logo
२०८० चैत्र १६ शुक्रवार



सुर्खेत–कोहलपुर प्रसारण लाइन निर्माण सुरु: दुई वर्षभित्र सक्ने लक्ष्य

अर्थ |


सुर्खेत–कोहलपुर प्रसारण लाइन निर्माण सुरु: दुई वर्षभित्र सक्ने लक्ष्य


ललित बसेल

सुर्खेत, भदौ २ गते । सुर्खेत–कोहलपुर १३२ केभी विद्युत् प्रसारण लाइन निर्माणको औपचारिक काम सुरु भएको छ । मङ्गलबार बाँकेको कोहलपुरमा टावरको जगको शिलान्यास गरेर औपचारिक रूपमा काम थालिएको हो ।
सुर्खेतदेखि कोहलपुरसम्मको सर्वेलगायतको काम एक वर्षदेखि भए पनि निर्माणको औपचारिक काम भने मङ्गलबारदेखि सुरु भएको सुर्खेत–कोहलपुर १३२ केभी प्रसारण लाइन आयोजनाले जनाएको छ । आयोजना प्रमुख रविकुमार चौधरीले जग निर्माणको काम सुरु भएको जानकारी दिनुभयो । एक वर्षअघि अन्य काम जारी राखिएको र जग निर्माणको काम बाँकेको कोहलपुरबाट सुरुवात गरिएको उहाँको भनाइ छ । दुई वर्षभित्र काम सकेर सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन पु¥याइने दाबी उहाँको छ ।
उहाँका अनुसार एक वर्षअघि नै रुख कटान, व्यक्तिको जग्गाको मुआब्जा दिनेलगायतका सर्वे गरेर मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको छ । आयोजना प्रमुख चौधरीले मन्त्रालयले पनि मन्त्रिपरिषद् बैठकमा पठाएको र त्यहाँबाट पास भएपछि काम थाल्ने बताउनुभयो । आयोजनामा कोहलपुरदेखि सुर्खेतसम्म १३ हजार रुख काट्नुपर्नेछ । उक्त प्रसारण लाइनमा ९० प्रतिशत वन क्षेत्र भएकाले वन मन्त्रालय र मन्त्रिपरिषद्ले पास गर्नुपर्ने हुन्छ ।

आयोजना प्रमुख चौधरीले ९० प्रतिशत वन क्षेत्र र १० प्रतिशत व्यक्तिका जग्गा पर्ने हुँदा मुआब्जा वितरणको पनि काम जारी राखिने बताउनुभयो । उहाँका अनुसार मुआब्जा वितरणका लागि उपसमिति गठन भएको छ । मुआब्जा वितरणको काम पनि छिट्टै सुरु हुनेछ ।
वन क्षेत्र र व्यक्तिका जग्गा नपरेका ठाउँमा भने लाइनको काम भइरहेको आयोजना प्रमुख चौधरीले बताउनुभयो । कोहलपुरदेखि सुर्खेतसम्म १६१ वटा टावर पोल राखिनेछ । ती सबै पोल भारतबाट ल्याइनेछ । लाइनका लागि ७० करोड बजेट छ । दुई वर्ष काम सक्ने लक्ष्य आयोजनाले लिएको छ । आयोजना प्रमुख चौधरीले काममा कुनै व्यवधान नआएमा दुई वर्षभित्र काम सकिने दाबी गर्नुभयो ।

सुर्खेतमा हाल ३३ केभी विद्युत् प्रसारण लाइन छ । पञ्चायतकालमा नेपालगन्जबाट हतारहतारमा ल्याइएको उक्त विद्युत्को क्षमता हाल अपुग छ । पोलहरू जीर्ण छ । सानो हावाहुरी र वर्षा लागेमा सुर्खेतमा विद्युत् अवरुद्ध हुने गरेको छ ।
साउनको अन्तिम सातामात्रै करिब पाँच दिन सुर्खेतमा विद्युत् नहुँदा जनजीवन अस्तव्यस्त बन्यो । हर्रे, रामघाट, चिँगाड क्षेत्रका विद्युत् पोल वर्षाले ढलाउने, तारमा रुख लाग्ने गर्दा विद्युत् अवरुद्ध हुन पुगेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?