logo
२०७८ असार ७ सोमवार

दैनिक अध्यावधिक

image
1421

सङ्क्रमित

image
3456

निको भएका

image
51

मृत्यु भएका

मिति:असार ६, २०७८ (१७:३२)
स्राेत:https://covid19.mohp.gov.np/



लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा |


लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)


कर्मचारीतन्त्रका विशेषता
१. म्याक्स वेबरले वर्णन गरेका कर्मचारीतन्त्रका विशेषता उल्लेख गर्दै आधुनिक सार्वजनिक व्यवस्थापनमा यसको सान्दर्भिकताबारे लेखाजोखा गर्नुहोस् ।
 साङ्गठनिक संरचनामा आबद्ध भई वैधानिक अधिकारको विवेकपूर्ण प्रयोग गरी निर्धारित लक्ष्य हासिल गर्ने कर्मचारीको पेसागत समूह कर्मचारीतन्त्र हो । कर्मचारीतन्त्रका बारेमा धेरै विद्वान्ले कलम चलाए पनि जर्मनी समाजशास्त्री म्याक्स वेबरले यसलाई नजिकबाट उल्लेख गरेका छन् । उनले कर्मचारीतन्त्रको विशेषताबाट विषयवस्तु प्रस्ट पारेका छन् । म्याक्स वेबरले वर्णन गरेका कर्मचारीतन्त्रका विशेषतालाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः
क. पदसोपानमा आधारित :
– सङ्गठनका पदहरू तहगत शृङ्खलामा रहने, तहगत व्यवस्थाअनुरूप कर्मचारीलाई आदेश दिने, नियन्त्रण गर्ने, समन्वय गर्नेजस्ता कार्य गरिने, सङ्गठनको कार्य गर्दा कर्मचारीले तहगत व्यवस्थाको नियम
पालना गर्नुपर्ने,
ख. योग्यता प्रणालीको अवलम्बन :
– लिखित, मौखिक एवम् प्रयोगात्मक परीक्षाद्वारा योग्यता जाँच गरी कर्मचारी छनोट हुने, योग्यता, क्षमता, ज्ञान, सीप, अनुभवका आधारमा उपयुक्त जिम्मेवारी दिइने,
ग. ऐन नियममा आधारित :
– कानुनका पूर्ण परिपालना गर्ने, ऐन नियमअनुसार कार्य गर्ने,
घ. अव्यैयक्तिक सेवा :
– व्यक्तिले नभई संस्थाले सेवा गर्ने, कानुनका आधारमा निर्णय गर्ने, निष्पक्षता कायम गर्ने, कानुनका अगाडि सबै समान हुने,
ङ. निष्पक्षता र तटस्थता :
– राजनीतिक रूपमा तटस्थ रही निष्पक्ष सेवा प्रवाह गर्ने, राजनीतिक आस्थाका आधारमा आग्रह पूर्वाग्रह नराख्ने, निष्पक्ष व्यवहार गर्ने, सत्तापक्ष र प्रतिपक्ष सबै राजनीतिक दलबाट टाढा रहने,
च. निरन्तरता :
– तोकिएको उमेर तथा सेवा अवधिसम्म सेवामा रहिरहने, लामो समयसम्म सेवामा निरन्तर रहने हुँदा यसलाई स्थायी सरकारका रूपमा पनि लिइने,
छ. वृत्तिविकास :
– देश र जनताको सेवा गर्ने कार्यलाई पेसाका रूपमा लिई त्यसैमा आफ्नो भविष्य सुनिश्चित गर्ने, नियुक्ति, सरुवा, बढुवा, सेवा सुविधा, अवकाशलगायत वृत्तिविकासका सबै पक्ष कानुनद्वारा निर्दिष्ट हुने,
ज. सक्षमता :
– आपसमा कार्य विभाजन गरी कर्मचारीको क्षमताको अधिकतम उपयोग गरिने,
झ. लिखित अभिलेख :
– कर्मचारीले गरेका सम्पूर्ण निर्णय तथा कार्यको लिखित रूपमा अभिलेख राख्ने, संस्थागत स्मरण कायम गर्ने,
ञ. अनुशासनको पालना :
– कार्यालयमा अनुशासनमा रहने, मर्यादित व्यवहार गर्ने, तोकिएका आचरणको पालना गर्ने,
– आधुनिक सार्वजनिक व्यवस्थापनमा कर्मचारीतन्त्रको सान्दर्भिकता
– आधुनिक सार्वजनिक व्यवस्थापन मूलतः नतिजामुखी, पारदर्शी, मितव्ययी, सहभागितामूलक, जिम्मेवारी बोधलगायतका विशेषतायुक्त हुने गर्छ । यस्तो अवस्थामा प्रक्रियामुखी कानुनी कार्य गर्ने कर्मचारीतन्त्र आफैँमा ढिलासुस्ती हुने हुनाले वर्तमानमा यसको सान्दर्भिकताबारे विभिन्न प्रश्न आउने गरेको पाइन्छ । आधुनिक सार्वजनिक व्यवस्थापनमा कर्मचारीतन्त्रका राम्रा गुणको अनुशरण गर्ने र देखिएका कमजोरीमा सुधार गरेर यसको सान्दर्भिकता अझ बढाउन सकिन्छ । निम्नगुणले गर्दा यसको सान्दर्भिकता आधुनिककालमा पनि देखिन्छ :
– निष्पक्ष कार्यसम्पादन हुने,
– ऐन नियमको कार्यान्वयन हुने, समान व्यवहार हुने,
– सरकारको प्रतिनिधि भई जनताको नजिक रहेर सेवा प्रवाह हुने,
– राजनीतिक रूपमा तटस्थ र सेवा वितरणमा निष्पक्षता कायम हुने,
– आचरण र अनुशासनमा रहने,
– योग्यताको संरक्षण हुने, देश र जनताको निरन्तर सेवा गर्ने,
– स्थायी सरकारको प्रत्याभूति दिने,
कमजोर पक्षमा सुधार
– छोटो कानुनी प्रक्रियाको अवलम्बन गरेर छिटोछरितो कार्य गर्ने,
– सरोकारवालाको सक्रिय र सार्थक सहभागिता अवलम्बन गरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्ने,
– कार्य प्रणालीमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी पारदर्शिता, मितव्ययिता, चुस्तता, सरलता एवम् गुणस्तरता वृद्धि गर्ने,
– अनियमितताको नियन्त्रण गरी सुशासन कायम गर्ने,
– निर्णय प्रक्रियामा सुधार गरी नतिजामा जोड दिने,
– कर्मचारीको वृत्तिविकासका पक्षलाई अनुमानयोग्य र पारदर्शी बनाउने,
– समयमा निर्णय नगर्ने तथा जिम्मेवारी पन्छाउने प्रवृत्ति अन्त्य गर्ने,
– निजी क्षेत्रका राम्रा पक्षको अनुशरण गर्ने,
– राज्य प्रणालीमा निजी क्षेत्र, नागरिक समाज, सञ्जार जगत््लगायत सबैको सहभागिता अभिवृद्धि गर्ने,
– निरन्तर सुधार गर्दै देखिएका कमीकमजोरी हटाउँदै जाने,
– अन्त्यमा, कर्मचारीतन्त्र साङ्गठनिक स्वरूप हो, जसले कानुनको पालना गराउँछ । राज्यको अस्तित्व र दायित्वसँग गाँसिएको कर्मचारीतन्त्र आफैँमा निरन्तरयोग्य छ । यद्यपि, यसमा देखिएका ढिलासुस्ती, अपारदर्शी, जटिल कार्य पद्धतिलगायतका कमीकमजोरीमा सुधार गर्दै यसलाई थप जीवन्त बनाउनुपर्ने देखिन्छ ।

२. व्यावसायिक संस्थामा वित्तीय विवरणको भूमिकाबारे चर्चा गर्नुहोस् ।
 कुनै निश्चित अवधिमा व्यावसायिक संस्थामा भएका कार्यसम्पादन परिणाम र सो अवधिको अन्त्यको यथार्थ आर्थिक अवस्था देखाउन तयार गरिने विवरण नै वित्तीय विवरण हो । यो व्यावसायिक संस्थाको कार्यप्रगति विवरण हो । यसबाट व्यावसायिक संस्थाको कार्यसम्पादन मूल्याङ्कन गर्न सकिन्छ । यसले सेयरधनी लगानीकर्ता, प्रबन्धकर्ता, साहु, कर्मचारी, कर्मचारी ट्रेड युनियन, सरकार तथा अन्य सरोकारवालालाई आवश्यक पर्ने सूचना प्रदान गर्छ ।
व्यावसायिक संस्थाको वित्तीय विवरण :
– क. नाफा नोक्सान खाता/आय विवरण
– ख. वासलात
– ग. नगद प्रवाह विवरण
– व्यावसायिक संस्थाको विगत र वर्तमान अवस्था समीक्षा गर्दै भविष्यका लागि नीति तथा योजना बनाउने, वर्तमानमा कसरी सञ्चालन गर्नेलगायतका समग्र विषयमा वित्तीय विवरणले बहुआयामिक भूमिका खेल्छ । यसको भूमिकालाई निम्नअनुसार चर्चा गर्न सकिन्छ ः
– व्यावसायिक संस्थाको राम्रो पक्ष र नराम्रो पक्ष मूल्याङ्कन गर्न सहयोग गर्ने,
– व्यावसायिक संस्थाको आन्तरिक नियन्त्रणको अवस्था पहिचान गरी त्यसमा थप सुधार गर्न मद्दत गर्ने,
– सरकारले प्राप्त गर्ने राजस्व निर्धारण गर्न सहयोग गर्ने,
– उपलब्ध स्रोत साधनको अधिकतम परिचालन भए नभएको यकिन गर्दै नियन्त्रण प्रणालीलाई थप बलियो बनाउन सूचना उपलब्ध गराउने,
– कर्मचारी तथा कर्मचारी युनियनका माग, आवश्यकता सम्बोधन गर्न र व्यवस्थापन तथा कर्मचारी युनियनबीच असल सम्बन्ध स्थापित गर्न सहयोग गर्ने,
– साहु तथा ऋणदातालाई व्यावसायिक संस्थाप्रति निर्णय गर्न आवश्यक पर्ने वित्तीय सूचना उपलब्ध गराउने,
– एकै प्रकृतिका व्यवसाय गर्ने व्यावसायिक संस्थाको कार्यप्रगति तुलना गर्न सहयोग गर्ने,
– व्यावसायिक संस्थाको आर्थिक अनुशासन तथा संस्थागत सुशासनलाई थप सशक्त बनाउन मद्दत गर्ने,
– भविष्यमा व्यावसायिक संस्थाको निरन्तरता, बिक्री वा खारेजी के गर्ने भन्नेबारेमा लगानीकर्तालाई निर्णय गर्न आधार प्रदान गर्ने,

३. निजामती सेवामा अनुशासनको महŒवबारे लेख्नुहोस् ।
 ऐन नियमअनुसार प्रदर्शन गरिने व्यवहार एवम् आचरण अनुशासन हो । यो व्यक्तिको स्वनियन्त्रण हो । यसको पालना नहुँदा कानुनी कारबाही हुने गर्छ । निजामती सेवा राष्ट्रनिर्माण गर्ने एक संयन्त्र हो । यो समाज परिवर्तनको संवाहक पनि हो । यसले मूलतः नियमित कार्य, आकस्मिक कार्य र विकासात्मक कार्य गर्छ । जनताको घरदैलोमा सेवा प्रवाह गर्नेदेखि राजस्व सङ्कलन, सोको खर्च, विदेशी सम्बन्धलगायतका कार्य गर्नुपर्ने हुन्छ । यी सबै कार्य गर्दा अनुशासनको आवश्यकता पर्छ । त्यसैले निजामती सेवामा अनुशासनको महŒव ठूलो हुने गर्छ । जसलाई निम्नबुँदाबाट उल्लेख गर्न सकिन्छ
– निजामती सेवाको लक्ष्य प्राप्तिमा सम्पूर्ण कर्मचारीलाई सामूहिक रूपमा उन्मुख गर्न,
– कर्मचारीबीच कार्यक्षमता र कार्यप्रभावकारिता अभिवृद्धि गर्न,
– कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउन,
– निजामती सेवामा द्वन्द्व सिर्जना हुन नदिन,
– निजामती सेवाभित्र आचरणगत व्यवहारमा वृद्धि ल्याउन,
– गैरकानुनी कार्य गर्ने कर्मचारीलाई सचेत गर्न, चेतावनी दिन एवम्
दण्डित गर्न,
– निजामती सेवामा कार्य गर्ने वातावरण असल बनाउन,
– समग्रमा निजामती सेवाको ख्याती वृद्धि गर्न

४. स्थायी लेखा नम्बर भनेको के हो ? छोटो परिचय दिनुहोस् ।
 करदाताको पहिचान दिने स्थायी सङ्केत अङ्कलाई ‘प्यान’ भनिन्छ । करदाताले व्यवसाय गर्ने स्थान, व्यवसायको प्रकृति वा अन्य विवरण बदले पनि यो एकपटक लिइसकेपछि सो करदाताका लागि सधैँभरि रहिरहने हुन्छ, त्यसैले यसलाई स्थायी लेखा नम्बर भनिएको हो । प्यान (पीएएन) को पूरा रूप ‘पर्मानेन्ट अकाउन्ट नम्बर’ हो । यो व्यवसाय, रोजगारी एवम् लगानीको पहिचान जनाउने नम्बर पनि हो । व्यक्तिका लागि यो कर तिर्ने प्रयोजनका लागि प्रयोग गरिन्छ । करमा यो व्यक्तिगत सूचना भण्डार गर्ने कार्यका लागि प्रयोग गरिन्छ । कम्प्युटर प्रणालीबाट सिर्जना हुने यो सङ्केत नौ अङ्कको हुन्छ । यसलाई विद्युतीय प्रणाली (इन्टरनेट) बाट पनि प्राप्त गर्न सकिन्छ, जसलाई इ–प्यान भनिन्छ । यसका लागि आन्तरिक राजस्व विभागको वेबसाइट धधध।ष्चम।नयख।लउ मा गई तहाँ उपलब्ध अनलाइन फाराम भरी व्यक्तिगत एवम् व्यावसायिक इ–प्यान प्राप्त गर्न सकिन्छ । उद्योग, व्यापार, पेसा, व्यवसाय, रोजगारी गर्ने व्यक्तिले आफूले गर्ने कारोबार, बैङ्कसँग हुने बैङ्किङ कारोबार, आफूले जारी गर्ने बिल विजक, खाता बही, कागजात, आय विवरणलगायत करसम्बन्धी सम्पूर्ण विवरणमा प्यानको उल्लेख गर्न अनिवार्य भएकाले प्यान लिनुपर्छ । यो नम्बरले करदातालाई एउटा विशिष्ट सङ्केतद्वारा छुट्टै पहिचान दिने भएकाले आफ्नो व्यवसाय गर्न र सोमा सम्बद्ध राजस्व दाखिला गर्न यो प्यान लिएपछि सहज हुन्छ ।

५. नेपाल विद्युत् प्राधिकरणका अधिकार के–के हुन् ? लेख्नुहोस् ।
 विद्युत् उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्युत् आपूर्ति गर्न स्थापना गरिएको नेपाल विद्युत् प्राधिकरणका अधिकार निम्न छन् ः
– ग्राहकबाट विद्युत् महसुल र सेवा शुल्क उठाउने,
– विदेशी मुलुकलाई विद्युत् बिक्री गर्ने,
– विदेशी मुलुकबाट विद्युत् खरिद गर्ने,
– विद्युत् प्राधिकरणको कोषमा रहेको रकम लगानी गर्ने,
– विद्युत्को अनाधिकार उपभोग नियन्त्रण गर्ने,
– निजी क्षेत्रबाट उत्पादित विद्युत शक्ति खरिद गर्ने,
– स्वदेशी संस्था बैंक वा व्यक्तिबाट ऋण लिने,
– विदेशी सरकार वा विदेशी संस्था र अन्तर्राष्ट्रिय संस्थाबाट ऋण लिने,
– आफ्नो काम र कर्तव्य पूरा गर्नका लागि अपरिहार्य र आवश्यक सबै काम गर्ने

६. विद्यालयमा शिक्षक तथा विद्यार्थीले पालन गर्नुपर्ने आचारसंहिता के–के हुन् ? उल्लेख गर्नुहोस् ।
 विद्यालय अध्ययन अध्यापन गर्ने गराउने पाठशाला हो । यसमा विद्यार्थी र शिक्षक दुवै अनुशासित हुनुपर्छ । त्यसैले विद्यालयमा शिक्षक तथा विद्यार्थीले पालन गर्नुपर्ने आचारसंहिताको व्यवस्था हुन्छ । यस्ता आचारसंहिताको पालन भए नभएको अभिलेख शिक्षकको हकमा प्रधानाध्यापकले र प्रधानाध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिले राख्नुपर्ने हुन्छ । आचारसंहिता पालन नभएको भए त्यसको विवरण सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा पठाउनुपर्ने हुन्छ । विद्यालयमा शिक्षक तथा विद्यार्थीले पालन गर्नुपर्ने आचारसंहिता निम्नानुसार छन् :
शिक्षकले पालन गर्नुपर्ने आचारसंहिता :
विद्यार्थीलाई योग्य नागरिक बनाउने उद्देश्य लिई अध्ययन र अध्यापनलाई आफ्नो मुख्य लक्ष्य सम्झनुपर्ने,
– आज्ञाकारिता, अनुशासन, सद्भावना, सहयोग, सदाचार, सहानुभूति, धैर्य र सच्चरित्रतालाई प्रोत्साहन दिनुपर्ने,
– कुनै भाषा, सम्प्रदाय तथा धर्मविरोधी भावना शिक्षक तथा विद्यार्थी वर्गमा फैलाउन नहुने,
– सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र जिल्ला शिक्षा अधिकारीको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्न नहुने,
– विद्यालय एवम् शैक्षिक संस्थाको माध्यमद्वारा राष्ट्रिय भावना जागृत गरी देशमा भावनात्मक एकता ल्याउन काम गर्नुपर्ने,
– विद्यार्थीलाई शारीरिक तथा मानसिक यातना दिन नहुने,
विद्यार्थीले पालन गर्नुपर्ने आचारसंहिता :
– शिक्षकको आज्ञापालन र आदर गर्नुपर्ने,
– विद्यालय र विद्यालयबाहिर जहाँसुकै अनुशासनमा रहनुपर्ने,
– राष्ट्रियता, भाषा र संस्कृतिको उत्थानको निमित्त सधैँ प्रयत्नशील रहनुपर्ने,
– विद्यालयले आयोजना गरेको कार्यक्रममा सक्रिय रूपमा भाग लिनुपर्ने,
– सबैसँग शिष्ट व्यवहार गर्नुपर्ने,
– विद्यालय व्यवस्थापन समितिले निर्धारण गरेका अन्य आचारसंहिता
पालना गर्नुपर्ने ।

प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?