logo
२०८० चैत्र १५ बिहीवार



काँग्रेस सभापतिका मैदानी उम्मेदवार

कोइराला वंश भएर पनि ‘राजकुमार’ नहुनुको पीडा बेहोर्ने काँग्रेसमा शेखरभन्दा अर्को कोही छैन ।

विचार/दृष्टिकोण |


काँग्रेस सभापतिका मैदानी उम्मेदवार


डा. सुरेश आचार्य

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिमा दोहो¥याएर लड्ने तयारी गरेपछि काँग्रेसका आकाङ्क्षीहरूको चहलपहल ह्वात्तै बढेको छ । काँग्रेसमा पछिल्लो समय तीन वटा समूहबीचको राजनीति चल्दै आएकोमा अब पुराना समूहको अस्तित्व सङ्कटमा परेको छ र यो सङ्कटमा धेरथोर पार्टी सभापति शेरबहादुर देउवा पनि हुनुहुन्छ । सबैभन्दा बढी सङ्कट कोइराला परिवारका उत्तराधिकार पाएका रामचन्द्र पौडेललाई छ । हिजो देउवाविरुद्ध एक भएको कोइराला क्याम्पमा कोइराला वंशकै दुई डा. सशाङ्क कोइराला र डा. शेखर कोइराला मैदानमा अगाडि बढिसकेका छन् । कोइराला परिवारविरुद्धको वंशका प्रकाशमान सिंह पनि हिजो पौडेलकै सारथि हुनुहुन्थ्यो तर अहिले उहाँ आफैंँ सभापतिका नाममा लञ्च खाँदै र ख्वाउँदै हुनुहुन्छ ।
देउवाकै समूहमा रहेर पार्टीमा महामन्त्री र उपसभापति बनेका विमलेन्द्र निधि यतिबेला देउवालाई चुनौती दिन कोइराला क्याम्प खोज्दै हिँड्नु भएको छ । उहाँको लञ्च र डिनर बैठकमा रामचन्द्र पौडेलको आशङ्काले ब्रेक लगाई दिएको छ र यही मौकामा डा. सशाङ्कले देउवालाई चुनौती दिन सक्ने आफू मात्रै भएको बताएर काँग्रेसका ‘राजकुमार’हरूको बैठकको औचित्य समाप्त गरिदिनु भएको छ । यस बीचमा यी राजकुमारबीच पार्टी सभापति, राष्ट्रपति र प्रधानमन्त्रीसम्मका भागबण्डा मिलाई दिन अदृश्य शक्तिहरू क्रियाशील रहेका अनौपचारिक खबरले भने बजार गर्माएकै छ । भलै सत्य यो नहुन सक्छ ।
काँग्रेसमा ‘थर्ड पोल’ भनेर चिनिएको कृष्णप्रसाद सिटौलाको समूह यतिबेला मौन छ । सिटौला आफैंँ ‘पर्ख र हेर’को नीतिमा देखिनु भएको छ तर उहाँका हिजोका सहयोगीहरू कोही देउवा र कोही कोइरालातिर पदीय भागबण्डामा छुट्ने आशङ्काले कुदेका देखिन्छन् । सिटौलाको मौनताले उहाँको महìवलाई घटाएको छैन तर पार्टी नेता रामचन्द्र पौडेलको चाहनाले उहाँलाई लगभग एक्लो देखाएको छ । सरकार र पार्टीका सबै पद प्राप्त गरिसक्दा रामचन्द्रका हातमा दुवैतिर नेतृत्व गर्ने अवसर मिलेको छैन । यही दुखेसो पोखेर फेरि सभापतिका लागि आफ्नो समूहमा अनुनय गर्दा रामचन्द्रले पाएको जवाफ प्रिय छैन – तपाईंले अवसर नपाएको होइन, प्रधानमन्त्रीमा त सत्र पटक हार्नु भो । सभापतिमा पनि हार्नु भो । सधैंँ तपार्इंलाई काँध हाल्न सकिन्छ ?
कोइराला वंशका उम्मेदवार डा. सशाङ्क र डा. शेखरबीच सहमति हुनेमा सुजाता कोइरालालाई विश्वास लागि रहँदा त्यो सम्भावना त्यति सहज देखिँदैन । अघिल्लो महाधिवेशनमा महामन्त्रीमा चुनाव लड्न देउवाले आग्रह गर्दा भाइसँग चुनाव नलड्ने बताएका शेखर अब फेरि भाइसँग प्रतिस्पर्धा गर्ने कि नगर्ने भन्ने सङ्कटमा हुनुहुन्छ । एक डेढ वर्षदेखि सभापतिका उम्मेदवारका रूपमा कार्यकर्ताका माझ पुगिरहँदा पनि उम्मेदवार नहुनु भनेको उहाँका लागि आफैँंमा निकै असहज स्थिति हुनेछ । कोइराला वंश भएर पनि ‘राजकुमार’ नहुनुको पीडा बेहोर्ने काँग्रेसमा शेखरभन्दा अर्को कोही छैन । दुई भाइ कोइराला चुनाव लड्ने स्थितिमा बहिनी कोइरालाको भूमिका के हुन्छ ? त्यो अहिले नै प्रष्ट छैन ।
आफ्नो समूहका नेताहरूसँग छलफल थाल्नु भएका देउवालाई अघिल्लोे शनिबार उपसभापति निधिले सभापतिमा आफू पनि लड्न चाहेको बताउनु भयो । यो छलफल निधिका लागि प्रिय बन्न सकेन, जब देउवाले उहाँलाई ‘लड्ने भए लड्नुस्, त्यो तपाईंको अधिकार हो’ भन्ने जवाफ दिनुभयो । यसअघि देउवा र निधिबीचको संवाद स्वाभाविक र सदभावपूर्ण नै थियो । त्यो सम्वादमा निधिले आफू लामो समयदेखि एउटै समूहमा रहेको र देउवाकै समर्थनमा सभापति लड्न चाहेको बताउनु भएको थियो । उहाँले देउवालाई सभापतिमा फेरिचुनाव लड्ने तयारीबारे पुनर्विचार गर्न समेत आग्रह गर्नुभएको थियो । देउवाले पनि निधिलाई अर्काे पटक सभापति लड्न आग्रह गर्नुभएको थियो । तर फेरि दुई नेताबीच आन्तरिक तयारी विना नै भएको सामूहिक संवादमा निधिले पुरानै कुरा दोहो¥याएपछि देउवाले निधिका लागि बाटो खोलिदिनु भयो । देउवा र निधिबीचको यो असमझदारीले देउवालाई पनि केही घाटा पु¥याएको छ, तर त्यो भन्दा बढी घाटा निधिको राजनीतिक जीवनलाई पु¥याउने छ ।
देउवा आफँै उम्मेदवार बन्ने निश्चित भएपछि निधिले प्रतिशोधका रूपमा कोइराला क्याम्प छिर्ने जुन प्रयत्न गर्नु भयो, त्यसले कोइरालाहरूमा खुसी छाउने छैन भन्ने उहाँले अनुमान गर्न सक्नु भएन । उहाँको पहिलो रोजाइमा पर्नु भएका प्रकाशमान र सशाङ्कका कारण काँग्रेसभित्रका राजकुमारका रूपमा नयाँ समूह बन्न लागेको सन्देश गयो । राजनीतिमा पारिवारिक उत्तराधिकार त्यति प्रिय मानिदैन । यद्यपि यी तीन राजकुमार मध्ये निधिलाई त्यो रूपमा लिनु पर्ने अवस्था होइन । कलिलो उमेरमै नेपाल विद्यार्थी सङ्घको नेतृत्व लिएर उहाँले आफूलाई त्यसबेला नै शेरबहादुर देउवाको उत्तराधिकारी बनाई सक्नु भएको थियो । त्यसपछि पनि पार्टी राजनीतिमा एक पछि अर्को तह पार गर्दै उहाँ मनोनित नै भए पनि काँग्रेसको उपसभापतिको स्वाभाविक दावेदार हुनुहुन्थ्यो । देउवाले उपसभापति बनाउनुको अर्थ पनि उत्तराधिकार स्थापित गर्ने रणनीति नै थियो ।
निधिले आफूलाई मैदानमा उभ्याउने निर्णय गर्दै गर्दा आफूले देउवालाई लाएको गुन त सम्झना गराउनु भयो तर देउवाले पछिल्लो समय महामन्त्री र उपसभापति बनाउनु भएको तथ्यलाई मनन गर्न सक्नु भएन । देउवाले बाटो खोलिदिनु भएपछि पनि राजनीतिक संयम देखाउन नसक्नु निधिको राजनीतिक विफलता हो । कोइराला वंश राजनीतिका विरुद्ध पिताजी महेन्द्रनारायण निधिदेखिको राजनीतिलाई तिलाञ्जलि दिएर कोइराला क्याम्पभित्र पस्ने त्यति हतारो निधिका हकमा जरुरी थिएन । त्यसो त प्रकाशमानले पनि पिता गणेशमान सिंह कोइरालाबाटै अपमानित भएर काँग्रेसबाट बाहिरिएको तथ्य बिर्सेर आफ्नो स्वार्थ सिद्धिका लागि त्यही बाटो रोज्नु भएको थियो । आज दुई राजकुमार एकै प्रवृत्ति बोकेर एक ठाउँमा मात्र उभिएनन्, राजनीतिमा धेरैपछि वंश परम्परा धान्न सुरु गर्नुभएका अर्का राजकुमारसँग हातेमालो गर्न पुगे । यसो गरिरहँदा काँग्रेसलाई लोकतान्त्रिक पार्टीका रूपमा बुझेर नै वंशवादको विरुद्ध रहेका कार्यकर्ताको मनमा पक्कै ठेस पुगेको छ ।
सभापतिमा देउवाले दोहो¥याउनुपर्ने कारणको खोजी निधिले गर्न चाहनु भएन । एकलौटि बहुमतका साथ पार्टी नेतृत्व लिनुभएका देउवाले सहमतिका आधारमा पार्टी चलाउन खोज्नुलाई नेतृत्व क्षमताको अभावका रूपमा बुझेर कमजोर बनाउने र काम गर्न नदिने वातारण बनाइयो । मुलुकमा निर्वाचन हुने कि नहुने भन्ने अन्योलका बीच तत्कालीन ओली सरकारलाई हटाउँदै गर्दाको अवस्थामा सबै पक्षलाई संविधानमा सहमत गराएर तीन तहका निर्वाचन गराउन देउवा सफल हुनुभएकै हो । तर दुई कम्युनिस्टबीचको एकताका कारण बेहोर्नु परेको हारलाई देउवाको असफलताका रूपमा व्याख्या गर्ने प्रयत्न पार्टीभित्रै भयो । हरेक नेतृत्वले आफूलाई सफल स्थापित गर्न प्रयत्न गर्नु स्वाभाविक हो । देउवाका लागि अबको अवसर सहज र अन्तिम पनि हो । तर यो परिदृश्यलाई निधिले आकलन गर्न चाहनु भएन ।
निधिका लागि यो अन्तिम अवसर थिएन र होइन । उहाँको फेरि एक पटक देउवाको उपसभापति भएर रहँदा राजनीतिक रूपमा ठूलो घाटा हुने केही थिएन । अबको पार्टी उपसभापति प्रत्यक्ष निर्वाचित हुने हो र देउवाले जित्दै गर्दा निधिले हार्ने प्रश्नै रहदैन । अहिले देउवाको साथ सहयोग विना निधि सभापतिमा उम्मेदवार हुने भनेको पनि जित्नका लागि होइन, अर्को महाधिवेशनबाट सभापति बन्ने वातावरण बन्छ कि भन्ने मात्रै हो । काँग्रेसभित्र एउटा समूह बनाएर त्यसको नेता भएर बस्ने मात्रै हो । प्रतिनिधि सभाको आउने निर्वाचन पछिको सरकारमा देउवा आफैंँले नेतृत्व लिएर निधिलाई पार्टीको कार्यवाहक सभापति दिने वा निधिलाई नै प्रधानमन्त्री बनाएर देउवाले पार्टी सङ्गठनलाई बलियो बनाउने दुवै विकल्प खुला छन् । निधिले ती विकल्प किन देख्न सक्नु भएन ? के देउवाको हारमा निधिले पनि आफ्नो जित देख्न थाल्नु भएको हो ?उहाँका शुभेच्छुकहरूले गर्ने यो यक्ष प्रश्न हो । निधिलाई कुनै अदृश्य शक्तिका कारण उम्मेदवार हुनै पर्ने भएको छ भन्ने आशङ्का रहिरहँदा पनि यसले उहाँको भावी राजनीतिलाई सहयोग पु¥याइराखेको छैन ।
जेहोस्, उम्मेदवारी चर्चाको रौनकले एक पटक काँग्रेस महाधिवेशनका लागि आम कार्यकर्तामा उत्साह जगाएको छ । अन्तिम समयमा को को प्रतिस्पर्धामा देखा पर्लान्, अहिले नै निक्र्योल गर्न सक्ने अवस्था छैन । निर्वाचन एउटाले जित्ने हो र जसले जिते पनि काँग्रेसले जित्ने हो । यो प्रतिपस्र्धालाई स्वस्थ बनाएर काँग्रेसले लोकतान्त्रिक पार्टीको आफ्नो छविलाई उजिल्याउन सक्नुपर्छ, धूमिल हुन दिनु हँुदैन । 
(लेखक नेपाल पत्रकार महासङ्घका पूर्वसभापति हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?