logo
२०८१ बैशाख १३ बिहीवार



युरो कपले नेपाली इन्टरनेटमा नयाँ ‘रेकर्ड’

अर्थ |


युरो कपले नेपाली इन्टरनेटमा नयाँ ‘रेकर्ड’


विश्वास रेग्मी

काठमाडौँ, असार २१ गते । फुटबलप्रेमीका लागि यतिबेला ठूलो उत्सव नै चलिरहेको छ । एकै पटक युरो कप र कोपा अमेरिका कपअन्तर्गतका विभिन्न खेलका कारण उनीहरूलाई तालिका मिलाउन भ्याइनभ्याइ छ ।
नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु भएर बिहान ७ः४५ बजेसम्म युरो र कोपाअन्तर्गतका चारवटा खेल हुने गर्छन् । नेपाली फुटबलपे्रमी रातभर नै भए पनि यी खेल हेर्न व्यस्त देखिन्छन् । फुटबलपे्रमीको यस्तै व्यस्तताले नेपालको इन्टरनेटमा भने नयाँ ‘रेकर्ड’ बनाएको छ ।
रेकर्ड बनेको दिन हो, असार १५ । जुन दिन युरो कपअन्तर्गत राउन्ड १६ का दुई खेल भएका थिए, फ्रान्स र स्विजरल्यान्ड अनि इङ्ल्यान्ड र जर्मनीबीच । निकै प्रतिस्पर्धात्मक रहेका यी दुई खेलमा पेनाल्टीसहित १७ गोल बनेका थिए । राति ९ः४५ बजे जब फ्रान्स र स्विजरल्यान्डबीचको पहिलो खेल सुरु भयो, नेपालको आन्तरिक इन्टरनेट ट्राफिक उकालो लाग्दै गयो ।
नेपालभित्रको आन्तरिक इन्टरनेट ट्राफिक मापन गर्ने इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स)का अनुसार खेलका दौरान इन्टरनेट ट्राफिक प्रतिसेकेन्ड ४९.८८९ जीबीसम्म पुगेको थियो । संस्थाका प्रमुख कार्यकारी अध्यक्ष रुपेश श्रेष्ठका अनुसार यो नेपालभित्रको अहिलेसम्मकै उच्च इन्टरनेट ट्राफिक हो ।
“युरो कपको खेल हुँदा एकै पटक ट्राफिक बढ्ने अनि मध्यान्तरमा बिस्तारै घट्ने र त्यसपछि फेरि खेल सुरु भएपछि बढ्ने प्रवृत्ति देखियो,” उहाँले भन्नुभयो, “यही क्रममा अहिलेसम्मकै उच्च ‘रेकर्ड’ पनि बन्यो । ”
सामान्य अवस्थामा नेपालको आन्तरिक इन्टरनेटको ट्राफिक प्रतिसेकेन्ड १२ जीबी हुने गर्छ । यद्यपि पछिल्लो समय त्यस्तो औसत पनि बढेर १५ जीबीसम्म पुगेको छ । ठूला किसिमका फुटबल खेलहरू सुरु हुनासाथ नेपालको आन्तरिक इन्टरनेट ट्राफिक बढ्ने गरेको श्रेष्ठको अनुभव छ ।
“यसअघि पनि सन् २०१८ मा विश्व कपको समयमा ट्राफिक बढेर ३२ जीबीपीएससम्म पुगेको थियो,” उहाँले भन्नुभयो । त्यो नै नेपालभित्रको आन्तरिक इन्टरनेट खपतमा यसअघिको रेकर्ड थियो ।
पछिल्लो समय सेवा प्रदायकहरूले युरो कपजस्ता इन्टरनेट कन्टेन्टको नेपालमै होस्टिङ गर्दा पनि आन्तरिक इन्टरनेट ट्राफिक बढी हुने पुगेको श्रेष्ठको भनाइ छ । यसले अर्कोतिर नेपाललाई आर्थिक रूपमा पनि फाइदा पुगेको उहाँको बुझाइ छ । “नेपालभित्रै होस्टिङ हुँदा अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत नहुँदा ठूलो रकम बाहिरिनबाट पनि रोकिन्छ,” उहाँले भन्नुभयो । पछिल्लो समय चर्चित इन्टरनेट कन्टेन्टहरूको क्यास सर्भर राखेर नेपालमै होस्टिङ गर्ने चलन पनि बढिरहेको उहाँले जानकारी दिनुभयो ।
ओभर दी टप (ओटीटी)मार्फत नै टेलिभिजन हेर्न सकिने सुविधाले पनि यसमा बल पु-याएको उहाँको बुझाइ छ । अहिले डिस होम गो, नेट टीभी, भाया टीभी, प्रभु टीभीजस्ता एपमार्फत नै प्रयोगकर्ताले टेलिभिजन हेर्न सक्छन् ।
त्यस्तै इन्टरनेट सेवा प्रदायकले इन्टरनेटमै आधारित रहेर आफ्ना प्रयोगकर्तालाई टेलिभिजन सुविधा पनि उपलब्ध गराइरहेका छन् । इन्टरनेट प्रयोगमार्फत टेलिभिजन हेर्ने प्रवृत्तिले पनि ट्राफिक बढेको श्रेष्ठको तर्क छ । यसले अन्ततः नेपाललाई नै फाइदा पुग्ने उहाँले बताउनुभयो । एनपीआईएक्सले आफ्ना सदस्यहरूबाट प्राप्त तथ्याङ्कका आधारमा नेपालको आन्तरिक इन्टरनेट ट्राफिक मूल्याङ्कन गर्छ । अहिलेका यसका करिब चार दर्जन सदस्य छन् । देशका प्रमुख दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक, सूचना प्रविधिसँग सम्बन्धित सरकारी निकाय, होस्टिङ सेवा प्रदायक यसका सदस्य छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?