logo
२०८१ बैशाख १३ बिहीवार



इजरायलका लागि एक हजारको माग १० हजार आवेदन

अर्थ |


इजरायलका लागि एक हजारको माग १० हजार आवेदन


सीता शर्मा

काठमाडौँ, भदौ २ गते । इजरायलका लागि एक हजार सुसारे (केयरगिभर)को माग भएकोमा झन्डै १० हजारले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार सहायक श्रमिकका लागि एक हजार जनाको माग भएकोमा आवेदन दिने अन्तिम दिन सोमबारसम्म नौ हजार ६९९ जनाको आवेदन परेको हो ।
७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार केयरगिभरका लागि दक्ष श्रमिकको माग भएकोमा आवेदन दिनेमा धेरै पुुरुष रहेको विभागले जनाएको छ । चार हजार दुई सय महिला र पाँच हजार ४९९ जना पुरुषको आवेदन परेको छ ।
विभागका कार्यकारी निर्देशक कृष्णप्रसाद दवाडीले आवेदन दिने समय सकिएसँगै मङ्गलबारदेखि आवेदनको रुजु थालेको जानकारी दिनुुभयो । तोकिएको योग्यताअनुसार भए वा नभएको हेरेर नहुनेको आवेदन अस्वीकृत हुने उहाँले बताउनुभयो ।
विभागका अनुसार आवेदन अस्वीकृत भएमा कारणसहित आवेदकलाई जानकारी दिइनेछ । स्वीकृति भएमा वा अस्वीकृति भएमा पनि यसको जानकारी विभागले आवेदन दिँदा व्यक्तिले अनलाइन सिस्टममा राखेको फोन नम्बर र इमेलमार्फत परीक्षा केन्द्र तोक्ने, परीक्षा समय र मितिबारे निर्णय भएपछि आवेदकलाई जानकारी गराइने विभागले जनाएको छ ।
श्रमिकको छनोट प्रक्रियामा कुनै पनि निजी क्षेत्र, वैदेशिक रोजगार व्यवसायी कम्पनी, कन्सल्टेन्सी, एजेन्सी एवं व्यक्तिको कुनै प्रकारको भूमिका र संलग्नता नरहने विभागका महानिर्देशक दवाडीले स्पष्ट पार्नुभयो ।
नेपाल र इजरायल सरकारबीच यसअघि भएको सम्झौताअनुसार इजरायल पठाइने श्रमिकको अन्तिम छनोट गरिने भन्दै महानिर्देशक दवाडीले भन्नुभयो, “अङ्ग्रेजी भाषाको परीक्षाबाट छनोट भएकालाई अन्तर्वार्तामा बोलाइने र अन्तर्वार्ताबाट छनोट भएपछि रोस्टरमा नाम समावेश गरी श्रमिक छनोटका लागि इजरायल पठाइनेछ । सोही रोस्टरमा नाम समावेश भएका एक हजार चार सय जनाको सूचीबाट नै इजरायलले गोला प्रथाबाट श्रमिक छनोट गर्ने भएकाले सम्पूर्ण प्रक्रिया निष्पक्ष र पारदर्शी हुनेछ । ”
छनोट प्रक्रिया पारदर्शी बनाउन अनलाइन आवेदन माग गरिएको बताउँदै महानिर्देशक दवाडीले दुई देशबाहेक छनोट प्रक्रियामा अरूको सहभागिता हुन नसक्ने जानकारी दिनुभयो । विभागले आवेदन दिएको व्यक्ति यकिन गर्न परीक्षा तथा अन्तर्वार्ताका क्रममा केन्द्रमा नै तौल र उचाइ परीक्षण गर्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?