logo
२०८१ बैशाख ८ शनिवार



धुलो दूध मात्र होइन खेर जाने तरकारी पनि कुखुराका दाना

अर्थ |


धुलो दूध मात्र होइन खेर जाने तरकारी पनि कुखुराका दाना


वसन्त पराजुली

भरतपुर, जेठ ४ गते । धुलो दूध (एसएमपी)को कुखुरामा बजार खोजिएजस्तै बन्दा, काउली, साग, प्याज, लसुनजस्ता तरकारी एवं इपिलइपिल र वर्षिम जस्ता घाँस पनि कुखुराको दाना बनाउन उपयोगी देखिएको छ । भारतबाट दानाको कच्चा पदार्थ ल्याउन सकस भइरहेका बेलामा यता बिक्री नभएर फालिएका बन्दा, काउली, साग, प्याज, लसुनलगायतका तरकारीजन्य वस्तुबाट कुखुराका लागि पोसिलो दाना बनाउन सकिने विज्ञहरूले औँल्याएका हुन् ।
वर्षिम र इपिलइपिलको घाँस मिसाउन सके दानामा प्रोटिनको मात्रासमेत थपिने पोषणविद् प्रा. ईश्वर प्रकाशचन्द्र तिवारीले बताउनुभयो । “बन्दा, काउली र सागमा भिटामिन सी र आयोडिनको मात्रा पाइन्छ, जुन कुखुरालाई चाहिने तत्त्व हो,” कृषि तथा वन विश्वविद्यालय रामपुरका प्राध्यापकसमेत रहनुभएका तिवारीले भन्नुभयो, “लसुन र प्याजले त रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन आवश्यक तत्त्व दिन्छ । ” लसुन र प्याजमा हुने फस्फोरसको मात्राले विशेष त प्यारेन्ट जातका भाले कुखुरालाई प्रजनन क्षमता बढाउन सहयोगी हुने उहाँको धारणा छ ।
“दानाको १५ प्रतिशतसम्म बन्दा, काउली, साग, वर्षिमको घास र इपिलइपिल घाँस मिसाएको धुलो मिसाउन सकिन्छ,” उहाँले अगाडि भन्नुभयो, “यसरी दानाका लागि प्रयोग गरिने तरकारी भने विषादी प्रयोग नगरी उत्पादन गरिएको हुनुपर्छ । ” लसुन र प्याज भने आहारको ५ प्रतिशतसम्म दिन सकिने उहाँले बताउनुभयो ।
अहिले नेपालमा उत्पादन हुने दाना इनर्जीका लागि मकै र प्रोटिनका लागि भटमास वा गहुँ प्रयोग गर्ने गरिन्छ । तरकारी र घाँस प्रयोग गर्न सकिए मकै र भटमासको प्रयोगसमेत घटाउन सकिने
तिवारीको भनाइ छ । विश्वविद्यालयको पशु सङ्कायतर्फका डिन प्राडा होमबहादुर बस्न्यात कुखुराका लागि सन्तुलित आहार बनाउन तरकारी र घाँसपात उपयोगी हुने बताउनुहुन्छ । कुखुरा विज्ञसमेत रहनुभएका बस्न्यातले कुखुराका लागि चाहिने सन्तुलित आहारमा प्रोटिन, कार्बोहाइडे«ट, म्याग्नेसियम, कोवाल्ड, मिनिरल, आइरनलगायतका तत्त्व आवश्यक गर्ने र सन्तुलित आहार बनाउन तरकारी तथा घाँसको प्रयोग आवश्यक
रहेको बताउनुभयो ।
बन्दा, काउली र साग हरियोमै दिँदा त्यसमा पानीको मात्रा बढी हुने भएकाले सुकाएर दाना बनाउन सकिने उहाँको सुझाव छ । “गाउँघरमा पालिने लोकल कुखुरा पनि त यस्तै आहारा खाएर हुर्किएका हुन्छन् । यति हो, व्यावसायिक कुखुराका लागि दानामा चाहिने तत्त्व हाम्रै स्रोत र साधनवाट पूरा गर्न सकियोस् भन्ने मान्यता हो,” उहाँले भन्नुभयो ।
विश्वविद्यालयका सहप्राध्यापक डा. रेवन्दकुमार भट्टराई घाँस र तरकारीहरूले मात्रै व्यावसायिक कुखुरालाई चाहिने इनर्जी र प्रोटिन दिन नसक्ने बताउनुहुन्छ । “एउटा अण्डा दिने कुखुरालाई ४६२ केजी क्यालरी आवश्यक पर्छ । अब घाँस र तरकारीबाट उत्पादन गरिने दानामा यो क्यालरीको मात्रा पुग्छ कि पुग्दैन हेर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो ।
नेपालमा अहिले दैनिक तीन हजार मेट्रिक टन दाना खपत हुन्छ । यो दानाका लागि प्रयोग हुने मकै र भटमास नेपालमा पर्याप्त नभएपछि भारतबाट आयात गनुपर्ने बाध्यता छ । कुखुरापालक किसानसमेत रहनुभएका उद्योग सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष तिलोचन कँडेल अहिले नेपालमै उत्पादन हुने कच्चा पदार्थ दानामा तरकारीजन्य वस्तु मिलाउन सकिए दानाका लागि बर्सेनि विदेशिने अर्बौं रुपियाँ स्वदेशमै रोक्न सकिने धारणा राख्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?