logo
२०८१ बैशाख ८ शनिवार



रेबिजविरुद्ध सचेतनाको खाँचो

खुला |


रेबिजविरुद्ध सचेतनाको खाँचो


सरोज ढुङ्गेल

काठमाडौँ, असोज १२ गते । ठिमी चित्रपुरमा केही दिनअघि एकै रात एउटै कुकुरले १३ मानिसलाई टोकेको थियो । त्यो कुकुरलाई स्थानीयवासीले लखेटी–लखेटी मारेपछि सबैले खोप पनि लगाएका थिए ।
पछिल्लो समय कुकुरले टोकेर खोप लगाउन आउनेको सङ्ख्या टेकु अस्पतालमा बढ्दै गएको छ । कुकुरलगायत पशुपन्छीको टोकाइबाट टेकु अस्पतालमा दैनिक १५० जनासम्म मानिस खोप तथा उपचारका लागि जाने गरेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार कुकुरले टोकेर दैनिक १५० जनासम्म मानिस खोप लगाउन आउने गरेका छन् । उहाँले महिनामा एकदेखि तीन जनासम्म व्यक्तिको रेबिजका कारण मृत्यु हुने गरेको जानकारी दिनुभयो । घरमै पालेको कुकुरले टोकेको हो नि भनेर हेलचेक्य्राइँ गर्दा र समयमै भरपर्दो अस्पताल गई खोप नलगाउँदा रेबिजका कारण मृत्युसमेत हुने गरेको डा. बास्तोलाले बताउनुभयो । उहाँले कुकुरले टोक्यो भन्दा सुई लगाउनुपर्छ भन्ने डरले समेत बालबालिकाले अभिभावकलाई टोकाइबारे जानकारी नदिँदा रेबिजका कारण मृत्यु हुने गरेको बताउनुभयो ।
उहाँले रेबिजका कारण मानिसको मृत्यु हुनु अत्यन्त दुःखद भएको र यसबारे व्यापक जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो । काठमाडौँलगायतका सहरी क्षेत्रमा छाडा कुकुर अत्यधिक हुने गरेको र तिनको व्यवस्थापनमा नगरपालिकाले ध्यान दिनुपर्ने धारणा उहाँको छ । त्यसरी छाडा छाडिएका कुकुरलाई रेबिजविरुद्धको सुई लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पहिले–पहिले खोप अभावले वा खोपको बारेमा थाहा नभएर रेबिजबाट मानिसको मृत्यु हुने गरे पनि अहिले जनचेतनाको कमी र हेलचेक्य्राइँका कारण मृत्यु हुने गरेको बताउनुभयो ।
जङ्गली जनावरसँगको सम्पर्कमा पुगेका कुकुरमा रेबिज भाइरस सङ्क्रमण हुने र त्यस्ता कुकुरले मानिसलाई टोक्दा रेबिज सर्ने डा. पुनको भनाइ छ । घरमा पालेको वा कुकुरको छाउराले टोकेको त हो भनेर लापरबाही गर्न नहुने सुझाव उहाँको छ । रेबिजको लक्षण अलि तर्सिने खालको हुने भएकाले झारफुकमा विश्वास गर्दासमेत रेबिज सङ्क्रमितको मृत्यु हुने गरेको उहाँले बताउनुभयो । धामीझाँक्रीलाई पनि रेबिजबारे तालिम दिनसके उनीहरूमार्फत तुरुन्त स्वास्थ्य चौकीसम्म सङ्क्रमितलाई लान सकिने सुझाव उहाँको छ । मङ्गलबार विश्व रेबिजविरुद्धको दिवस पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?