logo
२०८१ बैशाख १३ बिहीवार



राजस्व दोब्बर पार्ने कार्ययोजना माग

अर्थ |


राजस्व दोब्बर पार्ने कार्ययोजना माग


गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २९ गते । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेस गर्न निर्देशन दिनुभएको छ ।
आन्तरिक राजस्व विभागका काम कारबाहीबारे बिहीबार जानकारी लिँदै मन्त्री शर्माले राजस्व सङ्कलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेस गर्न निर्देशन दिनुभएको हो ।
“चलिरहेको छ, यस्तै चल्छ भन्ने कुरा मेरा लागि मान्य छैन । एक पटक राम्रोसँग सोच्नुहोस्, राजस्व सङ्कलन बढाउन सकिने उपायहरू तपाईं आफैँ फेला पार्नुहुनेछ,” उहाँले भन्नुभयो । उहाँले त्यसका लागि चाहिने जनशक्ति, प्रविधि, तालिम उपलब्ध गराइने पनि स्पष्ट गर्नुभयो ।
उहाँले करदातालाई कानुन लगाएर कर तिराउने नभई करदाता आफैँले कर तिरुँ तिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन पनि निर्देशन दिनुभयो ।
अर्थसचिव मधुकुमार मरासिनीले राजस्व भनेको देशकै प्राणरेखा भएको भन्दै राजस्व सङ्कलनको निर्धारित लक्ष्य हेरफेर हुने सम्भावना रहेको बताउनुभयो । राजस्व समूहका कर्मचारीले १०–५ को ड्युटी गरेर नपुग्ने भएकाले सोहीअनुसार थप जाँगर चलाएर काममा खटिन निर्देशन दिनुभयो ।
विभागअन्तर्गतका ८४ वटा कार्यालय सबैले राजस्व सङ्कलनमा देखिएका समस्याको एमआरआई गर्नुपर्नेमा जोड दिँदै सचिव मरासिनीले समाधानका उपायसमेत निकाल्न भन्नुभयो ।
आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कुप्रसाद आचार्यले आर्थिक वर्ष २०७७÷७८ को कुल राजस्वमा विभागले ४६ प्रतिशत योगदान गरेको जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?