logo
२०८१ बैशाख ४ मंगलवार



विद्यार्थीलाई विदेश पठाउन निर्देशन

शिक्षा |


विद्यार्थीलाई विदेश पठाउन निर्देशन


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ११ गते । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले उच्च शिक्षा अध्ययनका लागि प्रवेशाज्ञा प्राप्त गरी विदेशी विश्वविद्यालयमा शुल्क पठाइसकेका विद्यार्थीलाई सम्बद्ध देशमा पठाउन आवश्यक व्यवस्थाका लागि सरकारलाई निर्देशन दिएको छ । कोभिड–१९ महामारीका कारण सबै प्रक्रिया पूरा गरे पनि कतिपय विद्यार्थी विदेश जान पाएका छैनन् ।
समितिका सभापति जयपुरी घर्ती मगरको अध्यक्षतामा बसेको बैठकले विशेष गरी चीन र भारतमा यस खालको समस्या देखिएको त्यसलाई सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ । बैठकले चीनमा अध्ययन गर्न गएका विद्यार्थी कोभिड–१९ का कारण नेपालबाट अनलाइन माध्यमबाट कक्षा सञ्चालन भइरहेको अवस्थामा सरकारले कूटनीतिक पहलको माध्यमबाट चीनमा पठाउन पहल गर्नुपर्ने निचोड निकालेको छ । तत्काल विद्यार्थी पठाउन नसक्ने अवस्था सिर्जना भएमा चिकित्साशास्त्र र इन्जिनियरिङ विषयमा पढ्ने विद्यार्थीलाई प्रयोगात्मक परीक्षा गर्न समस्या भएकोले त्यसको उपाय खोज्नका लागि निर्देश गरिएको छ । साथै नेपाल मेडिकल काउन्सिलले चीनमा सन् २०१४ मा अध्ययन पूरा गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसीप गर्न स्वीकृति दिएको भए पनि सन् २०१५ र २०१६औँ ब्याजका विद्यार्थीलाई पनि नेपालमै इन्टर्नसीपको व्यवस्था गर्नुपर्ने विषयमा समेत सरकारलाई निर्देश गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?