logo
२०८१ बैशाख ७ शुक्रवार



कर दाखिलाको म्याद थप्न माग

अर्थ |


कर दाखिलाको म्याद थप्न माग


गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २२ गते । सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएको भन्दै निजी क्षेत्रका संघ संस्थाले समय थप गर्न सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले महामारीका कारण सिर्जित कठिन परिस्थितिका कारण कर दाखिला गर्न समस्या भएकाले अवस्था सहज हुनासाथ कर रकम र विवरण बुझाउने भएकाले त्यसमा कुनै थप शुल्क र जरिवाना नलिन पनि सरकारसँग माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को नयाँ प्रकारको सङ्क्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाई भूभागमा निषेधाज्ञा जारी रहेका कारण सरकारलाई बुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको हो ।
महासङ्घले मङ्गलवार सरकारका सम्बन्धित निकायमा पत्राचार गरी अहिलेकोे विषम परिस्थितिलाई मनन गरी मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेको जनाएको छ ।
कोभिड महामारीका कारण दैनिक उपभोग्यबाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारसमेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण बुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुँदा समय थप गर्न माग गरिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अर्थतन्त्र चलायमान बन्न नसक्दा यससँग प्रत्यक्ष जोडिएका साना ठुला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारलगायत आम सर्वसाधारणको दैनिक जीवनयापन अत्यन्त कठिन बन्दै जाने यथार्थतालाई समयमै मनन गरी सरकारबाट उचित नीतिसहितको सहयोग हुनसमेत महासङ्घले अपिल गरेको छ ।
नेपाल उद्योग परिसङ्घले प्रेस विज्ञप्ति जारी गर्दै कर विवरण पेस गर्नुपर्ने सम्बन्धमा कानुनमा उल्लेखित हालको व्यवस्थाको सट्टा कोभिडको प्रकोप सहज नहुन्जेल सहज रूपमा विवरण र कर दाखिला गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
कर विवरण पेस गर्नुपर्ने सम्बन्धमा हाल भएको व्यवस्था एक महिनाको कर अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले २५ दिनभित्र सम्बन्धित कर अधिकृतसमक्ष पेस गर्नुपर्ने व्यवस्थालाई सहज बनाई कोभिडको प्रकोप न्यून नहुन्जेलसम्मका लागि सहज रूपमा कर दाखिला गर्न र विवरण बुझाउन पाउनुपर्ने माग परिसङ्घले गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सले पनि प्रेस विज्ञप्ति जारी गरी अहिलेको विषम परिस्थितिमा उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका र व्यवसायी तथा कर्मचारी पनि कार्यालयमा जानसक्ने अवस्था नरहेको भन्दै कर दाखिला गर्नसक्ने अवस्था नरहेको जनाएको छ ।
यस्तै बुटवल समाचारदाताका अनुसार बुटवल उद्योग वाणिज्य सङ्घले पनि कोरोना भाइरसका कारण निषेधाज्ञा जारी गरिएको विषम परिस्थितमा मूल्य अभिवृद्धि कर र अन्तःशुल्क दाखिला गर्ने अवधि थप्न आग्रह गरेको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?