाइमा पर्न थालेका छन् । कपडा उद्योगीका अनुसार अहिले देशमा दुई दर्जनभन्दा बढी स्वदेशी ब्रान्डका कपडा प्रचलित छन् । प्रचलित ब्रान्डहरूमा डेनिम, थे्रड गार्मेन्ट, नोभेम्बर, डा. डेनिम, लेभल, पोइजन, क्याप्सुलनाइन, ३६५ लगायतका छन् । नेपाली कपडाको गुणस्तर भारतीय र चिनियाँको तुलनामा राम्रो भएकाले आजकल नेपाली ब्रान्डकै नाम तोकेर कपडा खरिद गर्नेको सङ्ख्या बढिरहेको व्यापारीहरू बताउँछन् । यसले विगतमा चल्तीका विदेशी ब्रान्डका लोगो राखेर कपडा बेच्ने प्रवृत्तिले उपभोक्ता ठगिनुपर्ने अवस्थाको समेत अन्त्य हुँदै गएको छ ।

कोभिडपछि खुले दुई हजार उद्योग
नेपाल तयारी पोसाक उद्योग सङ्घका अनुसार कोभिड–१९ सङ्क्रमण घट्दै गएको परिस्थितिपछि देशभर दुई हजारभन्दा बढी कपडा उद्योग खुलेका छन् । सङ्घका सचिव पाण्डेका अनुसार साना ठूला सबै गरेर करिब दुई हजार नयाँ उद्योग सञ्चालनमा आएका छन् ।
“पाँचदेखि १५० वटासम्म मेसिन राखेर देशैभर नयाँ उद्योग खुलेका छन्,” उहाँले भन्नुभयो । कोभिडअघि कपडा निर्यात गर्ने ८० वटा उद्योग सञ्चालनमा थिए भने आन्तरिक खपतका लागि उत्पादन गर्ने उद्योगको सङ्ख्या करिब ५० मात्रै थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?