logo
२०८१ बैशाख ८ शनिवार



विद्युतीय बस ल्याउन सक्रियता

साझाका ४० आउने, एसेम्बल प्लान्ट सम्झौताको तयारी

अर्थ |


विद्युतीय बस ल्याउन सक्रियता


लक्ष्मण दर्नाल

काठमाडौँ, असार १८ गते । विद्युतीय बस सञ्चालनका लागि विभिन्न कम्पनीले प्रक्रिया थाल्दै छन् । त्यस क्रममा साझा यातायातले ल्याउन लागेको ४० वटा विद्युतीय बसको टेन्डर आज (शुक्रबार) खुल्दै छ ।
त्यो प्रक्रिया पूरा भई सम्झौता भएको छ महिनामा विद्युतीय बस ल्याउन सकिने साझा यातायातले जनाएको छ । साझाले गत चैत १३ गते ४० वटा विद्युतीय बस खरिदका लागि ४५ दिने ग्लोबल बोलपत्र आह्वान गरेको थियो । ४५ दिने बोलपत्र गरिए पनि विश्वव्यापी कोरोनाका कारण ढिलाइ हुन पुुगेको साझा यातायातले जनाएको छ ।
खरिद प्रक्रिया अघि बढेको साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधरले जानकारी दिनुुभयो । उहाँका अनुसार बोलपत्र खुला गरिसकेपछि करिब डेढ महिना टेन्डरको मूल्याङ्कन गर्न लाग्नेछ । समितिले मूल्याङ्कन गरेपछि सम्झौता गरिने र सम्झौता भएको करिब छ महिनामा विद्युतीय बसहरू ल्याउन सकिनेछ ।
तुलाधरले भन्नुुभयो, “कोरोनाका कारण दुुई महिना ढिला भयो, टेन्डरको मूल्याङ्कनपछि सम्झौता हुन्छ । सम्झौता भएपछि मात्र कम्पनीहरूले बस बनाउने भएकाले छ महिनामा बसहरू आउने सम्भावना छ । ” उहाँका अनुसार सम्झौतापछि चरणबद्ध रूपमा निर्माणको काम हुनेछ । सुरुमा निर्माण कम्पनीले तीनवटा बस नेपालका सडकमा गुडाएर परीक्षण पास गर्नुपर्नेछ । परीक्षण सफल भएपछि थप बस ल्याइने तुलाधरको भनाइ छ ।
उहाँका अनुसार सम्झौतामा बस खरिद मात्र नभएर पाँच वर्षसम्म कम्पनीले मर्मत गर्नुपर्नेछ । मर्मतसम्भारका लागि पार्टपुर्जा उपलब्ध गराउनुुपर्नेलगायतका प्रावधान राखेर प्याकेजमै सम्झौता गर्नुपर्ने भएकाले केही दिन ढिलाइ हुनसक्छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपलब्ध गराएको तीन अर्ब रुपियाँले नौ मिटर लम्बाइका २६ सिटे ४० वटा बस खरिद गरिनेछ । पहिलो चरणमा ४० वटा बस ल्याउने तयारी छ । साझाको स्पेसिफिकेसन बनाउँदै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७६ असोज १ गते सम्झौताअनुसार काम अघि नबढेको भन्दै खरिद प्रक्रिया रोकेको थियो तर २०७७ फागुनमा मन्त्रालयले साझालाई नै खरिद प्रक्रिया अघि बढाउन पत्राचार गरेपछि चैतमा साझाले बोलपत्र आह्वान गरेको थियो । पहिल्यै नरोकिएको भए हाल बस आइसक्ने साझाको दाबी छ ।

सुन्दरका २० वटा बस आउँदै
विद्युुतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिका २० वटा बस सिङ्गापुरमा रोकिएका छन् । चीनबाट ल्याइएका बस कोरोनाको बन्दाबन्दीका कारण हाल सिङ्गापुरमा राखिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो । ४० सिट क्षमताका ती बस भारतमा बन्दाबन्दी खुल्नासाथ नेपाल ल्याइनेछ ।
सरकारले विद्युुतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले ५० करोड रुपियाँ लगानीमा बसहरू खरिद गरेको हो । बसहरू काठमाडौँ उपत्यकाबाहिरका प्रमुख सहरहरू बुटवल, विराटनगर, नारायणगढ, नेपालगञ्जमा पनि सञ्चालन गरिनेछ । हाल सुन्दर यातायातले काठमाडौँ उपत्यकामा चारवटा विद्युतीय बस सञ्चालन गरिरहेको छ ।

एसेम्बल प्लान्ट निर्माण हुुँदै
सुन्दर अटो इन्जिनियरिङ प्रालिले रुपन्देहीको सैनामैना नगरपालिकामा विद्युतीय सवारीको एसेम्बल निर्माण गर्ने भएको छ । विद्युतीय बस, मोटरसाइकल, जिप र कारहरू निर्माण गरिने अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो ।
करिब तीन अर्ब ६० करोड रुपियाँको लगानीमा निर्माण गरिने एसेम्बल प्लान्टले पहिलो वर्ष तीन सय सवारी साधन निर्माण गर्ने लक्ष्य लिएको छ । दोस्रो वर्ष पाँच सय बनाउने र त्यसपछि कम्तीमा वार्षिक एक हजार विद्युतीय सवारी निर्माण गरिने योजना रहेको थापाको भनाइ छ ।
सुन्दर अटोले दुबईको सेक ग्रुप र चीनको बीएके ग्रुपको संयुक्त लगानीमा एसेम्बल प्लान्ट स्थापना गर्न लागिएको हो । उहाँले भन्नुभयो, “जग्गा प्राप्त भएको छ, आगामी साता सम्झौता गर्छौं । त्यसपछि हामी शिलान्यास गर्छौं, शिलान्यासको भएको करिब नौ महिनामा सबै संरचना निर्माण गर्छौैं । एसेम्बलका सामानहरू पनि ल्याउने तयारीमा छौँ । ”
जग्गा दिनका लागि सैनामैना नगरपालिकाले पालिका सभाबाट नै प्रस्ताव पारित गरिसकेको जनाइएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?