logo
२०८१ बैशाख ७ शुक्रवार



सहकारीमा तरलता अभाव हुन नदिइने

अर्थ |


सहकारीमा तरलता अभाव हुन नदिइने


लक्ष्मण दर्नाल

काठमाडौँ, वैशाख २१ गते । सहकारी विभागले सहकारी सङ्घसंस्थालाई तरलता अभाव हुन नदिइने जनाएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि भएको निषेधाज्ञामा सहकारीले प्रदान गर्ने सेवामा असहज परिस्थिति नआउने पनि विभागको दावी छ ।
विभागका रजिस्ट्रार लीलाप्रसाद शर्माले कोरोना महामारीले सबै क्षेत्रमा जस्तै सहकारीमा पनि प्रभाव पारेको भए पनि सहकारी संस्थाले दिने सेवाका विषयमा भने कुनै अवरोध भएको नभएको र सुरक्षित रहेर काम भइरहेको जनाउनुभयो ।
विभागले सहकारी क्षेत्रमा तरलता अभाव हुन नदिन सहकारीहरूलाई निर्देशन जारी गरिसकेको छ । सहकारीलाई सवारी पास नहुँदा समस्या भएको भन्ने गुनासो आएपछि पासको व्यवस्था गरिएको रजिस्ट्रार शर्माले बताउनुभयो । विभागले भक्तपुर, ललितपुर र काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई पासको व्यवस्थाका लागि पत्र पठाइसकेको र समस्या हल भएको उहाँले जानकारी दिनुभयो ।
साथै सहकारीहरूले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर, न्यून कर्मचारी परिचालन गरेर, कर्मचारीलाई समूह विभाजन गरेर सेवा सञ्चालनका लागि विभागले निर्देशन गरेको छ । सहकारीले भीडभाड नहुने तथा आवश्यक भौतिक दूरी कायम हुनेगरी मात्र सेवा प्रवाह गर्न निर्देशन जारी भएको छ ।
त्यस्तै बैठक, तालिमजस्ता कार्यक्रममा भौतिक दूरी सुनिश्चित गर्ने, सम्भव भएसम्म यस्ता कार्यक्रम अभौतिक माध्यमबाट गर्न निर्देशन जारी गरेको छ । नगद सङ्कलन गर्ने बजार प्रतिनिधिहरूको आवश्यकता अनुसार पीसीआर परीक्षण गराउन पनि विभागले निर्देशन दिएको छ । तरलता अभाव हुन नदिन सञ्चालक समितिले विशेष कार्ययोजना तयार गरी सोहीअनुसार कार्य गर्ने व्यवस्था मिलाउन पनि निर्देशन गरिएको शर्माको भनाइ छ ।
गत वर्षको बन्दाबन्दीमा जस्तो अहिले सहकारी संस्थाहरूमा समस्या आइनसकेको राष्ट्रिय सहकारी महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष मीनराज कँडेलले भन्नुभयो, “अहिले सहकारी संस्थाहरूमा तरलता अभाव, ऋण चुक्ताजस्ता समस्या आइसकेको छैन । सुरक्षा मापदण्ड पालना गरेर सहकारीहरूले आफ्ना सदस्यलाई सेवा प्रवाह गरिरहेका छन् तर निषेधाज्ञाको असर नपर्ने त कुरै भएन । ”

भक्तपुरमा बिहान मात्र सञ्चालन
निषेधाज्ञाको अवधिभर भक्तपुरमा बिहानको समयमा सहकारी सञ्चालन गर्न भनिएको छ । १०ः०० बजेसम्म मात्र सहकारी संस्थाहरू सञ्चालन गर्ने व्यवस्था गरिएको छ । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूले बिहान ७ः०० देखि १०ः०० बजेसम्म मात्र सेवा प्रवाह गर्न पाउने नगरपालिकाले जनाएको छ ।
जिल्लास्थित सहकारी संस्थासँग बैठक बसेर निर्णय गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो । उहाँका अनुसार सहकारीले तोकिएको समयमा अत्यावश्यक सेवामात्र प्रदान गर्न निर्देशन दिइएको छ ।
सहकारीमा मानिसहरूको बढी आउजाउ हुनुका साथै विभिन्न स्थानमा बजार प्रतिनिधिहरू जानुपर्ने भएकाले समस्या हुनसक्ने भन्दै निश्चित समय तोकिएको नगरपालिकाले जनाएको छ । कार्यालयमै बसेर हुने कामलाई मात्र प्राथमिकतामा राख्न निर्देशन गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?