धीरेन्द्रप्रसाद साह
राजविराज, वैशाख १६ गते । सप्तरीमा कोरोना सङ्क्रमित एक पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपास्थित कोभिड अस्पतालमा उपचारको क्रममा अग्निसाइर कृष्णासवर गाउँपालिका ५ का २४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
गत ९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मधुमेहका बिरामीसमेत रहेका उनको उपचारकै क्रममा विहान सवा १२ बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
करिब १५ दिन अघि बिरामी अवस्थामै भारतको दिल्लीबाट घर फर्किएका उनको उपचारको लागि राजविराज स्थित अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बिराटनगर अस्पताल रेफर गरिएकोमा उपचार पछि घर फर्किएको अग्निसाइर कृष्णासवर गाउँपालिका अध्यक्ष परशुराम चौधरीले बताउनुभयो ।
उपचारबाट घर फर्किएका उनलाई फेरि स्वास्थ्य अवस्था बिग्रिदै गएपछि थप उपचारको लागि धरान भर्ना गरिएकोमा उपचारकै क्रममा बिहीबार उनको मृत्यु भएको उहाँले बताउनुभयो ।
यता मृतकको शव अन्तिम संस्कारको लागि ल्याइसकिएको सो वार्डका अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिनुभयो । कोरोना भाइरसको दोस्रो लहरपछि सप्तरीमा कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु भएको छ भने यसअघि ४१ जनाको मृत्यु भइसकेको छ ।