logo
२०८० चैत्र १५ बिहीवार



दार्चुला घटना सम्बन्धमा छानबिन समिति गठन

मुख्य समाचार |


दार्चुला घटना सम्बन्धमा छानबिन समिति गठन


गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १८ गते । गृह मन्त्रालयले दार्चुला घटनाको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिको सदस्यमा सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशन हुतराज थापा, सशस्त्र पहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक सुरेशकुमार श्रेष्ठ, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहनुभएको छ ।
समितिलाई घटनाको वास्तविक सत्यतथ्य छानबिन गरी समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । दार्चुलाको व्यास–२, मालघाटबाट सदरमुकाम खलङ्गा आउने क्रममा तुइन तर्ने क्रममा ३३ वर्षीय जयसिंह धामी शुक्रबार महाकाली नदीमा बेपत्ता हुनुभएको छ । धामी तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलले तुइन चुडाइदिएको स्थानीयवासीले बताएका छन् । दार्चुलाको माथिल्लो क्षेत्रका स्थानीयवासीलाई सदरमुकाम आउन भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता छ ।
यसैबीच प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दार्चुला घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार बैठकपछि समितिले यथाशक्य चाँडो घटनाको सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिएको हो । समितिले घटनाका पीडितको न्याय सुनिश्चित गर्न र पीडकलाई कारबाहीको दायरामा ल्याउने व्यवस्थाका लागि पनि निर्देशन दिएको हो । समितिको आन्तरिक कार्ययोजना तय गर्न बैठक बोलाइएको भए पनि सांसदहरूले दार्चुला घटनाबारे ध्यानाकर्षण गराएपछि समितिले सो निर्देशन दिएको हो ।
“निकै नै अमानवीय खालको घटना भएको समाचार बाहिर आएका छन् । घटना अत्यन्तै निन्दनीय छ । घटनाको सत्यतथ्य जाँच गरी दोषीमाथि कारबाही हुनुपर्छ”, समिति सभापति पवित्रा निरौला खरेलले भन्नुभयो, “घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही तथा पीडितलाई न्याय हुने व्यवस्थाका लागि हामीले नेपाल सरकारको सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छौँ । ”
साउन १५ गते महाकाली नदी तुइनबाट पार गर्ने क्रममा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता हुनुभएको थियो । स्थानीयवासीले भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटिदिएकाले धामी नदीमा बेपत्ता भएको दाबी गरिरहेका छन् । भारतीय पक्षले भने घटनामा सीमा सुरक्षा बलको कुनै पनि संलग्नता नभएको जिकिर गरिरहेको छ ।
घटनाबारे स्थानीय प्रशासनले समेत स्थलगत रूपमा छानबिन गरिरहेको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनको संयोजकत्वमा सुरक्षाकर्मी सम्मिलित टोली घटनास्थलमा पुगेको जानकारी गराएको थियो तर छानबिनको प्रारम्भिक प्रतिवेदन पनि अहिलेसम्म सार्वजनिक भएको छैन ।
यस्तै समितिको आइतबारको बैठकले नागरिक उड्डयनका क्षेत्रका समस्या समाधानका लागि सुझाव दिने गरी उपसमिति पनि गठन गरेको छ । यस्तै बैठकले समितिको वार्षिक कार्ययोजना अद्यावधिक पनि गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?