logo
२०८१ बैशाख १२ बुधवार

   अन्योलमा पाइपलाइन   



फाइल छ महिनादेखि मन्त्रिपरिषद्मा

अर्थ |


फाइल छ महिनादेखि मन्त्रिपरिषद्मा


लक्ष्मण दर्नाल

काठमाडौँ, भदौ ८ गते । पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल देखिएको छ । नेपाल आयल निगमले २०७७ माघमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे स्वीकृतिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको थियो तर हालसम्म पनि थप काम अघि बढ्न सकेको छैन ।

मन्त्रालयले भने छ महिनाअघि नै निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको तर त्यहाँबाट केही निर्णय नभएको जनाएको छ । मन्त्रालयकी उपसचिव तथा सहायक प्रवक्ता उर्मिला केसीले भन्नुभयो “मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको हो स्वीकृत भएको छैन, स्वीकृति भएपछि काम अघि बढ्छ । ”

मन्त्रालयको नेतृत्व गर्ने बेग्लै मन्त्री नियुक्त नहुँदा अहिले निर्णय गर्न समस्या भएको अनुमान गरिएको छ । उहाँले नेपाल र भारतबीच सरकारी स्तरमा काम हुने जानकारी दिँदै अब विभागीय मन्त्री आएपछि अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय महìवको योजना भए पनि यसअघिको मन्त्रिपरिषद्ले प्राथमिकता नदिँदा काममा ढिलाइ भएको हो ।
सिलगुढी–झापा पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे पनि निगममै थन्किएको छ । दुवै पाइपलाइन आयोजनाहरू अन्योलजस्तै भएका छन् । पाइपलाइन निर्माण र भण्डारणको डिटेल इन्जिनियरिङ सर्भे र डिजाइन तयार भएको निगमले जनाएको छ ।

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त प्राविधिक अध्ययन समूहले सो सर्भे सम्पन्न गरेको थियो । सर्भेपछि परियोजनाको प्रारम्भिक चरण सम्पन्न भएको निगमको दाबी थियो तर पछिल्लो चरणमा काम अघि बढ्न सकेको छैन । पेट्रोलियम पाइप लाइनका आयोजनाको निर्माण प्रक्रिया अघि बढ्ने क्रममा रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
सर्भेले झापाको चारआलीदेखि मेची भन्सार हुँदै भारतीय सीमासम्मको नेपालतर्फको १५ किलोमिटर पाइपलाइनको रुट पहिचान गरेको थियो । पूर्वपश्चिम राजमार्ग र मेची राजमार्ग हुँदै पाइपलाइन बिच्छ्याइने गरी रुट पहिचान गरिएको थियो । संयुक्त अध्ययन समूहले पेट्रोलियम पदार्थ भण्डारण स्थलको पनि लेआउट तयार गरेको छ ।

कार्यकारी निर्देशक पौडेलले भन्नुभयो “अमलेखगञ्ज–लोथरको सर्भे मन्त्रालयमा पठाएका छाँै, झापा चारआलीको पाइपलाइनमा भारततर्फ भारतले लगानी गर्ने भएकाले लगानीको मोडालिटी बनाउँदै छौँ, आपूर्ति मन्त्रालयमा मन्त्री आइसकेपछि काम अघि बढाउँछौँ । ”
निगमका अनुसार चारआलीमा निर्माण हुने पेट्रोलियम पदार्थको भण्डारको लेआउट तयार भएको छ । पाइप लाइनको सर्भे सम्पन्न गरी डीपीआर तयार हुने चरणमा पुगेको छ । पाइपबाट आएको पेट्रोलियम पदार्थलाई चारआलीमा भण्डारण गरिनेछ ।
कुल ४१ हजार ६५० किलोलिटर क्षमताको पेटोलियम पदार्थ भण्डारण निर्माण हुनेछ । जसमा १२ हजार किलोलिटर पेट्रोल, २८ हजार किलोलिटर डिजेल, चार सय किलोलिटर मट्टितेल र १२ सय किलोलिटर हवाई इन्धन भण्डारण क्षमताको निर्माण गरिने छ । यो प्रदेश नम्बर १ लाई ९० दिनसम्म पुग्ने पेट्रोलियम पदार्थको भण्डारण हो ।

भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म सञ्चालन भएको पेट्रोलियम पाइप लाइनलाई चिवतनको लोथरसम्म विस्तार गर्न सर्भे भएको हो । ६५ किलोमिटरको सो पाइपलाइन विस्तारका लाग सरकारले आर्थिक वर्ष ०७७/७८ को वार्षिक बजेटमा बजेट विनियोजन गरेको थियो । चितवनको लोथरसम्म विस्तार गर्न नेपाल र भारतबीच समझदारी भएको थियो । सर्भे सकिएपछि संयुक्त कार्य समूहले डीपीआरलगायत आयोजनाको मोडालिटीबारे छलफल गर्ने निगमले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?