logo
२०८१ बैशाख ७ शुक्रवार



अन्तःशुल्कका कारण डन्डी उद्यमी विभाजित

अर्थ |


अन्तःशुल्कका कारण डन्डी उद्यमी विभाजित


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २९ गते । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको संशोधित आर्थिक ऐनमा आयातित बिलेटमा लाग्ने अन्तःशुल्कसमेत बढाउने निर्णय गरेपछि डन्डी उद्योगीहरू विभाजित भएका छन् ।
बिलेट ल्याएर डन्डी उत्पादन गर्ने उद्योगीहरूले सोमबार पत्रकार सम्मेलन गरी बिलेटमा लगाइएको अन्तःशुल्कले उद्योग धराशयी हुने र सुरक्षामा पनि समस्या हुने जनाए । त्यसपछि नेपाल रोलिङ मिल्स एसोसिएसनले त्यो पत्रकार सम्मेलनमा व्यक्त विचार भ्रम सिर्जना गर्ने रहेको जनाएको छ । एसोसिएसनको नाममा त्यस्ता गतिविधि नगर्न र कसैले पनि सोबारे भ्रामक धारणा नबनाउन अनुरोध गर्दै विज्ञप्ति जारी गरेको छ ।
सरकारले शुक्रबार ल्याएको संशोधित आर्थिक ऐनमा पत्रु पगालेर फलामे छड उत्पादन गर्ने र सोमा मिसाउन चाहिने कच्चा पदार्थ (स्पन्ज आइरन) पैठारी गर्दा शून्य प्रतिशत भन्सार र शून्य प्रतिशत नै अन्तःशुल्कको व्यवस्था गरेको थियो ।
सोझै बिलेट आयात गर्दा ४.७५ प्रतिशत भन्सार र एक हजार ६५० रुपियाँ प्रतिमेट्रिक टनबाट बढाएर दुई हजार ५०० रुपियाँ अन्तःशुल्क लाग्ने रोलिङ मिल्स एसोसिएसन नामबाट सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो ।
पत्रकार सम्मेलनमा साःख स्टिल इन्डस्ट्रिज, पञ्चकन्या स्टिल, हामा आइरन एन्ड स्टिल इन्डस्ट्रिज, प्रिमियर स्टिल, हिमाल आइरन एन्ड स्टिल, सिद्धिलक्ष्मी स्टिल, जगदम्बा इन्टरप्राइजेजबाट प्रतिनिधित्व थियो ।
सरकारले आयात प्रतिस्थापन गर्ने भन्दै स्टिल उद्योगले उत्पादन गर्ने बिलेटका लागि आवश्यक कच्चा पदार्थ आयातमा कर सहुलियत दिने र सीधै बिलेट आयात गर्दा लाग्ने अन्तःशुल्क बढाउने कुराले अहिले सञ्चालनमा रहेका ३० वटा फलाम उद्योगमध्ये छवटा स्टिल उद्योगलाई मात्रै फाइदा हुने बताएका छन् ।
एसोसिएसनको नामबाट साँझ जारी अर्को विज्ञप्तिमा सरकारले बजेटमार्फत डन्डी बनाउन चाहिने बिलेट स्वदेशमा नै उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्पन्जको भन्सार शून्य गर्नुले देशभित्रै उद्योगहरूले लगानी विस्तार गरेर बिलेट उत्पादन गर्दै आत्मनिर्भरको बाटोमा अग्रसर हुने दाबी गरिएको छ ।
पत्रकार सम्मेलनमा भने पत्रु पगालेर डन्डी उत्पादन गर्दा पर्यावरणमा असर पर्ने भन्दै सङ्घले चीनमा यस्तो प्रविधिलाई बन्द गरिएको छ भने भारतमा यस्ता उद्योगलाई कडा निगरानीमा राखिएको जनाएको छ ।
स्पन्ज आइरनबाट डन्डी बनाउँदा बिजुली खपत र रोजगारी बढे पनि ९० देखि ९५ प्रतिशत रोजगारी पाउने वैदेशिक नागरिक मात्र हुने र उद्योग सञ्चालन गर्न भविष्यमा पनि वैदेशिक नागरिक नभई नहुने तथा यस प्रविधिबाट डन्डी बनाउँदा धेरै मात्रामा जोखिम हुँदा कामदार दुर्घटनामा पर्ने, जनधनको क्षति हुने हुँदा कामदारको हितविपरीत रहेको रोलिङ मिल्स एसोसिएसनका उपाध्यक्ष किरण साःखले बताउनुुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?