logo
२०८० चैत्र १५ बिहीवार

   सरकारी अनुगमनको निष्कर्ष   



निजी अस्पतालमा शुल्क फरक

अर्थ |


निजी अस्पतालमा शुल्क फरक


गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २८ गते । सरकारको संयुक्त बजार अनुगमन टोलीले काठमाडौँ उपत्यकाका निजी अस्पतालहरूबाट उपलब्ध सेवा, शय्या, रेम्डेसिभिर औषधि, अक्सिजनलयायतका सेवाको शुल्क अस्पतालैपिच्छे फरक भेटिएको जनाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको औषधि व्यवस्थापन विभाग, स्वास्थ्य सेवा विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नेपाल प्रहरीसमेतको संयुक्त बजार अनुगमन टोलीले उपत्यकाका नर्भिक, शहीद मेमोरियल कलङ्की, ब्लुक्रस त्रिपुरेश्वर, वयोधा बल्खु, नेपाल नेसनल अस्पताललगायतको अनुगमन गर्ने क्रममा यस्तो पाइएको हो ।
विभागका निर्देशक शिवराज सेढाईंले ती अस्पतालको अनुगमनका क्रममा अस्पतालमा बिरामीको अनुपातमा उपलब्ध शय्या सङ्ख्या अपुग रहेको, अस्पतालमा नै तोकिएको स्वास्थ्य मापदण्ड पालना नभएको, अस्पतालपिच्छे एउटै सेवाको शुल्क असमान रहेको पाइएको बताउनुभयो ।
पछिल्लो पटक अस्पतालमा शय्याको अभाव र शुल्कको अनियमिततालगायतका विषयमा विभागमा आएका गुनासोका आधारमा विभागको नेतृत्वमा उपत्यकाका अस्पतालको अनुगमन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
निर्देशक सेढाईंका अनुसार यसअघि विभागले मिनभवनस्थित सिभिल अस्पताल, चाबहिलको ओम अस्पताल र मेडिकेयर, सिनामङ्गलको काठमाडौँ मेडिकल कलेज (केएमसी), सुकेधाराको ह्याम्स, टोखाको ग्रान्डी र मेट्रो अस्पतालमा अनुगमन गरेको थियो । उहाँले अनुगमनका क्रममा उक्त औषधिको अधिक मूल्य पाँच हजार एक रुपियाँ लिनुपर्नेमा अधिकांश अस्पतालमा तोकिएको मूल्यभन्दा अधिक लिएको पाइएको जानकारी दिनुभयो ।
विभागका अनुसार अस्पतालबाट उपलब्ध हुने सेवा शुल्कमा देखिएको अनियमितताको विषयमा छानबिनका लागि विभागले गत शुक्रबार नै उपत्यकामा सञ्चालित २३ वटा अस्पताललाई तीन दिन (कार्यदिन)भित्र उपलब्ध सेवा र त्यसको मूल्य निर्धारणको यथार्थ प्रमाण पेस गर्न निर्देशन दिएको छ । अस्पतालबाट उपलब्ध हुने सेवा शुल्कमा मूल्य अन्तर भएको पाइएको भन्दै विभागले ती अस्पताललाई उपलब्ध सेवामा के कति शुल्क हो र के आधारमा शुल्क निर्धारण गरिएको हो, स्पष्ट खुलाउन निर्देशन दिएको छ ।

 अक्सिजन उद्योगको अनुगमन
विभागले चोभारस्थित सीता प्रडक्ट्स प्रालि र एभरेस्ट ग्यास उद्योगको अक्सिजन सिलिन्डर फिलिङ सेन्टरको स्थलगत अनुगमन गरी उत्पादनको र वितरणको अवस्थाबारे जानकारी लिएको जानकारी गराएको छ । सीता प्रडक्ट्स प्रालिले पूर्ण क्षमतामा दैनिक (चौबिसै घण्टा सञ्चालन गरी) सात सय सिलिन्डर अक्सिजन भरी सीधै अस्पतालहरूमा आपूर्ति गरेको पाइएको र तीन वर्षदेखि बन्द एभरेस्ट ग्यास उद्योगले प्लान्ट मर्मत गरी पुनः सञ्चालन ल्याउने तयारी गरेको पाइएको विभागले जनाएको छ । विभागका अनुसार उक्त एभरेस्ट उद्योग सञ्चालनमा आएपछि दैनिक सात सय सिलिन्डर उत्पादन गर्न सक्नेछ ।
 

 मासु, खाद्यान्न र औषधि पसललाई जरिवाना
उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले अनुचित व्यापारिक क्रियाकलाप गर्ने तीनवटा मासु पसललाई जरिवाना गरेको छ । विभागका अनुसार काठमाडौँ जोरपाटीमा रहेका अलि मासु पसल, जय भीमसेन मिट सप र आले मासु पसलले
उपभोक्तामाथि मनलाग्दी मूल्य लिनुका साथै अनुचित कारोबार गरेको पाइएपछि ती पसललाई उपभोक्ता संरक्षण ऐनअनुसार जरिवाना गरिएको हो ।
अनुगमन टोलीले अलि मासु पसल र जय भीमसेन मिट सपले खरिदको बिल बिजक देखाउन नसकेका कारण पाँच÷पाँच हजार रुपियाँका दरले जरिवाना गरिएको छ भने आले मासु पसलले अनुचित व्यापार गरेको ठहर गरी निजलाई २० हजार रुपियाँ जरिवाना गरिएको विभागका निर्देशक शिवराज सेढाईंले जानकारी दिनुभयो ।
यस्तै विभागका अनुसार आमुसर्ग ट्रेडर्स (खाद्य पसल) र चन्द्रलोक किराना पसल (खाद्यान्न)ले खाद्य सामानको खरिद र बिक्री बिलबिजक देखाउन नसकेकाले पाँच हजार जरिवाना गरिएको छ ।
त्यसैगरी विभागको अनुगमन टोलीले काठमाडौँ बौद्धस्थित नेपा मेड्रल प्रालि (औषधि पसल) र ललितपुर महालक्ष्मीस्थित ओम आरोग्य प्रालि (फार्मेसी)लाई २०÷२० हजार रुपियाँ जरिवाना
गरेको छ ।
नेपा मेड्रल प्रालिले कम मूल्यको सेनिटाइजरको अधिकतम मूल्य (एमआरपी) बढाएर बिक्री गरेको उजुरीका आधारमा र ओम आरोग्य प्रालिलाई औषधि, मास्क, सेनिटाइजरलगायतको खरिद बिल देखाउन नसकेका कारण जरिवाना गरिएको विभागले
जनाएको छ ।
कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञामा बजारमा अनुचित व्यापारिक कारोबारमा वृद्धि हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

 उपत्यकाबाहिर पनि अनुगमन
यसैबीच उपभोक्ता संरक्षण विभागले उपत्यकाबाहिर रहेका आफ्ना कार्यालयमार्फत पनि अनुगमनलाई तीव्रता दिएको जनाएको छ । विभागको विराटनगर कार्यालयले मोरङ जिल्लाको विराटनगर मनपा–२ मा सञ्चालित यश फार्मेसी र बिनु फार्मेसीले मास्क र सेनिटाइजरको मनलाग्दी मूल्यमा कारोबार गरेको पाइएपछि जरिवाना गरेको छ । सो कार्यालयका अनुगमन टोलीले यश फार्मेसीलाई पाँच हजार र बिनु फार्मेसीलाई २० हजार रुपियाँ जरिवाना गरेको विभागले जनाएको छ ।
मोरङ बूढीगङ्गा गाउँपालिका–२ रहेको विज्ञान फार्मेसीले मञ्जरी आयुर्वेद औषधि उद्योगबाट उत्पादन भएका रब क्लिर ब्रान्डको १२० एमएलको सेनिटाइजर ८० रुपियाँमा खरिद गरी १६५ रुपियाँमा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको छ । विभागको विराटननगर कार्यालयको अनुगमन टोलीले उक्त फार्मेसीलाई अनुचित कारोबार गरेको पाइएपछि दुई लाख रुपियाँ जरिवाना गरेको विभागले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?