logo
२०८० चैत्र १६ शुक्रवार



फरक रङ र स्वादका चेरी गोलभेँडा

अनलाइनबाटै बिक्री माग धान्न धौधौ

अर्थ |


फरक रङ र स्वादका चेरी गोलभेँडा


राममणि दाहाल

हेटौँडा, साउन १८ गते । फरक जातको गोलभेँडा उत्पादन सुरु गरेका उत्तरी मकवानपुरको थाहा नगरका युवालाई मागअनुसार आपूर्ति गर्न धौधौ छ । गोलभेँडा पारखीका लागि सलादमा प्रयोग हुने फरक रङ, स्वाद र आकारका चेरी गोलभेँडा उत्पादन गरी अनलाइनबाटै बिक्रीको व्यवस्था गरेपछि माग बढेको हो ।
विदेशबाट प्राप्त कृषिसम्बन्धी ज्ञान र सीपलाई सदुपयोग गर्दै थाहा नगरपालिका–६, वज्रवाराहीका सशिन कर्माचार्यसहितका युवाको कृषि फार्ममा उत्पादित अधिकांश गोलभेँडा अहिले अनलाइनबाट काठमाडौँमा बिक्री हुने गरेको छ ।
कर्माचार्यसहित पाँच जनाको समूहले एगभानिया एग्रो फार्मको नाममा थाहा नगरपालिका–९ स्थित माझगाउँमा जग्गा भाडामा लिएर गोलभेँडालगायतका तरकारी खेती गर्दै आएको छ । इजरायलमा कृषिसम्बन्धी अध्ययन गरेर फर्कनुभएका कर्माचार्यसँगै जापान, दुबईबाट फर्किएका र यही बसेर व्यापार–व्यवसाय गर्दै आएका दुई युवाले एगभानिया खेती गर्नुभएको हो । इजरायलमा हिब्रु भाषामा गोलभेँडालाई एगभानिया भनिने भएकाले उहाँहरूले फार्मको नाम पनि एगभानिया नै जुराउनुभएको हो । इजरायलमा आफू पहिले काम गर्ने कम्पनीले १२ हजार दाना बीउ उपहारमा दिएको बताउनुभयो ।
हाल फार्ममा लाम्चो आकारका पहेँला, राता र सुन्तला रङका गोलभेँडा उत्पादन भइरहेका छन् । अधिकांश काठमाडौँमा अनलाइनबाट बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो । यो गोलभेँडा प्रतिकेजी १२० रुपियाँदेखि २७० रुपियाँसम्ममा बिक्री भइरहेको बताइएको छ । अनलाइनबाट माग गर्नेलाई धेरै परिणाममा बिक्री गर्दा केही कम मूल्यमा र खुद्रा बिक्री गर्दा केही बढी मूल्यमा बिक्री गर्दै आएको फार्मले गोलभेँडा खरिद गर्ने ग्राहकलाई तीनै रङको गोलभेँडा पठाउने
गरिएको छ ।
“यो गोलभेडा खाँदा मुखै रसिलो हुन्छ, सुरुमा केही अमिलो, पछि अमिलो–गुलियो र पाकेपछि गुलियो स्वाद आउँछ,” उहाँले भन्नुभयो, “रङ मात्र फरक होइन १२ आकारको गोलभेँडा फल्ने बीउ छन्, बीउसमेत रङ र आकारअनुसार फरक हुन्छ । ”
गत वर्ष चार सय बोट लगाएकामा बन्दाबन्दीका कारण आधा मात्र बिक्री गरेर फल्दाफल्दैका बोट उखलेर फाली काउली लगाउनुभएका किसान कर्माचार्य यो वर्ष अनलाइनबाट उत्पादनभन्दा बढी माग हुन थालेपछि उत्साहित बन्नुभएको छ । यो पटक गत वैशाखामा पाँच सय गोलभेँडाको बिरुवा तीनवटा टनेलमा लगाइएकामा गत वर्षको उत्पादनका आधारमा प्रतिबोट पाँच केजीभन्दा बढी फल्दा तीन हजारदेखि ३५ सय केजीसम्म उत्पादन हुने अनुमान छ ।
इजरायलमा यही जातिको बीउबाट प्रतिबोट २० केजीसम्म गोलभेँडा उत्पादन हुने र बोट अग्लो हुने भएकाले व्यवस्थापन गर्न समस्या हुने गरेको अनुभव सुनाउँदै उहाँले एक दाना गोलभेँडाको बीउको ४०/४५ रुपियाँसम्म पर्ने बताउनुभयो ।
उहाँका अनुसार विदेशमा यही जातको गोलो आकारको गोलभेँडाको माग बढी हुन्छ, यहाँ गोलो गोलभेँडा कम बिक्री हुन्छ ।
लाम्चो भएकाले पनि आकर्षण बढेको छ । “नयाँ प्रजातिको गोलभेँडा खेती गर्ने प्रयास र परीक्षण सफल भएको” उहाँले सुनाउनुभयो । अहिलेको माग हेरेर अर्को वर्षबाट बढी क्षेत्रफलमा लगाउने योजना रहेको उहाँले बताउनुभयो । यस सिजनमा दुई सय केजी गोलभेँडा बिक्री भइसकेको र अरू धमाधम निस्कन थालेको उहाँले जनाउनुभयो । उहाँका अनुसार तुसारो नपरेसम्म उत्पादन लिन पाइन्छ ।
योसँगै कर्माचार्यले वजवाराहीमा ७५ वटा टनेलमा निजी रूपमा सरिता जातको गोलभेँडा लगाउनुभएको छ । गत चैतबाट जेठसम्म फरकफरक समयमा लगाएको बताउँदै उहाँले ८० टनसम्म उत्पादन हुने र अहिले बारीबाट नै प्रतिकेजी ३०–३५ रुपियाँ केजीमा बिक्री भइरहेको बताउनुभयो । कर्माचार्यले रातो, हरियो र पहेँलो रङको भेडे खुर्सानी उत्पादन गरी सुरुमा प्रतिकेजी १७० रुपियाँमा बिक्री गर्नुभएकामा अहिले प्रतिकेजी ७० रुपियाँमा बिक्री गर्दै आउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?