logo
२०८० चैत्र १६ शुक्रवार



पढ्दै अनि कमाउँदै पनि

अर्थ |


पढ्दै अनि कमाउँदै पनि


वसन्त पराजुली

नारायणगढ, साउन १५ गते । चितवनको एक सामुदायिक विद्यालयले कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीलाई प्रयोगात्मक कक्षामै आयआर्जन हुनेगरी अध्यापन सुरु गरेको छ । भरतपुर महानगरपालिका–२० मा रहेको भीमनगर माध्यमिक विद्यालयले प्राविधिकतर्फ बाली विज्ञान विषय पढ्ने विद्यार्थीका लागि स्कुलमै कृषि उपज उत्पादन गर्दै आयआर्जनको व्यवस्थासहितको शिक्षा सुरु गरेको विद्यालयका प्रध्यानाध्यापक कोमलनाथ घिमिरेले बताउनुभयो ।
“बाली विज्ञानतर्फ पढ्ने विद्यार्थीले कक्षा ९ देखि नै समूह बनाएर तरकारी तथा फलफूल उत्पादनमा लाग्छ,” प्रअ घिमिरेले भन्नुभयो, “यो कार्यले एकातर्फ विद्यार्थीलाई विद्यालयले प्रोत्साहनस्वरूप केही रकम दिन्छ । अर्कातर्फ उनीहरूले उत्पादन गरेका फलफूल तथा तरकारी पनि आफैँ बिक्री गरेर आम्दानी गर्न सक्छन् । ”
“विद्यार्थीलाई कृषि उत्पादनका लागि व्यावहारिक ज्ञान दिई उत्पादन वृद्धि गरेर व्यवसायीकरण गराउने हाम्रो उद्देश्य हो,” उहाँले थप्नुभयो, “विद्यालयबाट बाहिर निस्कँदै गर्दा पनि एउटा विद्यार्थी व्यावसायिक रूपमा दक्ष हुन्छ भन्ने विश्वास लिएका छौँ । ”
विद्यार्थीलाई आयआर्जनमै सहभागी गराउने गरी विद्यालयले सञ्चालन गरेको अभियानलाई ‘सिक्दै सिकाउँदै’ नाम दिइएको छ । यो अभियान सफल बनाउन विद्यालयलाई भरतपुर महानगरपालिकाले पाँच लाख रुपियाँ अनुदान सहयोग पनि दिएको छ । भीमनगर माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थी केवल अर्याल विद्यालयले सञ्चालन गरेको सो अभियानले विद्यार्थीमा पकेट खर्चको व्यवस्था भएको तर्क गर्नुहुन्छ ।
“अहिले कृषिको युग हो । कृषिलाई मुख्य पेसा बनाएर बस्ने हो भने हामीले पढ्दै गर्दा प्रयोगात्मक कक्षामै व्यावसायिक सीप सिक्नु जरुरी छ, जुन हामीले गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “प्रयोगात्मक कक्षाले हामीलाई विद्यालय छाड्दै गर्दा एउटा कृषि प्राविधिकसमेत बन्ने अवस्था छ । ”
विद्यालयले सञ्चालन गरेको सिक्दै सिकाउँदै अभियानले त कतिपय साथीलाई कलमकापी किन्ने पैसाको स्रोत बनेको पनि उहाँले जनाउनुभयो । २०७४ सालबाट बाली विज्ञान विषय पढाउन लागेको यो विद्यालयले आफ्नो स्वामित्वमा रहेको चार बिघा क्षेत्रफलमध्ये दुई बिघा क्षेत्रफल जग्गा विद्यार्थीका लागि कृषि उत्पादनमै प्रयोग गरेको छ ।
“आधुनिक किसिमका टनेलसमेत बनाएर बेमौसमी तरकारी उत्पादनमा समेत हामी जुटेका छौँ, प्रअ घिमिरेले भन्नुभयो । अहिले पनि विद्यालयले थप उच्च प्रविधिको आधुनिक उपकरणको प्रयोग गर्न मिल्ने गरी थप टनेल बनाउँदै छ । विद्यालयले अहिले टनेलमा टमाटर, सिमीजस्ता तरकारीलाई बेमौसमी उत्पादन गर्ने कार्य सुरु गरेको छ । काउली, टमाटर, च्याउलगायतका कृषि उपज पनि अहिले उत्पादन सुरु भइसकेको छ ।
नर्सरीदेखि १२ कक्षासम्म पढाइ हुने विद्यालयमा बाली विज्ञान कक्षा ९ देखि सुरु हुन्छ । पाँच सयभन्दा बढी विद्यार्थी रहेको यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म बाली विज्ञान विषय पढ्ने विद्यार्थीको सङ्ख्या सय जना छ । यो विद्यालयले कक्षा ११ र १२ मा मानविकी, व्यवस्थापन र शिक्षा शास्त्रमा पनि अध्यापन गराइरहेको छ । विशेष त बाली विज्ञानका विद्यार्थीलाई नै ध्यानमा दिएर विद्यालयले आधुनिक कृषि प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ ।
“बाली विज्ञानमा कक्षा १० उत्तीर्ण गरे जेटीए र कक्षा १२ उत्तीर्ण गरे जेटी हुन पाउने व्यवस्थाले पनि विद्यार्थी यो पेसाप्रति आकर्षित छन्,” प्रअ घिमिरेले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?