logo
२०८१ बैशाख ८ शनिवार



निषेधाज्ञाको प्रभाव औद्योगिक क्षेत्रमा, ७० प्रतिशत सञ्चालनमा

अर्थ |


निषेधाज्ञाको प्रभाव औद्योगिक क्षेत्रमा, ७० प्रतिशत सञ्चालनमा


मकवानपुर समाचारदाता

हेटौँडा, वैशाख २५ गते । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न हेटौँडा उपमहानगरपालिकासहित जिल्लाका चार स्थानीय तहमा गरिएको निषेधाज्ञाको प्रभाव औद्योगिक क्षेत्रमा परेको छ । आइतबार रातिबाट निषेधाज्ञा जारी भएसँगै हेटौँडा औद्योगिक क्षेत्रका उद्योगहरूले उत्पादन कटौती गर्न थालेका छन् ।
औद्योगिक क्षेत्रमा रहेका उद्योगहरू अहिले ७० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा छन् । उद्योगहरू दिउँसो सञ्चालन भए पनि राति भने सीमित सङ्ख्यामा मात्र सञ्चालन भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापनले जनाएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलका अनुसार निषेधाज्ञा जारी भएपछि उद्योगहरू ७० प्रतिशत क्षमतामा मात्र सञ्चालन भइरहेका छन् । उहाँले औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरूले सामान्य अवस्थामा खपत गर्ने विद्युत् र अहिले दिउँसोको विद्युत्को लोड हेर्दा ७० प्रतिशत उपयोग गरेको पाइएकाले उद्योगहरू पूर्ण क्षमतामा नचलेको पाइएको बताउनुभयो । उहाँले कम कामदार–कर्मचारी रहेका अधिकांश उद्योगले कामदार–कर्मचारीहरू उद्योगभित्रै राखेर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
हेटौँडा औद्योगिक क्षेत्रमा चालू अवस्थामा रहेका ११२ उद्योगमध्ये निषेधाज्ञा जारी भएपछि ३० वटाभन्दा बढी उद्योग बन्द भएका छन् । बाँकी उद्योगलाई आवश्यक कच्चा पदार्थ आयात र उत्पादित वस्तु बजारमा आपूर्ति गर्न अहिलेसम्म सहज अवस्था भएकाले उद्योगहरूले उत्पादनलाई निरन्तरता दिँदै आएका छन् तर पछिल्लो समयमा माग घट्दै गएको र निषेधाज्ञाको समय लम्बिएर पसल, व्यवसाय र निर्माणका काम बन्द हुने क्रम बढ्दै गएमा उद्योगहरूले मजदुरसँगै उत्पादनमा थप कटौती गर्ने देखिएको छ ।
स्थानीय प्रशासनले उद्योगमा कार्यरत कामदार–कर्मचारीलाई बिहान उद्योगमा लैजान र बेलुका घर फिर्ता गर्न सवारी साधन सञ्चालन गर्न सहज बनाएका कारण उद्योग सञ्चालनमा सहज भएको छ । उत्पादनको माग हुन छाडेपछि दैनिक उपभोग्य वस्तु उत्पादन गर्नेबाहेकका उद्योग बन्द गर्नुको विकल्प नहुने औद्योगिक क्षेत्र व्यवस्थापक कँडेलले बताउनुभयो ।
निषेधाज्ञा जारी भएसँगै बन्द गरिएको हेटौँडा औद्योगिक क्षेत्रस्थित एन्टारटिक बिस्कुट उद्योग बिहीबारदेखि सञ्चालनमा ल्याइने भएको छ । स्थानीय प्रशासनले उद्योगमा कार्यरत कामदार–कर्मचारीलाई ल्याउन लैजान सवारी पासको व्यवस्था गरेपछि बिहान ६ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म र साँझ ६ः०० बजेदेखि भोलिपल्ट बिहान ६ः०० बजेसम्म एउटा मात्र प्लान्ट सञ्चालन गर्नेगरी उद्योगले उत्पादन थाल्ने भएको हो ।
स्थायी र ज्यालादारी गरी तीन सयभन्दा बढी कामदार–कर्मचारीले काम गर्दै आएको उद्योगमा एक पटकमा ८० जना मात्र कामदार–कर्मचारी राखेर उद्योग सञ्चालन गर्न लागेको उद्योगका प्रशासन प्रबन्धक रामहरि न्यौपानेले जानकारी दिनुभयो । उहाँले स्थायी कामदार–कर्मचारी मात्र राखेर उद्योग सञ्चालन गर्न लागेको बताउँदै उत्पादन क्षमताभन्दा कम क्षमतामा उद्योग सञ्चालन हुने बताउनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?