logo
२०८१ बैशाख ८ शनिवार



विद्युतीय गाडीको एसेम्बल प्लान्ट स्थापना गर्न सम्झौता

अर्थ |


विद्युतीय गाडीको एसेम्बल प्लान्ट स्थापना गर्न सम्झौता


बुटवल समाचारदाता

बुटवल, असार २२ गते । रुपन्देहीको सैनामैना नगरपालिका–८ र ९ को नदी उकास जग्गामा विद्युतीय सवारी साधनको एसेम्बल प्लान्ट निर्माण गर्न सैनामैना नगरपालिका र सुन्दर ट्रेडर्स प्रालिबीच सम्झौता
भएको छ ।
सैनामैनाको भडसी, भडसा र शङ्करपुर गरी तीनवटा टोलको करिब १० बिघा जग्गामा एसेम्बल प्लान्ट निर्माण गर्न नगरपालिकाले सुन्दर ट्रेडर्स प्रालिलाई २५ वर्षका लागि जग्गा लिजमा दिनेगरी आइतबार सम्झौता भएको हो ।
सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले पहिलो चरणमा सुन्दर ट्रेडर्स प्रालिले तीन अर्ब ६० करोड रुपियाँ लगानी गरी एसेम्बल प्लान्ट निर्माण गर्ने बताउँदै त्यसबाट सैनामैनाको विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो ।
सुन्दर यातायात्र प्रालिले उक्त जग्गा लिजमा प्रयोग गरेबापत वार्षिक छ लाख रुपियाँ नगरपालिकालाई भाडाबापत प्रदान गर्ने, नाफाको १ प्रतिशत नगरपालिकालाई दिने र वर्षमा एक जना विद्यार्थीलाई अटो इन्जिनियरिङ पढाउने सहमति भएको छ ।
सम्झौतामा हस्ताक्षरपछि सुन्दर यातायात प्रालिका अध्यक्ष तथा सुन्दर ट्रेडर्सका सञ्चालक भेषबहादुर थापाले निषेधाज्ञा सकिएको छ महिनाभित्रै एसेम्बल प्लान्ट निर्माण गर्ने जानकारी दिनुभयो ।
सुन्दर यातायातको भगिनी कम्पनी सुन्दर अटो इन्जिनियरिङमार्फत यो प्लान्ट सैनामैनामा स्थापना हुन लागेको हो । अध्यक्ष तथा सञ्चालक थापाले विद्युतीय गाडी आयात गरेर चलाउनुभन्दा आफ्नै देशमा एसेम्बल प्लान्ट स्थापना गर्न सकियो भने सानादेखि ठूला सबै सवारी साधन बनाउन सकिने र मूल्य पनि कम पर्ने बताउनुभयो । चीनबाट गाडीका पार्टपुर्जा ल्याएर नेपालमा एसेम्बल गर्दा एउटा बसमा २० देखि २२ लाख रुपियाँ सस्तो पर्ने बताइएको छ ।
त्यसैगरी आफ्नै देशमा प्लान्ट बनेपछि सवारी बिग्रिँदा वा पार्टपुर्जा चाहिँदा विदेशको मुख ताक्नुपर्ने बाध्यतासमेत अन्त्य हुने प्रालिले जनाएको छ ।
प्लान्टबाट पहिलो वर्ष तीन सयवटा सवारी उत्पादन गर्ने योजना रहेको थापाले बताउनुभयो । त्यसपछि आवश्यकता अनुसार हरेक वर्ष उत्पादन बढाउँदै लैजाने थापाले बताउनुभयो ।
प्लान्टमा ४९ प्रतिशत सुन्दर अटो इन्जिनियरिङ र ५१ प्रतिशत चिनियाँ कम्पनीको लगानी हुने थापाले बताउनुभयो । अवस्था सहज हुँदै गएमा पार्टपुर्जा आयात गरी वार्षिक एक हजार गाडी उत्पादन गर्ने लक्ष्य प्रालिको छ । प्लान्ट निर्माण भएपछि सैनामैनामा थप तीन सय रोजगारी सिर्जना हुने थापाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?