logo
२०८० चैत्र १५ बिहीवार



तरल अक्सिजन ल्याउन निगमको पहल

अर्थ |


तरल अक्सिजन ल्याउन निगमको पहल



लक्ष्मण दर्नाल

काठमाडौँ, जेठ २ गते । कोरोना महामारीका बेला अक्सिजनको अभाव देखिएपछि नेपाल आयल निगमले तरल अक्सिजन आयात गर्ने तयारी अघि बढाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण गर्दै आएको निगमले वर्तमान अवस्थालाई ध्यानमा राखी तरल अक्सिजन आयातमा समन्वय गर्न लागेको जनाइएको छ ।
भारतबाट तरल अक्सिजन खरिदका लागि नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई पत्राचार गरेको छ । यस्तै निगमले खरिद गर्नका लागि सरकारको अनुमति चाहिने भएकाले अनुमतिका लागि निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि पत्राचार गरेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग पनि छलफल गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
प्रवक्ता उपाध्यायले भन्नुभयो, “महामारीमा अहिले अक्सिजनको अभाव छ । त्यसो भएको हुनाले निगमले तरल अक्सिजनका लागि समन्वय र सहजीकरण गर्न खोजेको हो, हामीले सीधै खरिद गर्न मिल्दैन । आपूर्ति मन्त्रालयले अनुमति दिनुपर्छ, सरकारले अनुमति दिए हामीले ल्याउन
पहल गर्छौं । ”
निगमका अनुसार भारतमा उत्पादन अक्सिजन भारत सरकारले वितरण गर्दै आएको छ । नेपालको सीमाबाट नजिक हुने र रुट पनि सहज हुने भएकाले भारतको मुथुरामा उत्पादन भएको अक्सिजन ल्याउन सहज हुनेछ ।
मथुराबाट एलपी ग्यास ल्याइने हुँदा रुट सहज हुने अनुमान निगमको छ तर यसका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने निगमले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई अनुरोध गरेको जनाएको छ । निगमको पत्र पराराष्ट्र मन्त्रालयमा पठाइएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
नेपाल आयल निगम आधिकारिक बिक्रेता भएकाले इन्डियन आयल कर्पोरेसनले उत्पादन गर्ने अक्सिजन नेपाल आयल निगमलाई दिन अनुरोध गर्दै कूटनीतिक पहल पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?