logo
२०८० चैत्र १६ शुक्रवार



मेलम्चीको पानी ३२० स्थानबाट चुहावट

मुख्य समाचार |


मेलम्चीको पानी ३२० स्थानबाट चुहावट


लक्ष्मण दर्नाल

काठमाडौँ, वैशाख ७ गते । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ । पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ ।
यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने बहाव बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । जहाँ चुहावट भएको छ, त्यहाँ मर्मत गरिएको केयूकेएलले जनाएको छ । केयूकेएलका प्रमुुख कार्यकारी अधिकृत मिलन शाक्यले ३२० स्थानमध्ये दुई सय स्थानमा मर्मत भइसकेको जानकारी दिनुुभयो ।
उहाँले भन्नुभयो, “पुरानो पाइपबाट चुहावट भइरहेको छ । मर्मत गरिरहेका छौँ । सडक विभागसँग स्वीकृति लिएका छौँ । अब थप स्थानमा मर्मत गर्नेछौँ । ” मेलम्चीको पानी उपत्यकामा सातवटा पोखरीबाट वितरण गरिएको छ । महाँकालचौर, अनामनगर, मीनभवन, खुमलटार, महाराजगञ्ज, बालाजु र बाँसबारीको पोखरीबाट वितरण भइरहेको छ । यी पोखरीबाट पुरानो पाइपलाइनमा पानी वितरण भएको छ ।
मेलम्चीको पानी सुन्दरीजलमा दैनिक १७ करोड लिटर आइरहेको छ । पाइपलाइनमा एकैचोटि पानी वितरण नगरी परीक्षणका लागि बिस्तारै पठाइएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले पुरानो पाइपलाइन भएकाले बिस्तारै पठाइएको जानकारी दिनुुभयो । मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गरी वितरण सञ्जालमा पठाइन्छ ।
मेलम्चीको पानी तत्कालका लागि पुरानो पाइपलाइनबाट वितरण भएको छ । नयाँ पाइपलाइनको परीक्षण भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?