logo
२०८१ बैशाख १४ शुक्रवार



कृषि र उद्योगमा दक्ष जनशक्ति व्यवस्था :उद्योगको काम छोडेर तालिममा

अर्थ |


कृषि र उद्योगमा दक्ष जनशक्ति व्यवस्था :उद्योगको काम छोडेर तालिममा


नवराज कट्टेल

विराटनगर, वैशाख ९ गते । औद्योगिक प्रतिष्ठान र मजदुरबीचको सम्बन्ध श्रम र पारिश्रमिकले सुमधुर बनाउन थालेपछि कामदारलाई सीपयुक्त बनाउन उद्योगीले चासो बढाउन थालेका छन् । उद्योगको आवश्यकता अनुसारको जनशक्ति उत्पादनमा प्रतिष्ठानहरूले संस्थागत चासो राख्न थालेपछि सीपमूलक दक्ष कामदार आपूर्ति सहज बन्दै गएको हो ।
सुनसरी–मोरङ औद्योगिक करिडोरका प्रतिष्ठानले लामो समय काम गर्दै आएका र नवप्रवेशी कामदारलाई आवश्यकता अनुसारको सीपमा जोड्न थालेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत समृद्धि आयोजनाले प्रदेश १ का सातवटासहित देशभरका १६ जिल्लामा दक्ष कामदार उत्पादनका लागि कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ सँगको साझेदारीमा मन्त्रालयअन्तर्गत समृद्धि परियोजना कार्यालय इटहरीले अर्धदक्ष कामदारलाई दक्ष बनाउन औद्योगिक प्रशिक्षक प्रशिक्षण तालिम दिँदै आएको छ । एक महिनासम्म सम्बन्धित विषयमा केन्द्रित सैद्धान्तिक तालिम दिइसकेका मजदुरलाई पाँच महिनासम्म सम्बन्धित उद्योगमा व्यावहारिक अभ्यास गराइँदै आएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का सम्पर्क व्यक्ति गणेश दाहालका अनुसार समृद्धि परियोजनाको सहयोगमा महासङ्घले एक हजार ४० जनालाई तालिम दिने लक्ष्य राखेको थियो तर कार्यक्रम कार्यान्वयन गर्ने समयमा कोरोना सङ्क्रमण र बन्दाबन्दी भएका कारण चालू वर्ष तीन सय जनालाई मात्रै तालिम दिइने भएको छ । तालिमका लागि प्राविधिक सहयोग भने हेल्बेटासले गरेको छ ।
प्रदेश १ को मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, खोटाङ र उदयपुरसहित प्रदेश २ का सात जिल्ला तथा बागमती प्रदेशको सिन्धुलीमा औद्योगिक प्रशिक्षक प्रशिक्षण तालिम भइरहेको समृद्धि परियोजना इटहरीका प्रमुख प्रबन्धक शालिग्राम दाहालले जानकारी दिनुभयो । इटहरीमा कार्यलय नै स्थापना गरेर परियोजनाले यी जिल्लामा तालिम सञ्चालन गर्ने भएको हो । प्रदेश १ का सात जिल्लामा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ ले तालिमको आयोजना गर्न सम्झौता गरेको उहाँले जानकारी दिनुभयो ।
गार्मेन्ट, जुट, फुटवेयर, निर्माण र प्लास्टिकजन्य उद्योगमा कार्यरत र नवप्रवेशी कामदारलाई अहिले तालिममा सहभागी गराइँदै आएको छ । तालिममा सहभागी हुन तोकिएका जिल्लाबाहेकका लागि सर्तहरू लागू गरिएको छ । तालिममा सहभागीले एक महिनाको सैद्धान्तिक, पाँच महिनाको व्यावहारिक अभ्यासपछि बाँकी छ महिनासम्म उद्योगमा कार्यरत रहिसकेपछि सीप परीक्षण परीक्षामा सहभागी गराइनेछ । सीटीईभीटीबाट लिइने यस्तो परीक्षामा सहभागीलाई कामको सीप हेरेर प्रमाणपत्र दिइनेछ ।
तालिममा सहभागीका लागि मापदण्डसमेत तोकिएको छ । दलित, महिला, सीमान्तकृत तथा कम पढेलेखेका नागरिकलाई प्राथमिकतामा राखेर छनोट गरिनुपर्ने मापदण्ड छ । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश कार्यालयका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार तालिममा सहभागी गराउन उद्योगमा कार्यरत मजदुरलाई समेत औद्योगिक प्रतिष्ठानले पठाउने गरेका छन् ।
“उद्योगमा नवप्रवेशी अवस्थामा रहेका र लामो समय काम गरे पनि दक्ष भइनसकेका मजदुरलाई प्रतिष्ठानले सहभागी गराउँदै आएका छन्,” निर्देशक भण्डारीले भन्नुभयो, “औद्योगिक प्रतिष्ठान र मजदुरबीचको सम्बन्ध सुमधुर बन्दै जाँदा दक्ष कामदार उत्पादनमा सबैको चासो बढ्न थालेको देखिन्छध्र” काम गरिरहेका मजदुरलाई एक महिनासम्म बिदा दिएर भए पनि प्रतिष्ठानहरूले तालिममा पठाउन थालेको उहाँले बताउनुभयो ।
समृद्धि परियोजनाले औद्योगिक प्रशिक्षक प्रशिक्षण तालिमजस्तै १० हजार घरधुरीलाई तरकारी आपूर्ति शृङ्खलामा जोड्ने योजनासमेत कार्यान्वयनमा ल्याएको प्रबन्धक दाहालले जानकारी दिनुभयो ।
खासगरी ग्रामीण क्षेत्रका तरकारी खेतीमा संलग्न किसान लक्षित गरेर तरकारी आपूर्ति शृङ्खला विकास र सामूहिक खेती प्रणालीको विषयमा तालिम आयोजना गरिँदै आएको उहाँले बताउनुभयो । जसमध्ये पाँच हजार तालिमबाट लाभग्राही बनिसकेको उहाँले बताउनुभयो । पहिलो र दोस्रो चरणको कार्यक्रम सम्पन्न भएपछि तेस्रो चरणमा १५ हजार घरधुरीलाई यो तालिममा सहभागी गराउने बताइएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?