logo
२०८१ बैशाख ७ शुक्रवार



‘हट स्पट’ दाङमा पनि घटे कोरोना सङ्क्रमित

प्रदेश |


‘हट स्पट’ दाङमा पनि घटे कोरोना सङ्क्रमित


नारायणी रजौरे
दाङ असार २ गते । करिब महिना दिन अघिसम्म कोरोनाको ‘हट स्पट’ अर्थात् सबैभन्दा बढी प्रभावित क्षेत्रका रुपमा रहेको दाङ जिल्लामा पछिल्लो हप्तामा सङ्क्रमितहरु घटेका छन् । अहिले यस जिल्लामा कोरोनाका सङ्क्रमितको सङ्ख्या घटेको छ र यहाँका अस्पतालका शय्या पनि खाली हुँदै गएका छन् । करिब दुई साता अघिसम्म जिल्लामा कोरोना सङक्रमितको उपचार निकै कठिन थियो ।

अस्पतालमा शय्या पाउन पनि निकै मुस्किल हुन्थ्यो । अस्पताल परिसरमै विरामी राखेर उपचार गराइएका तस्बिरहरु विभिन्न सञ्चारमाध्यममा आउने गर्दथे भने यहाँका अस्पतालहरुमा कोरोनाका सङ्क्रमितको ज्यान नगएको दिन नै हुदैनथ्यो । शुरुमा अस्पतालमा शय्या मिलाउन र त्यसपछि अक्सिजन जुटाउन झन् समस्या थियो । पछिल्लो समयमा सङ्क्रमित घटेसँगै यी सबै समस्या हटेका छन् भने अस्पतालहरुमा शय्या खाली हुँदै गएका छन् ।

यसको पछिल्लो उदाहरण कोरोना विशेष अस्पताल बेलझुण्डीलाई लिन सकिन्छ । कोरोना सङ्क्रमित बिरामीहरुको उपचारका लागि अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि २५ शय्याको अस्पताललाई एक सय शय्यासम्म पुर्‍याइएको थियो । कैयौँ दिन त शय्या खाली नहुँदा बिरामीलाई अस्पतालको बरण्डामै राखेर उपचार गरिएको थियो । अहिले त्यो कठिन अवस्था पनि हटेको अस्पतालले जनाएको छ । कुनैबेला अस्पतालमा बिरामीका लागि शय्या खाली नहुने अस्पतालमा अहिले ३३ जनामात्र कोरोना सङक्रमित उपचाररत् छन् र उनीहरुमा पनि अक्सिजन या केहीको खाँचो महसुस भएको छैन भन्नुहुन्छ सो अस्पतालका व्यवस्थापक दोणर् वली ।

कोरोना सङ्क्रमण दर घट्दै गएपछि अस्पतालमा आउने सङ्क्रमितको सङ्ख्या समेत घट्दै गएको व्यवस्थापक वलीले जानकरी दिनुभयो । उहाँले भन्नुभयो “गत वैशाख २८ गते यस जिल्लामा मात्र कोरोना सङ्क्रमणबाट १७ जनाको मृत्यु भएको थियो । त्यस दिन यस अस्पतालमा मात्र आठ जनाको ज्यान गएको थियो ।”

त्यस समयमा अस्पतालमा बिरामीलाई शय्या पाउन नै निकै मुस्किल रहेको र अहिले भने अस्पताल आउने बिरामीको सङ्ख्या ४० प्रतिशतले घटेका व्यवस्थापक वलीले बताउनुभयो । उहाँले अस्पतालमा आउने बिरामीहरु मात्र नभएर पछिल्लो समय जिल्लामै सङ्क्रमितको सङ्ख्या घट्दै गएको पनि जानकारी दिनुभयो ।

घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना आइसोलेशन वार्डमा पनि सङ्क्रमित घटेका छन् । जिल्लामा कोरोना सङ्क्रमण दर घटेसँगै अस्पतालमा भर्ना हुने कोरोना सङक्रमित बिरामीको सङ्ख्या समेत घटेको प्रतिष्ठानका व्यवस्थापक राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमित बिरामीका लागि उपचारका लागि बनाइएको ५० शय्यामध्ये अहिले अस्पतालमा पाँच जनामात्र सङ्क्रमित उपचारत अवस्थामा रहेको उहाँले बताउनुभयो ।

उहाँले प्रतिष्ठानमा अहिले कोरोना परीक्षणको दर घटेसँगै अस्पतालमा भर्ना हुन आउने बिरामीको सङ्ख्या समेत घटेको बताउनुभयो । ‘‘केही समयअघि बिरामीलाई राख्नै मुस्किल हुन्थ्यो तर अहिले त्यस्तो छैन’’, उहाँले भन्नुभयो ‘‘अहिले त अधिकांश शय्या खाली नै छन् ।’’ उहाँले अहिले दैनिक ४० देखि एकसयको हाराहारीमा कोरोना परीक्षण हुने गरेको बताउनुभयो । यता कोरोनाका बिरामीलाई लक्षित गरी तुलसीपुरमा सञ्चालन गरिएको तुलसीपुर मेट्रो आइसोलेशनमा पनि आज ११ जनामात्र कोरोनाका बिरामीहरु उपचाररत् छन् । तुलसीपुरमा कोरोनाका बिरामीहरु अत्यधिक बढ्न थालेपछि गत वैशाख २८ गते सो अस्पताल तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो ।

उपमहानगरपालिकाको वडा नं ८को अश्वारामा सञ्चालनमा ल्याएको अस्पताल व्यवस्थापन तथा कोरोना महामारी नियन्त्रणका लागि यहाँका विभिन्न व्यक्ति र सामाजिक संघसंस्थाले पनि सहयोग गरिरहेको उपमहानगरपालिकाले जनाएको छ । यहाँका नागरिकहरुले आर्थिकदेखि अस्पताल व्यवस्थापनमा सहयोग गरेका पनि बताइएको छ । सो अस्पतालका लागि विदेशमा बस्दै आएका तुलसीपुर तथा पश्चिम दाङबासीहरुले पनि सहयोग गरेका छन् ।

नगरप्रमुख घनश्याम पाण्डेको पहलमा स्वदेशी तथा विदेशी संघसंस्थाहरुबाट अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । यहाँका युवाहरुले अस्पतालको लागि आर्थिक सहयोग अभियान पनि थालेका थिए । आफुहरुले थालेको अभियानबाट रु ११ लाख भन्दाबढी रकम सङ्कलन गरी अस्पताललाई हस्तारण गरेको समाजसेवी पदम पोख्रेलले जानकारी दिनुभएको छ । जिल्लाका १० वटा स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको सो अस्पताल नमूनायोग्य तथा सुविधायुक्त रहेको यहाँका नागरिकहरु बताउँछन् ।

सो अस्पताल सञ्चालनमा आएदेखि हालसम्म एकसय २९जना कोरोनाका बिरामीको उपचारकालगि आएको अस्पातलका कोभिड ‘फोकल पर्सन’ विमल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये ८० जना उपचारपछि निको भएर घर फर्केका छन् । तेत्तीस जनालाई थप उपचारको लागि रेफर गरिएको छ भने पाँच जनाको मृत्यु भएको थियो ।

हाल अस्पतालमा सात जना महिलासहित ११ जना बिरामी उपचाररत छन । पचास शय्याको अक्सिजनसहितको आइसोलेशन अस्पताल गत वैशाख २८ गतेरातीदेखि सञ्चालनमा ल्याइएको हो । “यहाँका नागरिकहरुले स्वतस्फूर्त रुपमा सहयोग गर्नुभएको छ, सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्दछाँै । सबैले गरेको सहयोगलाई केही दिनपछि पूणर् विवरणसहित सार्वजनिक गर्छौँ” उपप्रमुख माया आचार्यले भन्नुभयो । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले सहयोगी संस्था र पहलका लागि लाग्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

नगर प्रमुख पाण्डेले कोरोना विरुद्धको युद्धमा लड्दै जाँदा सहयोग पनि जुट्दै गएकाले आइसोलेशन सञ्चालनमा सफलता प्राप्त गरेको र अहिले सङ्क्रमण दरपनि घट्दो रहेको बताउनुभयो । उहाँले विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र नागरिकको सहयोगका कारण कोरोना विरुद्धको अभियानमा लड्न सहज भएको बताउनुभयो ।

त्यस्तै देउखुरीको लमहीमा रहेको देउखुरी कोरोना विशेष आइसोलेशनमा समेत कोरोना सङक्रमितको सङ्ख्या घट्दै गएको छ । पच्चीस शय्याको आइसोलेशन केन्द्रमा अहिले सात जनामात्र कोरोना सङक्रमितको उपचार भइरहेको सो केन्द्रले जनाएको छ । कुनै बेला एक दिनमा २३ जना सङ्क्रमितले उपचार गराएको यस केन्द्रमा अहिले बिरामी खासै आएका छैनन् ।

त्यस्तै शान्तिनगर गाउँपालिकामा रहेको कोरोना विशेष आइसोलेशनमा अहिले दुईजना मात्र सङक्रमित रहेको शान्तिनगर गाउँपालिकाले जनाएको छ । बीस शय्याको आइसोलेशनमा अहिले दुई जना सङक्रमितलाई राखेर उपचार भइरहेको शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो ।

यसैबीच जिल्लामा मङ्गलबार १३ जनामा मात्र कोरोना सङक्रमण पुष्टि भएको बताइएको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङका अनुसार मङ्गलबार ४० जनाको कोरोना परीक्षण गर्दा आठ महिला र पाँच पुरुष गरी १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले कोरोनालाई जितेका छन् ।

योसँगै जिल्लामा वैशाख यता कोरोनालाई जित्नेको सङ्ख्या सात हजार ४२ पुगेको छ भने सङक्रमितको सङ्ख्या सात हजार पाँच सय ९१ पुगेको छ । यसमध्ये दुई सय ७१ जना होमआइसोलेशनमा बसेका छन् । यस्तै ८४ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने १५ जना आइसियुमा उपचाररत रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको केन्द्रले जनाएको छ । जिल्लामा वैशाख यता हालसम्म कोरोनाबाट एक सय ९४ जनाको मृत्यु भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी र आइसियू सेवा शुरु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबारदेखि बहिरङ्ग सेवा (ओपिडी) सेवा र आइसियू सेवा शुरु गरेको छ । कोभिड- १९ महामारीको तीव्र सङक्रमणका कारण रोकिएको ओपिडी, शल्यक्रिया र आइसियू सेवा सोमबारदेखि शुरु गरिएको हो ।

प्रतिष्ठानले गत वैशाख १९ गतेदेखि ओपिडी र शल्यक्रिया जस्ता सेवाहरु बन्द गरेको थियो । पछिल्लो समय कोरोना सङ्क्रमणको दर घट्दै गएको तथा सर्वसाधारण बिरामीको सेवालाई मध्यनजर गर्दै ती सेवाहरु शुरु गरिएको प्रतिष्ठानका उपकुलपति प्राडा संगीता भण्डारीले जानकारी दिनुभयो ।

उहाँले आजदेखि नै आइसियू सेवा समेत शुरु गरिएको र जटिल प्रकृतिका रोगका बिरामीहरुको उपचार सुचारु गरिने जानकारी दिनुभयो । प्रतिष्ठान प्रशासनले साधारण बिरामी अस्पताल आउँदा एक्लै आउन र अशक्त, ज्येष्ठ नागरिक तथा बालबालिकाको हकमा एकजना मात्रै सहयोगी लिएर आउन आग्रह पनि गरेको छ ।

लमही अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

कोरोना सङ्क्रमणकोे व्यवस्थापनमा केही सहयोग पुगोस् भन्ने उदेश्यले क्यानडाबाट लमही अस्पताल र सिसहनियाँ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । लमही नगरपालिका— ५ स्थायी घरभई हाल क्यानडा बसोबास गर्दै आउनुभएका निरञ्जन थापाले साथीहरुसँग आर्थिक सङ्कलन गरी पठाएको तीन थान अक्सिजन कन्सन्ट्रेटर, दुईवटा शय्यालगायतका स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो ।

उक्त स्वास्थ्य सामाग्रीमध्ये दुई थान अक्सिजन कन्सन्ट्रेटर र दुईवटा शय्या लमही अस्पताललाई थापाका बुवा नरेन्द्र थापा र आमा पार्वतीदेवी थापाले सोमबार लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी, उपप्रमुख देवका बेलबासे र लमही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रञ्जिता महतोलाई हस्तान्तरण गर्नुभएको छ । यस्तै सिसहनियाँ स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर मेशिनसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

असार ८ सम्म थपियो निषेधाज्ञा

दाङमा निषेधाज्ञा एक हप्ता थपिएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले यस्तो निणर्य गरेको हो ।

जिल्लामा कोरोना सङक्रमणमा कमी आएपछि यसअघि गरिएका केही निणर्यलाई परिमार्जनगर्दै निषेधाज्ञालाई असार ८ गतेसम्म लम्ब्याउने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार त्यसपछि भने यहाँका होटल पनि सञ्चालन हुने भएका छन् । ती होटेलले सुरक्षा मापदण्ड पालना गरी खानेकुरा तयार गरेर प्याकिङ गरेर दिउँसो ३ बजेसम्म बेच्न पाउने भएका छन् ।

त्यस्तै सरकारी कार्यालय पनि दैनिक खुल्ने भएका छन् । जिल्लास्थित सरकारी कार्यालयहरु विहान १० बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने निणर्य भएको छ । त्यसैगरी यहाँको स्थानीय बजार विहान ६ बजेदेखि १० बजेसम्म खुल्ने, बैंक तथा वित्तीय संस्थाहरु विहान १० बजेदेखि दिउसो २ बजेसम्म खुल्ने निणर्यलाई यथावत् राखिएको छ । यसअघि असार १ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?