logo
२०८१ बैशाख ११ मंगलवार



पेट्रोलियम पदार्थको सहज आपूर्ति

अर्थ |


पेट्रोलियम पदार्थको सहज आपूर्ति


लक्ष्मण दर्नाल

काठमाडौँ, वैशाख १८ गते । कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा भए पनि पेट्रोलिमय पदार्थको सहज आपूर्ति भइरहेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलियम पदार्थको खरिद तथा बिक्री वितरणमा कुनै समस्या नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । मागअनुसारको सप्लाईमा कुनै समस्या नभएको उहाँको भनाइ छ ।
निषेधाज्ञापछि पेट्रोलियम पदार्थको माग घटेको छ । प्रवक्ता उपाध्यायले भन्नुभयो, “यातायातका साधन र बजार ठप्प भएपछि पेट्रोलियम पदार्थको माग घट्नु स्वाभाविक हो तर कतिले घट्यो भन्ने कुरा हामी एक हप्तामा निकाल्छौँ । अहिले निषेधाज्ञामा हामीले हाम्रो सेवा स्थगित गरेका छैनौँ, पेट्रोलियम पदार्थको सहज आपूर्ति छ । ”
उहाँका अनुसार निगमले भारतबाट सहज आपूर्ति गरिरहेको छ भने नेपालको आन्तरिक बजारमा पनि सहज आपूर्ति गरिरहेको छ । स्वास्थ्य मापदण्ड अपनाएर डिपोहरू सञ्चालन गरिरहेको छ । कर्मचारीलाई वैकिल्पक रूपमा काममा लगाइएको छ । निगमका सबै कारोवार खुला रहेको उपाध्यायले जानकारी दिनुभयो । पेट्रोलपम्प पनि खुला राखिएको निगमले जनाएको छ ।
नेपाल एलपी ग्यास उद्योग सङ्घले पनि सहज रूपमा ग्यास आपूर्ति भइरहेको जनाएको छ । निषेधाज्ञा सुरु हुँदा ग्यासको माग बढे पनि अहिले सामान्य भइसकेको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “आपूर्ति सहज छ, माग पनि सामान्य छ । भण्डारण पनि पूर्ण छ त्यसैले उपभोक्ता आत्तिनुपर्ने अवस्था छैन, सप्लाई राम्रो छ । ”
काठमाडौँ उपत्यकाबाट लाखौँ परिवार बाहिरिएपछि ग्यास खपत कम हुने सङघको दाबी छ । ठूला होटल तथा रेस्टुरेन्ट पनि वन्द भएकाले ग्यासको अभाव नहुने जनाएको छ । सङ्घले कोरोनाका कारण आपूर्ति व्यवस्थामा असहज परिस्थिति आउन सक्ने भन्दै घरमा रहेका खाली सिलिन्डर भर्न अनुरोध गरेको थियो ।
भारतमा कोरोनाको दोस्रो लहर फैलिएकाले आपूर्तिमा असहज अवस्था आउँछ कि भन्ने आशङ्कक भने नमेटिएको सङ्घले जनाएको छ तर सम्भावित अभावलाई टार्न पूर्ण क्षमतामै भण्डारण गरिएको अध्यक्ष भण्डारीले
जनाकारी दिनुभयो ।
हाल नेपालभर दैनिक एक लाख सिलिन्डर ग्यासको माग रहेको छ । जसअनुसार दैनिक १४ सय मेट्रिक टन ग्यास बिक्री हुन्छ तर निषेधाज्ञामा सो माग घट्ने छ । उद्योगीहरूसँग हाल १५ हजार मेट्रिक टन एलपी ग्यास भण्डारण छ । बाटोमा रहेका बुलेट र सिलिन्डरको पनि हिसाव राख्दा करिब २० हजार मेट्रिक टन मौज्दात मान्न सकिन्छ । जुन नेपाललाई १५ दिनसम्म पुग्छ । १५ दिनभन्दा बढी पुग्नेगरी नेपालमा ग्यास भण्डारणको क्षमता छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?