logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना सङ्क्रमण स्थिर मृतक सङ्ख्या बढ्यो

मुख्य समाचार |


कोरोना  सङ्क्रमण स्थिर मृतक सङ्ख्या बढ्यो



गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २८ गते । राजधानी उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या केही कम भए पनि समग्रमा देशभर सङ्क्रमण घट्न सकेको छैन । सङ्क्रमण स्थिर रहेसँगै मृतकको सङ्ख्या पनि अप्रत्याशित रूपमा बढ्न थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार १३९ जना सङ्क्रमितको मृत्यु भएको छ । आइतबार ८८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप नौ हजार २७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कुल १७ हजार ६३२ जनाको पीसीआर र ७८८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा नौ हजार २७१ सङ्क्रमित पाइएका हुन् । कुल सङ्क्रमितमध्ये हाल ९३ हजार १४१ सक्रिय सङ्क्रमित छन् । हाल ४२७ जना क्वारेन्टाइनमा छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा चार हजार सात सङ्क्रमित निको भएका छन् । योसँगै कोरोना जित्नेको सङ्ख्या तीन लाख छ हजार ७९४ पुगेको छ । यो दर कुल सङ्क्रमितको ७६ प्रतिशत हो । काठमाडौँ उपत्यकामा भने सङ्क्रमणमा केही कमी भएको देखिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप तीन हजार ६०७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । अघिल्लो दिन यो सङ्ख्या चार हजार १९८ थियो । मन्त्रालयका अनुसार काठमाडौँका तीन जिल्लामध्ये काठमाडौँमा दुई हजार २७५, भक्तपुरमा ३२७ र ललितपुरमा ५०५ गरी थप तीन हजार ६०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोे छ ।
यसैबीच देशभर आईसीयू र भेन्टिलेटरमा उपचार गराउनेको सङ्ख्या पनि बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९१० सङ्क्रमितले आईसीयूमा र २९५ सङ्क्रमितले भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

निषेधाज्ञा थप्ने तयारी
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा १५ दिनसम्म थप गर्ने विषयमा छलफल भएको छ । काठमाडौँका प्र्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा १५ दिनसम्म थप गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । “यो कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (सीसीएमसी)ले दिएको सुझाव हो”, उहाँले भन्नुभयो, “सोहीअनुसार थप गर्ने विषयमा छलफल भएको छ ।”
उपत्यकामा कोरोना सङ्क्रमणको महामारी घट्नुको सट्टा झन् भयावह बन्दै गएपछि एकै पटक दुई हप्तासम्म निषेधाज्ञा जारी गर्ने विषयमा छलफल भएको हो । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच सोमबार भएको छलफलमा निषेधाज्ञा जेठ १२ सम्म लम्ब्याउने तयारी भएको हो यद्यपि निर्णय भने मङ्गलबार मात्र हुनेछ ।
कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि यही १६ गतेबाट पहिलो पटक हप्ता दिनका लागि निषेधाज्ञा जारी भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?